प्रचण्ड सरकारलाई काङग्रेसले विश्वासकाे मत दिने

नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने, तर दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

 

सहमहामन्त्री महेन्द्र यादवले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए । ‘अहिले हामीले वर्तमान संविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ,’ उनले भने ।

 

सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ । सभापति देउवासहितका शीर्ष नेताहरू भविष्यमै सत्ता पुनरागमनको सम्भावना जीवित राख्न प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुपर्ने पक्षमा उभिएका हुन् । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका अधिकांश नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा थिए ।

कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा २६९ सांसदको समर्थन पाउने भएका छन् । कांग्रेसको ८८ र सत्तारुढ गठबन्धनमा एमालेको ७९ (किरण साहसमेत), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १३ ( ज्येष्ठ सदस्य सदस्य पशुपति शमशेर जबरा बैठकको अध्यक्ष), जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ८ र नागरिक उन्मुक्ति पार्टी ४ (लालवीर चौधरीसहित) मत रहेको छ । तीन जना स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि पक्षमा मत दिने बताएका छन् । ।

हालसम्म विपक्षमा एक-एक सिट रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation