मेस्सीले कप उचालेसँगै महाकुम्भ मेलाको भव्य समापन, फोटो फिचरसहित

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो ।

लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि समापन कार्यक्रम आयोजना भएको थियो । लगभग ४ मंसिरमा आयोजक कतार र इक्वेडरबीचको खेलसँगै विश्वकप सुरु भएको थियो । एक महिनासम्म चलेको फुटबलको महाकुम्भ मेलाको समापन डेभिडो र इसाले ‘कतार विश्वकपको हैया हैया’ गीतमा प्रस्तुति गरे । यसैगरी, ओजुना र जिम्सले प्रस्तुति दिए ।

सांस्कृतिक कार्यक्रममा क्यानेडियन गायिका तथा नायिका नोरा फतेहीले समेत प्रस्तुति दिइन् । ४ मंसिरमा अल बायत रंगशालामा विश्वकपको उद्घाटन भएको थियो । त्यसवेला फ्रान्सका लिजेन्ड मार्सेल डिसैलीले विश्वकप ट्रफी सार्वजनिक गरेका थिए । एसियाली क्षेत्रमा यो दोस्रोपटक विश्वकप आयोजना भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए । सो विश्वकपमा ब्राजिलले कीर्तिमानी रूपमा पाँचौँपटक विश्वकप ट्रफी उचाल्यो ।

सन् २०१० मा कतारले विश्वकप आयोजना गर्न अधिकार प्राप्त गरेको थियो । तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरले निकै विवादास्पद रूपमा कतारलाई विश्वकप आयोजक राष्ट्रको घोषणा गरेका थिए । विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको थियो । विश्वकपको उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बिटिएस स्टार जोङ कुकले प्रस्तुति दिएका थिए ।

नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबाप्पेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

त्यसको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपेका थिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल थपेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation