


परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् ।
श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो आग्रह गरेकी हुन् ।
भेटमा दुई देशका अन्य आपसी हित र चासोका विषयमा पनि कुराकानी भएको छ । यस्तै, दुई देशबीच संस्कृति आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन पनि पौड्यालले आग्रह गरेकी छिन् ।
मन्त्री पौड्यालले यसअघि श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेका बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग–अलग भेटवार्ता गरेकी छिन् ।
मन्त्री पौड्यालसँग सोही समारोहमा सहभागी हुन आएका भारतका विदेश राज्यमन्त्रीले भेट गरेका छन्।
सबै भेटमा मन्त्री पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल, सहकार्य सम्पर्क संजाल विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन् ।
परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्रीसँग पनि शिष्टाचार भेट गरेकी छिन् । परराष्ट्रमन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्कंदै छिन् ।