समावेशी लोकतन्त्रको उपहास, १६५ सिटमा जम्मा ७ महिला प्रत्यक्ष निर्वाचित

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष० तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् ।

४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि अग्रता लिएका छैनन् ।

 

३१ सिट जितेको एमालेबाट ३ जना महिला निर्वाचित भएका छन् । धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह र कास्की–२ बाट विद्या भट्टराई निर्वाचित भएका छन् । मतगणना भइरहेको क्षेत्रमध्ये सुनसरी–३ बाट भगवती चौधरीले अग्रता लिएकी छन् ।

१२ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मामात्रै महिला हुन् । मतगणना चलिरहेको ६ सिटमा अग्रता लिएका लिएको माओवादीको बाँकी सिटमा महिला उम्मेदवार छैनन् । १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष निर्वाचित भए ।

८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की गरी दुई महिला निर्वाचित भए । मतगणना भइरहेको क्षेत्रमा सुनसरी–१ का रास्वपाकी गोमा तामाङले अग्रता लिएकी छन् ।

राप्रपाका निर्वाचित ५ जना र अग्रता लिएका २ गरी ७ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन् ।

जनता समाजवादी पार्टीले जितेको ३ र अग्रता लिएको ३ स्थानमा सबै पुरुष छन् । लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ३ स्थानमा पनि पुरुष उम्मेदवार निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित २ जना र अग्रता लिएका एक जना ३ जनामा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन् ।

राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेकामा पुरुषमात्रै छन् । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका ५ जनामा सबै पुरुष छन् ।

विवादका कारण दोलखा र स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation