तीन अर्ब नाै कराेडमा यस्ताे बन्नेछ लुम्बिनी प्रदेश भवन

 

लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र निर्माणको काम शुरु भएको छ । प्रदेश राजधानी परिसरभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित अन्य नौवटा मन्त्रालयको भवन निर्माणको काम शुरु भएको हो । तीन अर्ब नौ करोड २९ लाख ३८ रुपैयाँ ७२ पैसाको लागतमा मन्त्रालय भवन निर्माणको काम शुरु भएको छ ।

बुधवार मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । अबको तीन वर्षभित्र प्रदेशको सबै स्थायी प्रशासनिक भवन निर्माण कार्य सम्पन्न हुने र त्यसपछि स्थायी संरचनामा प्रदेशका मन्त्रालयहरुको कामकाज शुरु हुनेछ । राजधानी क्षेत्र भित्र राप्ती प्राविधिक शिक्षालयको संरचना मर्मत गरेर मन्त्रालयहरु स्थापना गरेर कामकाज थालिएको छ । अब यही क्षेत्रभित्र प्रदेशका स्थायी संरचना निर्माणको काम शुरु गरिएको छ । प्रदेशको प्रशासनिक भवन निर्माण गर्न बजेटको अभाव नहुने मुख्यमन्त्री लिला गिरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘संघीयता कार्यान्वयनमा लुम्बिनी सरकार अब्बल सावित भएको छ । अब हामी आफैले बनाएको संरचनाबाट प्रशासनिक कामकाज थाल्नेछौं’– उहाँले भन्नुभयो– ‘समयमै काम सम्पन्न गरेपछि प्रदेश सरकारले पुरस्कार समेत दिने छ ।’ प्रदेश सरकार जनताको नजिकको सरकार भएको र त्यसलाई स्थापित गर्ने सवालमा लुम्बिनीले उदाहरण पेश गरेको बताउनुभयो ।

खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयमार्फत प्रदेश राजधानी निर्माण आयोजनाको काम अघि बढेको छ । यही मन्त्रालयले प्रशासनिक भवन निर्माणको काम अघि बढाएको छ । खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले राजधानी कार्यान्वयन गर्न समयमै प्रशासनिक भवन निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । ‘प्रशासनिक केन्द्र निर्माण प्रदेशको गौरव हो । यो आयोजनालाई अघि बढाउन बजेटको अभाव हुँदैन’– उहाँले भन्नुभयो– ‘प्रदेश सरकार आफ्नै संरचनाबाट अघि बढ्न चाहेको छ । तीन वर्षमा निर्माणको काम सम्पन्न हुने आशा छ ।’

खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीका अनुसार मुख्यमन्त्री कार्यालय छ तलाको हुनेछ । लिफ्ट सहित अपांगमैत्री भवन निर्माण हुनेछ । भवनमा सबै सुविधा जडान गरिने र अण्डरग्राउण्ड पार्किङको सुविधा रहने जानकारी दिनुभयो ।

‘मण्डला आकारको प्रदेशको प्रशासनिक केन्द्र रहने छ । मुख्य केन्द्रमा मुख्यमन्त्री कार्यालय र त्यसको आसपासमा अन्य मन्त्रालयका भवनहरु रहनेछन्’– उहाँले भन्नुभयो– ‘प्रदेशले प्रदान गर्ने प्रशासनिक कामलाई छिटोछरितो सम्पादन गर्न सहज हुनेछ ।’ अन्य मन्त्रालय भवन पाँच तलाको हुनेछ । त्यहाँ पनि अण्डरग्राउण्ड पार्किङ र लिफ्ट जडान गरिनेछ । आयोजना कार्यान्वयनलाई गति प्रदान गर्ने योजना सरकारको छ । प्रदेश राजधानी कार्यान्वयन आयोजना प्रमुख ईश्वर जोशीका अनुसार समय सीमाभित्र काम सम्पन्न गर्न कार्यतालिका निर्माण भएको छ । जुन कार्यतालिका अनुसार काम भए नभएको बारेमा अनुगमन गरिनेछ ।

‘मण्डला डिजाइन भन्छौं । वरिपरि प्रशासनिक मन्त्रालय र बीचमा मुख्यमन्त्री कार्यालय यो आकारमा काम अघि बढेको छ’– उहाँले भन्नुभयो– ‘उत्तरतर्फ पाँचवटा, पूर्वतर्फ दुईवटा र पश्चिमतर्फ दुईवटा मन्त्रालय भवन रहनेछन् ।’ मन्त्रालय र मुख्यमन्त्री कार्यालयलाई कालोपत्रे सडकले जोड्ने छ । बाँकी सडकको हकमा व्लक बिच्छ्याइने छ । मन्त्रालय निर्माणको जिम्मेवारी शर्मा÷सगुन जेभी सीतापाइला, काठमाडौंले लिएको छ । १७ विगाह १९ कट्ठा ४ धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation