विज्ञापन अंग्रेजी् शब्द Advertising को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर Advortor बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ । विज्ञापनले बहुआयामिक र बहुपक्षीय सूचनाको सम्प्रेषण गर्दछ । आजसम्म विज्ञापनको प्रथम सुत्रपात भारतबाट भएको थियो भन्ने मानिएको छ । आज भन्दा करिब १५ सय वर्ष अगाडि भारतको बुनकर व्यापारी संघले मध्यप्रदेशको एउटा सूर्य मन्दिरको पर्खालमा लेखेर आफ्नो प्रचार गरको थियो । यो गुप्तकालीन भारतको कूरा हो । त्यतिबेलाको विज्ञापनको स्वरुप आजको जस्तो ग्लैमर्श थिएन । युरोपमा भएको वौद्धिक क्रान्ति, औद्योगीक क्रान्ति,राजनीतिक क्रान्ति र व्यापार प्रवर्धन तथा आधुनिकताले विज्ञापनलाई अपरिहार्य बनाउँदै अगाडि बढायो । जसको परिणाम विज्ञापन सञ्चार र सूचना क्षेत्रको अभिन्न अङ्ग बन्दै आयो ।
आज औद्योगिक निगमरुले उत्पादित वस्तुहरुको गुणस्तरमा भन्दा प्रचारमा बढी खर्च गर्दछन् । उत्पादित सामानमा विज्ञापन खर्च समेत जोडिन पुग्दा विज्ञापनको ग्लैमर्शले उपभोक्तालाई चर्काे महङ्गीको चक्रमा फसाउँछ । आजको यो बजार तानाशाहको युगमा विज्ञापनले मानवीय मनोविज्ञानलाई मालप्रतिको अन्धभक्तिको दास बनाएको छ । समग्रमा निगम पूँजीवादले विज्ञापनलाई उदार बुर्जुवा जनतन्त्रको सेवा गरेको देखिन्छ । पूँजीवादी आर्थिक , सामाजिक प्रणाली अन्तरगत उत्पादित सामानहरुलाई विज्ञापनले पूँजीवादी प्रतियोगीतालाई लगातार मल हाल्ने काम गर्दे आएको छ । त्यसर्थ विज्ञापन पूँजीवादी उत्पादनको मार्केटिङ उपक्रमका रुपमा अगाडि आएको देखिन्छ । पूँजीवादी व्यवस्था भित्रको विज्ञापन समग्र पूँजीवादको विज्ञापन हो । आज उत्पादित सामानहरुको प्रचारको केन्द्रका रुपमा शहरका पर्खाल र घरका भित्ताहरु देखि लिएर सिङ्गो सञ्चार जगत उभिएको छ । पूँजीवादी अर्थतन्त्रका आधारमा कूरा गर्ने हो भने निगम पूँजीवादको विज्ञापन उद्योगहरुमा खरवौँ डलर खर्च भएको देखिन्छ । भनिन्छ यो खर्च मात्र जोगिने हो भने विश्वका भोकै सुत्न विवश जनता गरिबीबाट उच्च मध्यम वर्गमा उठ्दछन् ।
पूँजीवादी बजार तानाशाही व्यवस्था, पूँजीवादी संस्कृति र कला, पूँजीवादी साहित्य र जीवनशैली , पूँजीवादी राजनीति , पूँजीवादी प्रेम, पूँजीवादी आचार विचारलाई जोगाउन विज्ञापन एजेन्सीहरुले निकै ठूलो योग पु¥याउँदै आएका छन् । आजको निगम पूँजीवादले विज्ञापनलाई आफ्नो वर्चश्वकारी सांस्कृतिक उत्पादनका रुपमा उपभोग गर्दै आएको छ । उन्नाइसौँ सताब्दीमा अन्तराष्ट्रिय राजनीतिक अर्थव्यवस्थामा औद्योगिक पूँजीवाद अस्तित्वमा आयो । त्यसपश्चात बजार व्यवस्था बजार प्रवर्धन र उपभोक्ताको खोजीमा निगम औद्योगिक पूँजीवादका ‘थिङ्क ट्यांक’ हरुले संस्थागत रुपमा विज्ञापन उद्योगको स्थापना गराएका हुन् ।
२० औँ शताब्दीको सुरुवातसँगै विज्ञापन औद्योगिक पूँजीवादको महत्वपूर्ण उद्योगका रुपमा अगाडि आयो । २० औँ सताब्दीको सुरुमा उत्पादित सामानको गुणको चर्चा गर्ने विज्ञापनका संस्थाहरु १९२० पश्चात अतिरञ्जनापूर्ण प्रचारमा केन्द्रीत भएर उपभोक्तको आकांक्षामा र उपभोक्तावादी रहरको मनोविज्ञानमा खेल्न थालेको देखिन्छ । आजको सूचना साम्राज्यको युगमा सञ्चारका सम्पूर्ण उपकरणहरु निगम पूँजीवादको उत्पादित सामानको प्रचार केन्द्रमा परिणत भएका छन् । अबको यो युगमा विज्ञापन बिना मिडियाको परिकल्पना नै गर्न सकिदैन । विज्ञापनमा किसान मजदुरलाई समाजको पालक र चालकको अजय शक्तिका रुपमा प्रचार गरिदैँन । विज्ञापनमा उच्च र मध्यम वर्गीय चालढालको प्रस्तुती हुन्छ । त्यसका अतिरित्त स्त्री जातिलाई अर्धनग्न बनाएर प्रशाधनको साधनका रुपमा निगम पूँजीवादले भरपुर उपयोग गर्दै आएको छ । आजको भू–मण्डलीय बजारवादले आम सञ्चारलाई विज्ञापन मार्फत मोटो रकम प्रदान गरेर व्यक्तिको मूल्यबोध र सौन्दर्यबोध पनि विज्ञापनका पाना तथा पर्दाहरुमा पनि खोज्न पर्ने बनाएको छ ।
विज्ञापनका सबै प्रचारहरु अनावश्यक छन् भन्ने होइन । यातायत, शिक्षा, स्वास्थ्य, खानेपानी , महामारी ,एड्स रोकथाम, पोलियो उन्मुलन, हात्तीपाइले रोगका औषधि, कृषि उत्पादन, नियम कानुन रितीथीति सांस्कृतिक पर्व, राष्ट्रियता आदिका विषयमा भएका र हुने गरेका विज्ञापनहरुको सकारात्मक सामाजिक महत्व अवश्य छ । तर यी सबै सुकर्म र सुसमाचारका विज्ञापनहरुमा पनि आम जनतालाई सुसूचित र सूशिक्षित बनाउने लक्ष्यभन्दा बजारवादको लक्ष्य अगाडि आउने गरेको देखिन्छ । यसले सामाजिक अर्थ व्यवस्थालाई ठीक ढङ्गले सन्तुलन गर्न र व्यवस्थापन गर्न सकेको हुदैन । सूचना र सञ्चारको क्षेत्रमा भएको क्रान्तिले सञ्चारका राष्ट्रिय सीमाहरु भत्केका छन् । पूँजीवादको विकास बहुराष्ट्रिय निगमका रुपमा विकसित भएको परिदृष्यमा राष्ट्रिय उद्योगपतिका सीमाहरु पनि भत्कदै गएका छन् । विश्वव्यपीकरणले सम्पूर्ण विश्वलाई सूचना र सञ्चारको धरातलबाट सागुँरो बनाएको छ ।
अमेरिकाको एउटा न्युयोर्क शहरले सदुपयोग गर्ने सूचना र सञ्चारको ग्राफलाई सिङ्गो अफ्रिका महादेशले पक्रन सक्दैन । पूँजीवादी भू–मण्डलीकरणले पैदा गराएका असमानताका समस्याहरु आफ्नो ठाँउमा छदैछन् । भू–मण्डलीकरणको दौडमा विश्वका पूँजीवादी मुलुकहरुले सुचना सञ्चार र विज्ञापनलाई आफ्नो हातमा लिएका छन् । तिनीहरुले अविकसित मुलुकका पूँजीपतिहरुलाई समेत सियर धनी बनाएर बहुराष्ट्रिय कम्पनीका मालिक बनाएका छन् र आफ्नो पूँजीवादी विश्वको वर्चश्वमा सामेल गराएका छन् । यसरी पूँजीवादी मुलुकहरुले विकासशील देशहरुको बजारमा आफ्नो आर्थिक तानाशाही कायम गरेका छन् । आजको युगमा बिना विज्ञापन वौद्धिकहरुको मूल्याङ्कन र नाप समेत हुदैन । कम क्षमता भएका वौद्धिकहरु पनि विज्ञापनका कारण चर्चामा हुन्छन् । सूचना , सञ्चार तथा विज्ञापनमा पहुँच नभएको वा यसरी जान नसक्ने वौद्धिकहरु समेत चर्चा बाहिर देखिन्छन् ।
आज रेडियो, टिभी, अखवार, मैगजिन, वेभसाइड लगायत सम्पूर्ण सञ्चारका साधनहरुमा पठनीय सामाग्रीहरु भन्दा धेरै विज्ञापनहरु नै हुन्छन् । आजको भू–मण्डलीकरणको युगमा विभिन्न सञ्चार मध्यमहरुमा प्रकाशित विज्ञापनले पूँजीवादी उपभोक्तावादी चिन्तन प्रणालीको विकास गराएको छ । मानवीय जीवनमा नैसर्गिक आवश्यकताको कोटीमा नपर्ने सामानको माग बढाउने उपभोक्तावादी मनोविज्ञान तयार पार्ने काम विज्ञापनहरुले गरेका छन् । विज्ञापनले गैरजरुरी सामानलाई जरुरी बनाएर खडा गराइदिँदा उपभोक्तावादी सांस्कृतिक चिन्तनधारा समाजमा गहिरोगरी बसेको देखिन्छ ।
विज्ञापनले उपभोक्ताको निर्णय प्रक्रियालाई नै बदल्ने गरेका छन् । मिडिया सञ्चालकहरुले आफ्नो प्रशारणमा विज्ञापनको प्रमुखतालाई व्यवसायिकताको कोणबाट मात्र हेरेको पाइन्छ तर वास्तविक रुपमा निगम पूँजीवादका विज्ञापन सामाग्रीहरुले उपभोक्तावादी सामाजिक वर्चश्वको रणनीतिलाई टेवा पु¥याइरहेका हुन्छन् । आधुनीक पूँजीवादले हरेक पाइलामा बजारशास्त्रलाई केन्द्र बनाएर सोच्दछ । त्यसमा विज्ञापन एउटा ठूलो शक्तिशाली हतियार हो । बहुराष्ट्रिय निगमका मालिकहरु त्यतिबेला मात्र मुस्कुराउँछन्, जतिबेला सपिङ महलहरुमा उपभोक्ताहरुको लर्काे लाग्दछ । आधुनिक पूँजीवादले विज्ञापनको वैचारिकी मार्फत मजदुरहरुको समेत ब्रेनवास गराइदिएका छन् । यसरी एउटा मजदुर पनि सकेसम्म गतिलै उपभोक्ता बन्ने रहरतिर भड्किरहेको हुन्छ । अमेरिकाको पूँजीवादका एकजना प्रवर्तक क्रिस्टिन फ्रेडरिखले सन् १९२९ मा उपभोक्तावादलाई अमेरिकाले नै संसारमा निर्यात गरेको कुरा बताएका थिए । उपभोक्तावादलाई उनले अमेरिकाका लागि महानतम विचार भनेर प्रशंसा समेत गरेका छन् । यसरी उपभोक्तावाद आधुनिक पूँजीवादको मनोवैज्ञानिक रक्षाकवचका रुपमा स्थापित भएको देखिन्छ ।
बहुराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका सामानहरुको विज्ञापनमा सत्यता कम तर फेन्टासी कुराहरु धेरै हुन्छन् । उदाहरणका निमित्त एउटा कोक घुट्को लगाएर हिमाल चढेको र एउटा स्प्राइट पिएर भीरमा मोटर साइकल चलाएको आदि दृष्य देखाइन्छ । विज्ञापनमा आउने यस्ता दृष्यहरुले अबोध बाल मस्तिष्कमा राम्रो छाप पार्दैनन् र निकै तल्लो तहमा रहेको अशिक्षित जनमानसमा भ्रमको अवस्था पैदा गराउँछन भन्ने निष्कर्ष अनुसन्धानकर्ताहरुको रहेको छ । त्यसैगर िमहिलाहरुलाई वस्तुकरण, मालकरण गरेर सामानको विज्ञापन गरिन्छ । साबुन र टुथपेस्टमा मात्र होइन पुरुषले लगाउने भित्री कपडाहरुको प्रचार समेत एउटा अर्धनग्न महिलाबाट गराएर पूँजीवादी विज्ञापनले महिला जातिलाई एउटा विलासी साधन वा पदार्थका रुपमा उभ्याउने गर्दछ । यस्ता विज्ञापनहरुले समाजमा ठीक सन्देश प्रवाह गरिरहेका हुदैनन् ।
नवउदारवाद, नीजिकरण र उदारकिरणले विश्वकै सञ्चार जगतलाई निगमीकरण गरेको छ । नीजि सञ्चार क्षेत्रका विग हाउसहरु धनीको दिमागको बजारशास्त्र अनुरुप चल्दछन् । सम्पादकको दृष्टिकोणबाट चल्दैनन् । यो विश्वव्यापी समस्या हो । निगम सञ्चार प्रणालीले सम्पादकीय स्वतन्त्रता माथि प्रश्न चिन्ह लगाइदिएको छ । पत्रकारिताको लक्ष्य समाचार जम्मा गर्नु, प्रकाशित गर्नु मात्र होइन सामाजिक रुपान्तरणका निमित्त एउटा दृष्टिकोण सार्वजनिक गर्नु पनि हो । आम सञ्चारको काम जनशिक्षण र समाजमा सकारात्मक परिवर्तनका निमित्त जनतामा जागृति ल्याउनु पनि हो । अन्यायको विरोध, सत्यको उद्घाटन र पक्षपोषण गर्नु एउटा सञ्चारकर्मीको सामाजिक जीवनको दायित्व हो । वास्तविक रुपमा आम सञ्चारको क्षेत्रलाई आवाजविहिनहरुको आवाज बनाउन सम्पादकीय स्वतन्त्रता प्राथमिकतामा पर्दछ ।
आम सञ्चारलाई व्यवसायिकताका नाममा बजारशास्त्रमा आधारित बनाउने नवउदारवादी कार्यप्रणालीले विश्वव्यापी रुपमा नै आम सञ्चारमा महजनवाद प्रवाहित हुँदै गएको छ । मिशन पत्रकारिता अत्यन्त कष्टप्रद भएको कारणले भटाभट बन्दको अवस्थामा पुगेका छन् । यो हाम्रो देशको मात्र समस्या होइन । भारतमै पनि भारत सन् १९४७ मा आजाद हुनुभन्दा पहिलेका मिसन बोकेका र भारतको स्वतन्त्रता संग्राममा महत्वपूर्ण योगदान पु¥याएका अखवारहरु अधिकांश त बन्द नै भइसकेका छन् । साना पत्रिकाहरु नेपालमा जस्तै त्यहाँ पनि निकै संकटबाट गुज्रनु परेको अवस्था छ । त्यसैले भारतमा केही वर्ष अगाडि ‘स्माल मिडिया सोसाइटी’ नामक एउटा संगठन स्थापना भएको थियो । साना मिडियाहरुले विज्ञापन नपाउँदा ती साना अखबारहरु बन्दको अवस्थामा छन् तर विचार प्रधान छन् , पठनीय छन् तर निकै ठूलो संकटबाट गुज्रेको देखिन्छ ।
नेपालमा पनि हामीले साप्ताहिक सञ्जाल गठन गरेका थियौँ । मिसन बोकेका कतिपय साप्ताहिक पत्रिका बन्द भइसकेका छन् भने कतिपय निकै मुस्किलले टिकेका छन् । पञ्चायती तानाशाही व्यवस्थाका विरुद्धको संघर्ष, प्रजातन्त्रको स्थापनाका लागि भएको संघर्ष र लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको संघर्षमा नेपालका साप्ताहिक पत्रिकाहरुको अतुलनीय योगदान छ । आज पनि साप्ताहिक पत्रिकाहरुले एउटा विचार र दृष्टिकोण सम्प्रेषण गरिरहेका छन् । तर आज तिनीहरुको अवस्था दयनीय हुनु दुःखदायी कुरा हो । आज निगम सञ्चारको तप्केनीका कारण पनि मिशन पत्रकारिता अप्ठ्यारोमा परेको हो । नवउदारवादले मिसनको सञ्चार बोकेको दुनियाँ होइन । विज्ञापन र उपभोक्तावाद बोकेको दुनियाँ निर्माण गर्ने र जसरी पनि पूँजीवादलाई बलियो बनाउने बजारशास्त्रीय रणनीति बोकेको छ । सञ्चार क्षेत्र पनि स्वदेशी तथा विदेशी सम्पन्न लगानीकर्ताको हातमा परे पछि यस्तो अवस्था सिर्जना भएको हो । यति भइकन पनि केही् सन्तोषको कुरा यो छ कि नेपालको कर्पाेरेट हाउसबाट चल्ने मिडियाहरुको मुलधारा परिवर्तन र लोकतन्त्रको पक्षमा उभिदै आएको देखिन्छ ।