महान खेलाडी पेलेकाे निधन, उनमा यस्ताे जादु थियाे र त संसार शाेकमा डुब्याे

  • विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको शुक्रबार बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही दिनअघि मात्र चिकित्सकले पेलेको क्यान्समा वृद्धि भएको बताएको थियो । गत सेप्टेम्बर २०२१ मा आन्द्राबाट ट्युमर निकालेपछि पेले निरन्तर चिकित्सकको निगरानीमा थिए ।स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गत नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो । पेले कि छोरी नासिमेन्तो केलीले उनको अवस्थाबारे विश्वभरका फुटबल समर्थकलाई सामाजिक सन्जालमार्फत जानकारी गराउँदै आएकी थिइन् । शुक्रबार केलीले उनी र परिवारका अन्य सदस्यले पेलेको पार्थिव शरिरमा हात राखेको तस्बिर राख्दै ‘हामी जे छौं सबै तपाईंलाई धन्यवाद छ । हामी तपाईंलाई असिम माया गछौँ । हार्दिक श्रद्धाञ्जली’ लेखेकी छन् । 
पेलेको ट्विटर ह्यान्डलमा प्रेरणा र प्रेमका राजा पेलेको आज निधन भएको छ । सधैंभर माया लेखिएको छ । उनको निधनमा विश्वभरका फुटबल तथा खेलकुद वृत्त पदाधिकारी, प्रशिक्षक, उनका समकालीन र खेलाडीहरुले पेलेलाई समवेदना दिएका छन् । उनको पहिलो व्यावसायिक क्लब सान्तोसले उनको अन्त्येष्टिको विवरण सार्वजनिक गरेको छ ।सोमबार बिहान उनको पार्थिव शरीरलाई अस्पतालबाट सान्तोसनजिकै रहेको स्टेडियो अबार्नो काल्डेरामा राखिने अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् । जहाँ ब्राजिली जनताले पेलेलाई सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली दिन सक्नेछन् । मंगलबार साओ पाओलोको सान्तोसमा शवयात्रापछि उनको अन्त्यष्टि गरिनेछ । मात्रै १७ वर्षको उमेरमा ग्लोबल आइकन बनेका उनी तीनवटा विश्वकप जित्ने एक्ला खेलाडी थिए ।

   फुटबल भन्नासाथ सबैले सम्झिने नाम हो पेले । २३ अक्टोबर १९४० मा ब्राजिलको एउटा गाउँमा जन्मिएका एडसन अरान्ते दो नासिमेन्तो पैसाको अभावमा कागजका डल्ला र मोजाको बल खेल्दै हुर्किए । बाल्यकालमा डिको उपनामले परिचित उनै नासिमेन्तोलाई पछि संसारले पेले नामबाट चिन्यो । सबैका स्वीकार्य र प्रेरणा बनेका पेले फुटबललाई सुन्दर बनाउँदै महाप्रस्थान गरेका छन् ।

अमेरिकी आविष्कारक थोमस एडिसनबाट प्रेरित भएर उनको नाम एडसन अरान्तेदो नासिमेन्तो राखिए पनि परिवारका सदस्यले उनलाई मायाले डिको भनेर बोलाउँथे । जसको अर्थ सन अफ वारियर हो । पेले नाम कसरी रहन गयो त ? यसको पनि रोचक किस्सा छ । एडसनको उच्चारणमा समस्या थियो । उनको मनपर्ने एक ब्राजिलियन क्लबको गोलकिपरको नाम बिले थियो । तर उनी, पिले भनेर उच्चारण गर्दथे । साथीहरुले डिकोलाई पेले भनेर गिज्याउन थाले । आफ्नो नाम बिगारिदिएको भन्दै एडसनले साथीहरुसाग निकै झगडा गरे । पोर्चुगिच भाषामा पेले शब्दको अर्थ भेटिँदैन । तर हिब्रो भाषामा पेले भनेको मिराकल अर्थात् जादु हो । सााच्चिकै पेले नामले विश्वभर माया, एकता, सद्‌भाव र आफ्नोपनको जादु छर्यो ।

पेलेका पिता पनि स्थानीय स्तरमा नाम चलेका व्यावसायिक खेलाडी थिए । सानैमा फुटबलसँग जोडिएका उनलाई विश्वकप विजेता खेलाडी भ्लादिमिर डी बिर्ताले व्यावसायिक करियरमा जोडे । १५ वर्षको उमेरमै सान्तोस क्लबमा जोडिएका पेलेले पहिलो सिजनमै ३२ गोलका साथ लिगको उच्च गोलकर्ता बनेपछि पेलेलाई राष्ट्रिय टिममा बोलाइएको हो । १७ वर्षको हुँदा सन् १९५८ को विश्वकप खेल्ने टिममा छानिएका पेलेको यात्रा फुटबलको उच्चतम् विन्दुमा पुग्यो ।

विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडी पेले पहिलो सहभागितामै ग्लोबल स्टार बने । फाइनलमा घरेलु टोली स्विडेनलाई पाँच-दुईले पराजित गर्दै ब्राजिलले पहिलोपटक विश्वकप जित्दा पेलेले दुई गोल गरेका थिए । पेले यत्तिमै रोकिएनन्, १९६२ र १९७० को विश्वकप पनि जिते । अहिलेसम्म तीन विश्वकप जित्ने पेले एकमात्र खेलाडी हुन् । १९७० को विश्वकप फाइनलमा ब्राजिलले इटालीमाथि चार-एक गोलको जित निकाल्दा पेलेले नै पहिलो गोल गरेका थिए । सो गोल विश्वकपमा ब्राजिलको एक सयौं गोल थियो ।

६० र ७० को दशकमा पेले राष्ट्रिय टिम र सान्तोसबाट विश्वका विभिन्न ठाउँमा पुगे । जहाँ पुग्थे त्यहाँ समर्थकहरुको ओइरो लाग्थ्यो । १९६७ मा पेले नाइजेरिया भ्रमणमा जाँदा त्यहाँ गृहयुद्ध चलिरहेको थियो । तर पेलेको खेल हेर्न दुवै पक्षले ४८ घण्टा युद्धविराम गरेका थिए । १९६१ मा ब्राजिलले, पेलेलाई स्वदेशमै रोक्न राष्ट्रिय सम्पति घोषणा गरेको थियो ।

२२ वर्षको करियरमा एक हजार दुई सय ८३ गोल गरेका पेलेले ९२ ह्याट्रिक गरेका छन् । राष्ट्रिय टिमबाट पेलेको नाममा ७७ गोल छ । १९७७ अक्टोबर १ मा करियरको अन्तिम फुटबल खेलेका पेलेले पहिलो हाफ सान्तेास र दोस्रो हाफ कसमसबाट खेलेका थिए । १९६९, नोभेम्बर १९ मा करियरको एक हजार गोल पूरा गर्दा मैदानमा समर्थकको भिड लाग्यो । जसका कारण ३० मिनेट खेल रोक्नुपरेको थियो ।

पेलेसँग छोटो संवादका लागि पनि विश्वका शक्तिशाली व्यक्ति घण्टौं प्रतीक्षा गर्दथे । १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट एथ्लिट अफ दी सेन्चुरी घोषित भएका पेले मैदानबाहिर पनि उत्तिकै चर्चित छन् । युनिसेफ र संयुक्त राष्ट्रसंघको दूत बनेर लाखौं बालबालिकाका लागि काम गरेका पेलेले भ्रष्टाचार निवारण र वातावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याए । १९९५ देखि १९९८ सम्म खेलकुदमन्त्री बनेका पेले वर्तमान पुस्ताको पनि प्रेरणाको स्रोत हुन् । उनी जे थिए विशेष थिए, अद्भूत थिए । उनको भौतिक शरीरले महाप्रस्थान गरे पनि उनले छोडेर गएको सुगन्धले विश्वलाई सुन्दर बनाइराख्नेछ ।

-अन्तर्राष्ट्रिय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation