Pranmancha

Advertisment

SKIP THIS

९१ वर्षीय सोभिएत रुसका संसोधनवादी नेता मिखाइल गोर्वाचेवको निधन

पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि बिरामी रहनुभएका मिखाइल गोर्भाचेभको मंगलबार राति निधन भएको छ ।’

सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचेभ । फाइल तस्बिर : रोयटर्स

गोर्भाचेभ तत्कालीन सोभियत युनियनका अन्तिम राष्ट्रपति हुन् । जसले अमेरिकासँगको शीतयुद्ध अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निभाएकासमेत थिए । तर उनले सोभियत युनियन ढल्नबाट बचाउन भने सकेनन् ।

सन् १९८५ मा तत्कालीन सोभियत सत्ता सम्हालेका गोर्भाचेभले सुधारका प्रयास गरेका थिए । उनी सन् १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिस्ट पार्टीका महासचिव थिए । सोभियत युनियनको पतनसँगै नै आधुनिक रुसको उदय भएको मानिन्छ ।

स्टालिनको शासनकालमा हुर्कंदै गरेका गोर्भाचेभले दोस्रो विश्वयुद्धको असरसमेत प्रत्यक्ष देखे । युद्धपछि मस्कोमा कानुनको पढाइ गरेका उनले कम्युनिस्ट पार्टीमा आफ्नो भविष्य खोजे । साम्यवादमा सुधारको आवश्यक रहेको बताउने गोर्भाचेभ खुलापन र परिवर्तनको पक्षपातीसमेत रहेको बताइन्छ । केही कम्युनिस्ट नेताले पश्चिमसँगको घनिष्ठ सम्बन्धकै कारण उनलाई अमेरिकाको एजेन्टसम्म भन्ने गर्थे ।

सन् २००४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मिखाइल गोर्भाचेभ । फाइल तस्बिर : रोयटर्स

उनले नै ‘ग्लासनोस्टको नीति’ र भाषणमा स्वतन्त्रताको नीति अपनाएका थिए । गोर्भाचेभले नै सरकारलाई खुला रूपमा सल्लाह दिन पाइने सूचनाको व्यापक प्रसार गर्ने नीति लिएका थिए । उनले पेरेस्त्रोइका अर्थात पुनर्संरचनाको नीति अपनाउँदै आर्थिक सुधारको कार्यक्रम सुरु गरेका थिए । उनकै कार्यकालमा प्रेस र कला समुदायलाई सांस्कृतिक स्वतन्त्रतासमेत दिइएको थियो।

उनलाई सन् १९९० मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । पूर्व र पश्चिमबीच सम्बन्ध चिसिइरहेका बेला नाटकीय रूपमा सम्बन्ध सुधार भएको बताउँदै उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । टकरावबाट भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधानको बाटो रोजेकै कारण उनलाई सुधारवादी नेताका रूपमा समेत लिइन्छ । शान्ति प्रक्रिया, खुलापन, अन्तर्राष्ट्रिय विश्वासलाई सुदृढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको नोबेल समितिको भनाइ थियो।

असफल ‘कु’पछि रुसी राष्ट्रपति बोरिस यल्त्सिनसँग सन् १९९१ अगस्ट २३ मा रुसी संसद्‍मा हात मिलाउँदै मिखाइल गोर्भाचेभ। फाइल तस्बिर : रोयटर्स

सोभियत संघलाई बचाउन नसकेकोमा भने उनी दु:खी थिए । सन् १९९१ को डिसेम्बर २५ मा गोर्भाचेभले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट सोभियत संघ औपचारिक रूपमा विघटन भएको थियो । उनले आफ्नो संस्मरणमा लेखेका छन्, ‘मलाई आज पनि यो कुराको दु:ख छ कि मैले आफ्नो जहाज शान्त समुद्रसम्म ल्याउन सकिनँ र देशमा सुधार ल्याउने कुरालाई सफल बनाउन सकिनँ।’

मिखाइल गोर्भाचेभको निधनमा विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गोर्भाचेभको निधनमा दु:ख व्यक्त गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् । पेस्कोभका अनुसार पुटिनले बिहीबार गोर्भाचेभको परिवार र साथीहरूलाई समवेदना पठाउँदैछन् । सन् २०१८ मा पुटिनले सोभियत संघ ब्युँताउने वक्तव्य दिएको समाचारसमेत प्रकाशित भएका थिए ।

 सन् १९८५ नोभेम्बर १९ मा जेनेभामा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग भेट्दै । हतियारको प्रतिस्पर्धामा रहेका दुई मुलुकका नेताबीच पहिलो पटक अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धका बारेका कुराकानी भएको थियो । फाइल तस्बिर : रोयटर्स

त्यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गोर्भाचेभको निधनमा दु:ख व्यक्त गर्दै ‘सक्रिय प्रतिबद्धताका साथ सोभियत समाजलाई खुलापनमा रूपान्तरण गर्दै विश्वसामु उदाहरण पेस गर्ने नेता’ का रूपमा सम्झिएका छन् ।

त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गोर्भाचेभले ‘इतिहासको बाटो बदलेको’ बताएका छन् । उनले भनेका छन्, ‘मिखाइल गोर्भाचेभ एक जना असल राजनीतिज्ञ थिए । विश्वले एक विश्वनेतालाई गुमाएको छ जसले बहुलवाद र शान्तिको निरन्तर वकालत गरे ।’

-कान्तिपुर र एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation