भालुवाङमा महाेत्सवकाे राैनकता

 

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले लुम्बिनी प्रदेशको पर्यटन विकासका लागि पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभएको छ । उहाँले बहुप्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको प्रवेशद्वार भालुबाङमा स्वागत गेट निर्माण गरिने बताउनुभयो ।

राप्ती गाउँपालिका–१ भालुबाङमा शुक्रबारबाट शुरु भएको पाँचांै राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ को उद्घाटन गर्दै मन्त्री यादवले लुम्बिनी प्रदेश प्राकृतिक सम्पदा, धार्मिक स्थलहरुले भरिपूर्ण रहेको भन्दै आवश्यक प्रचार–प्रसारका माध्यमबाट लुम्बिनीलाई पर्यापर्यटनको विकासको माध्यमबाट आर्थिक रुपान्तरणमा जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारुले आफूसँग भएको पूँजी चलायमान बनाउन र राज्यसँग भएको पूँजीलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहॉँले मेला महोत्सवलाई आन्तरिक उत्पादनमा जोड दिनेगरी सञ्चालन गर्न सुझाव दिनुभयो ।

‘कृषि, उद्योग, व्यापार तथा पर्यटनको शान, राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान’ भन्ने मूल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुबाङको आयोजनामा शुक्रबारदेखि चैत १ गतेसम्म भालुबाङमा महोत्सव शुरु भएको छ । महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने र ९ करोड बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केही रकम लालमटियामा रहेको दृष्टिविहीन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा विभिन्न जातजातिको एक दर्जन बढी झाँकी प्रदर्शन, स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रदर्शनी, बाल उद्यान, राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा बोटिङ, मौतका कुवा, चर्खे पिङ, झुला, बालबाललिका लागि रमाइलो खेललगायत अन्य थुप्रै आकर्षण रहेका छन् । महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुति रहने, महोत्सव अवधिभर खुला नृत्य प्रतियोगिता देउखुरी आइडल समेत हुने छ । संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, नेपाली कांग्रेसका विद्याशरण चौधरी, नेकपा एमालेका रामबहादुर सुनार, नेकपा माओवादी केन्द्रका बसन्त परियार, पूर्वाधार विकास प्राधिकरण जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरी, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा मगर, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पूर्णबहादुर बुढाथोकी, राप्ती उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष होमप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन संघका महासचिव नारायणप्रसाद शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation