७५ हजार घुस लिइएको अभियाेगमा एक इन्जिनियर पक्राउ

तनहुँ – ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट आज एक इञ्जिनीयर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भइ शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्याङ्जाकाे एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई दमौलीकाे एक होटलबाट नियन्त्रणमा लिएको हो । ‘उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ’, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भन्नुभयो, ‘पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।’

विद्यालयको भवन पुनःनिर्माणका क्रममा अन्तिम निकाशाका लागि काम गरिदिनका लागि उनले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने सर्तसहित बोलाइएको थियो ।

उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए । इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation