अन्ततः नेपालको जित, यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।

यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation