पाैडी खेल्न गएका ३ बालकको डुबेर मृत्युु

हेटौँडा । हेटौँडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा ३ बालकको मृत्यु भएको छ । हेटौँडाको न्युरेनीस्थित कर्रा खोलामा शुक्रबार डुबेर ३ बालकको मृत्यु भएको हो ।

अपरान्हको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका ३ जना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार पौडी खेल्ने क्रममा बेपत्ता भएका हेटौँडा–१५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तानको शव फेला परेको हो ।

पौडी खेल्ने क्रममा खोलाले चारजनालाई बगाएकामा एकजना भने पौडी खेलेर बाहिर निस्कन सफल भएको जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नंको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा आज मृत्यु भएको छ ।

सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठको १७ महिनाको छोरा सलिन श्रेष्ठ खेल्दै गाडीमुनि छिरेको अवस्थामा गाडी अगाडि बढाउँदा किचेर गम्भीर घाइते भई उपचारका लागि समिट अस्पताल लोकन्थली लगेपछि मृत्यु भएको अस्पतालले जनाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका–३ घर भई हाल काठमाडौँ मूलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्तथिमिले पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation