गाउँपालिका अध्यक्ष र एसपीको मिलेमतोमा लागुऔषध धन्दा, आफु उम्कन निर्दाेष फसाउने षड्यन्त्र

पश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको पुष्टि भएको छ । प्रहरीलाई सूचना दिने व्यक्ति पक्राउ परेपछि घटना सुनियोजित भएको प्रस्ट भएको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको खुलेको छ ।

लागुऔषध कारोबार भइरहेको छ भने सूचना दिने रघुनाथ धोबी पक्राउ परेपछि गुप्ता र पासवान निर्दोष रहेको पुष्टि भएको हो । धोबीले आफ्नो दुस्मनीका कारण उनीहरूलाई नियोजित रूपमा पक्राउ गर्न लगाइएको बयान दिएका छन् । उनको बयानपछि पनि दुई निर्दोष व्यक्ति ४५ दिनदेखि प्रहरी हिरासतमा छन् ।

छानबिनका क्रममा निर्दोष देखिएपछि उनीहरूलाई छाड्न प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा सिफारिस गरेको छ । प्रहरीले गल्ती गरिसकेको भन्दै सरकारी वकिलले छाड्न नमानेको स्रोत बताउँछ । पक्राउ परेका व्यक्तिकै मोटरसाइकलबाट लागुऔषध बरामद गरेको बरामदी मुचुल्का प्रहरीले बनाएको थियो । जब कि भुइँमा लागुऔषध बरामद भएको थियो । सोही कारण अहिले समस्या भएको हो ।

कुनै पनि अपराधमा बरामदी मुचुल्का सबैभन्दा बलियो प्रमाण हुन्छ । अनुसन्धान अधिकृत रहेका इन्स्पेक्टर धर्म खत्रीले पक्राउ गर्न गएका प्रहरीको विश्वासमा परेर मोटरसाइकलमै बरामद भएको भनेर हस्ताक्षर गरेका थिए । सो मुचुल्का सच्याउन उनलाई उच्च प्रहरी अधिकारीले दबाब दिएका छन् । तर, उनले मुचुल्का सच्याउन मानेका छैनन् । जसकारण अहिले प्रहरी समस्यामा परेको छ ।

घटनामा पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलसँगै अनुसन्धान अधिकृतलगायत अन्य प्रहरीसमेत छानबिनमा तानिएका छन् । पक्राउ परेका व्यक्ति निर्दोष रहेको प्रस्ट भए पनि घटना मिलाउन लुम्बिनी प्रदेशका डिआइजी नलप्रसाद उपाध्याय, संघीय प्रहरी इकाइका एसएसपी सिद्धिविक्रम शाह बिहीबार आफैँ नवलपरासी पुगेर सरकारी वकिल कार्यालय तथा प्रहरी अधिकारीसँग छलफल गरेको स्रोत बताउँछ । यो घटनाको यसअघि नै प्रहरी प्रधान कार्यालयले स्थलगत रूपमा छानबिन गरिसकेको छ । जसमा सुनियोजित रूपमा दुई भारतीयलाई पक्राउ गरिएको प्रतिवेदन दिएको थियो । सुरुमा मुद्दाको किनारा लगाएर मात्र प्रहरीमाथि कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

डेढ करोड पचाउन लागुऔषध मुद्दा

लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका रामा गुप्ताले नेपालमै कवाडी सामानको व्यापार गर्दै आएका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँग उनको विगतमा व्यावसायिक साझेदारी थियो । प्रहरीका अनुसार दुवैले मिलेर एउटा ठूलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो, जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, बैजुप्रसादले राजनीतिक पावरका आधारमा त्यो पैसा दिएनन् । त्यही विवादमा रामाले उनीसँग व्यावसायिक साझेदारी तोडे । आफूसँग काम गर्न छाडेको र डेढ करोड रुपैयाँ पनि नदिई जेल हाल्न उनी रामालाई लागुऔषध मुद्दामा फसाउने योजना बनाउँछन् । त्यसका लागि उनले आफ्नै सहयोगी रघुनाथ धोबीलाई लगाउँछन् ।

धोबीले कवाडीको सामान लिन भन्दै रामालाई पटक–पटक फोन गर्छन् । सुरुमा उनले अनिच्छा देखाउँछन् । धेरै कर करेपछि उनी २२ असारमा सामान हेर्न साथीसहित जान्छन् । रामग्रामको पिपरहियामा उनलाई बोलाइएको हुन्छ । त्यहाँ भेट भएपछि धोबीले अर्का व्यक्ति विवेक पाण्डेलाई ‘सामान’ लिएर आउन भन्छन् । पाण्डे आधा घन्टासम्म पनि ‘सामान’ लिएर नआएपछि रामा फर्कन खोज्छन् । फर्किन लागेका उनलाई त्यहाँ अनेक बहानामा रोकेर राखिन्छ । पाण्डे केही समयपछि ‘सामान’ लिएर आउँछन्, तर त्यो कवाडीको सामान थिएन, उनी लागुऔषध लिएर आउँछन् । रामा र उनको साथीको छेउमा लागुऔषध राख्छन् र नजिकै लुकेर बसेका प्रहरीलाई बोलाएर पक्राउ गरिन्छ । प्रहरीलाई दुई हप्ताअघि नै यो योजनाको जानकारी दिइएको हुन्छ । एसपी ऋषिराम कँडेलले योजनाबद्ध रूपमा आफ्ना घुमुवा प्रहरीलाई यो काममा खटाएका हुन्छन् ।

पछि घटना बनावटी भएको भन्दै विभिन्न निकायमा उजुरी परेपछि छानबिन सुरु हुन्छ । गाउँपालिका अध्यक्षसमेत मुछिने भएपछि धोबी र अर्का युवक पाण्डेलाई फरार बनाइन्छ । एक महिनापछि धोबीलाई भारतबाट पक्राउ गरी प्रहरीले ल्याएको हो । उनले सबै घटना आफ्नै योजनामा भएको भनेर बताएका छन् । पूर्वप्रहरी रहेका धोबी गाउँपालिका अध्यक्ष गुप्ताका कामदार हुन् ।

प्रहरी प्रधान कार्यालयले गरेको छानबिनमा एसपी र गाउँपालिका अध्यक्षको निकटस्थ सम्बन्ध देखिएको छ । सोही कारण गाउँपालिका अध्यक्षले एसपीलाई प्रयोग गरी उनलाई योजनाबद्ध रूपमा पक्राउ गराएको छानबिनमा संलग्न प्रहरी अधिकारी बताउँछन् । घटनाको दिन एसपी, गाउँपालिका अध्यक्ष तथा धोबीबीच पटकपटक फोन सम्पर्क भएको थियो । तर, योजनाबद्ध रूपमा धोबीलाई पक्राउ गर्न लगाई सबै दोष उनलाई मात्र दिई गाउँपालिका अध्यक्ष गुप्तालाई जोगाउने खेल भएको छ । यसमा उच्च प्रहरी अधिकारी नै लागिपरेको स्रोत बताउँछ । ‘यसो गर्दा एसपीसाब पनि जोगिने भएकाले सुनियोजित रूपमै धोबीलाई पक्राउ गरिएको हो,’ जिप्रका नवलपरासीका एक प्रहरीले भने, ‘हाकिमको आदेश मान्ने हामी तल्लो तहका प्रहरीलाई मात्र कारबाही हुन लागेको सुनिन्छ ।’ लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी उपाध्याय यो घटनाको अझै अनुसन्धान जारी रहेको बताउँछन् । ‘अनुसन्धान अझै चलिरहेकै छ, यति भन्न चाहन्छु– निर्दोष व्यक्ति फस्दैनन्, गल्ती गर्ने जोसुकै हुन्, उनीहरू जोगिँदैनन् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation