उनको र मेरो भेट पहिलो वर्षको भर्ना गर्ने क्रममा भएको थियो। म सूचना पाटीमा टाँसिएको मेरिट लिस्ट हेर्दै थिएँ जहाँ मेरो नाम दोस्रो नम्बरमा थियो।तर मभन्दा माथि पनि कुनै अर्को नाम थियो निर्जला। ओहो! कस्तो राम्रो नाम। म एकोहोरो नाममा डुब्दै थिएँ, कसैले छेउमै आएर ‘एक्सक्युज मि!’ भनेर सम्बोधन गर्यो।
‘हजुर’ मैले उनीतिर हेरेर जवाफ दिएँ।
‘यो बैंक भौचर कता बुझाउने होला?’
‘लेखाशाखामा हो नि,’ मैले भनेँ।
‘लग्दिनुस् न प्लिज,’ उनले अनुरोध गरिन्।
यति राम्री केटीले भनेको कुरा अस्वीकार गर्न मन लागेन। सोच्दै थिएँ सायद हामी एउटै ब्याचमेट हौँला। हो रहेछ पनि।
पछि रसिद बनाउने क्रममा मैले उनको नाम चिहाएर हेरेँ।
नाम- निर्जला भण्डारी, ठेगाना- पर्वत थियो।
त्यसपछि त के चाहियो र, मेरो मन चिप्लेटी ढुंगामा चिप्लिँदा रमाउने बालबच्चा झैँ रमाउन पो थाल्यो।
भर्ना गर्ने काम सकिएपछि हामी चिया खाने मुडमा क्यान्टिन खोज्दै थियौँ। त्यत्तिकैमा केही क्याम्पसका विद्यार्थीहरूको घेराबन्दीमा पर्यौं। हात मिलाउने र सोधखोज गर्ने काम भयो। क्यान्टिन उनीहरूकै इसारामा गइयो र चिया खाजा पनि फ्रीमा नै खाइयो।
उठ्ने बेलामा एकजना दाइले बल्ल आफ्नो परिचय दिए- ‘म अखिल (क्रान्तिकारी) को अध्यक्ष।’
हाम्रै संगठनमा आऊ भन्ने खालको कुरा नभए पनि मनसाय उस्तै थियो। क्यान्टिनबाट घर जान माइक्रो लाग्ने ठाउँसम्म जाँदा अखिलका दाइदिदी भेटिए, मामाघरमा आएको भान्जालाई देखाउनेभन्दा बढी माया देखाए।
हामी दुई जना सँगै थियौँ। माइक्रो चढेपछि बल्ल थाहा भयो, त्यहाँ त क्याम्पसका नै अरु सिनियर दाइदिदी पनि हुनुहुँदो रहेछ। सायद नेविसंघका थिए। मनमनै खुसी हुँदै थिएँ, आज गाडीभाडा पनि तिर्न नपर्ने भयो। भयो पनि त्यही।
यस्तै-यस्तै गर्दै बित्यो पहिलो हप्ता। कहिले कसैको कुरा सुनियो, कहिले कसैको। कोही होस्टल मिलाइदिन्छु भन्थे, कोही बिहे नै गर्ने जस्तो घरसम्म नै छोरालाई हाम्रो संगठनमा पठाउन पर्यो भन्दै कुरा लान्थे। कोही पढाइपछिको जागीरको सुनिश्चित गर्दिने जसरी बोल्थे, कोही गोरु बेचेको साइनो लाएर नजिक हुन खोज्थे।
अनेक घुम्तीहरूबाट पनि नसक्नेहरू फकाइफुलाइ पनि गर्थे। पहिलो वर्षको सरकारी क्याम्पसको विद्यार्थी जीवनकाल यसै-यसै गरी बित्थ्यो, बित्छ। यो सबैको उद्देश्य उही स्ववियु जित्ने न हो।
उनी अर्थात् निर्जला र म क्लासमा पनि नजिकै बस्थ्यौँ। फर्स्ट गर्ल र सेकेन्ड ब्वाइ भनेर सबैले बिल्ला गर्थे। त्यो कुनै चिजको परवाह थिएन हामीलाई। उनी एकदम स्पष्ट वक्ता थिइन्। अगाडि गएर बोल्ने अलि हाउभाउले समेत कुराहरू पोख्ने गर्थिन्।
घरबाट उनी कांग्रेस पृष्ठभूमिकी थिइन्, म कम्युनिस्ट पृष्ठभूमिको। तैपनि हामीले यो कुरा बाहिर निकाल्दासम्म हामीबीच असमझदारी होला भन्ने शंका पटक्कै थिएन। त्यसैले पनि म उनलाई हरेक कुरामा सहयोग गर्थें। क्लासको प्रतिनिधि बनाउन समेत म नै उनको प्रस्तावक बनेको थिएँ। अनि उनी सर्वसम्मत भएकी थिइन्। लाग्दै थियो हामी दुई मिल्यौँ भने नहुने केही छैन।
सायद अनौठोपनको कुतकुतीले त्यो दिनदेखि हामी धेरै नै नजिक भयौँ। नजिक मात्र भएनौँ, हामीबीच ज्यादा सामीप्यता बढेको अवसरमा दुवै जना स्वतन्त्र रहेर कुनै पनि विद्यार्थी संगठनमा नलाग्ने विचार गर्यौं।
तर समयक्रम उस्तै रहेन। ठूलै नेताको फोन उनको घरमा पुगेछ। त्यसको भोलिपल्टै उनको नाम नेविसंघको क्याम्पस कमिटीमा आयो। म सूचना पाटीमा हेरेर टोलाइरहेँ। हामीबीच धेरै दिन संवाद टुट्यो।
घर जानआउन चढ्ने गाडीहरू फरक-फरक हुन थाले। उनले कान्तिपुर चढिन्, मैले महानगरको बस। योसँगै मेरो नाम पनि अखिल (क्रान्तिकारी) को क्याम्पस कमिटीमा थपियो। त्यो दिन त्यो सूचना देखेर उनी गम खाइन् कि खाइनन् त्यो अझै सोध्न बाँकी नै छ।
हाम्रा स्वतन्त्र रहने वाचाहरू अनि हामीबीच झाँगिएको प्रेम निम्छरो बनेर तुहिन खोज्यो।
एकदिन चियागफ गर्ने भयौँ हामीले। भक्तपुरको त्यो सानो चियापसल जहाँ हामीले एकअर्कलाई अंगालेर धेरै बेर रोएका थियौँ र, नछुट्टिने वाचा समेत गरेका थियौँ।
तर त्यो वाचा कति अप्ठ्यारो थियो हामी दुवै ज्ञाता थियौँ। संगठन फरक भएपछि कार्यक्रमहरू फरक-फरक हुन्थे। ऊ समावेश भएको कार्यक्रममा म पुग्न सक्थिनँ भने म समावेश भएको कार्यक्रममा ऊ आउने वातावरण हुन्थेन। हामी दुईलाई संगठनको गोपनीयता एकअर्कामा चुहाउन सक्ने ठूलो संसयका साथ हेर्ने गर्थे।
हामी निकै क्षमतावान् थियौँ। हामीलाई पछाडि पारेर संगठन अगाडि जान सक्ने अवस्था पनि थिएन। क्लासमा भने हामीसँगै हुन्थ्यौँ तर संगठनका कामकाजमा फरक-फरक। त्यसैले पनि अक्सर हाम्रो भेट्ने समय शनिबार हुने गर्थ्यो।
भेटमा हामी किन एउटै संगठनको हुन सकेनौँ भनेर एकअर्कालाई गुनासो गर्थ्यौं। तर एकअर्काको समय, अवस्थिति र योगदानको कदर गर्ने भन्दै छुटिन्थ्यौं। अरु संगठन बेमेल भएर पनि जोडी भएकाहरूका लागि प्रेरणा बन्ने भन्दै प्रण गर्थ्यौं। घरमा नै श्रीमान-श्रीमती छुट्टाछुट्टै पार्टी भइकन मिलेर बसेका अनेकन उदाहरण पढेर खुसी पनि हुन्थ्यौँ।
पहिलो वर्षमा पलाएको माया अन्तिम वर्षसम्म सम्हाल्यौँ। हाम्रो सम्बन्धमा चिसोपना आएन। सम्बन्ध भावना हो, जो हरकसैसँग गाँस्न सकिएला। तर गाँसिसकेपछि एउटा नीति त्यसले अंगाल्छ- त्यो भनेको यो सम्बन्ध रहुन्जेल यसकै निम्ति मलजल गर्ने, यसैलाई हुर्काउने। तर विपरीत संगठनका कुरा काट्ने प्रवृत्तिहरूले, छलकपट व्यवहार र निर्जीवताले कुन सम्बन्ध कति खेर विच्छेद हुन्छ थाहा हुँदैन थियो।
जब इन्टर्न छिर्यौं, स्ववियुको हल्ला सुरु भयो। क्याम्पसमा राजनीतिको गर्मी चढ्यो। त्रिविले तालिका नै निकालेपछि त ताला लाउने, फोड्ने, धर्ना बस्नेजस्ता प्रवृत्ति आकाशिए।
म संगठनको अध्यक्ष भइसकेको थिएँ। उनी आफ्नो संगठनको वरिष्ठ उपाध्यक्ष थिइन्। चिकित्सा अध्ययन गर्ने क्याम्पस त्यसमाथि इन्टर्न चिकित्सक भए पनि यावत विद्यार्थीका मुद्दाहरू बोकेर हामी पनि स्ववियुमा होमिन पर्ने कुरा घामजस्तै छर्लंग थियो।
कुन संगठनले कस्तो प्यानल घोषणा गर्ने? को-कसलाई कुन पदमा उठाउने? निधो गर्न चियापसलहरूमा भिडभाड देखिन्थे। संयुक्त कम्युनिस्ट विद्यार्थी मोर्चा एकातिर थियो भने कांग्रेसको प्रजातान्त्रिक मोर्चा अर्को तिर थियो। एकदम निकटतम प्रतिस्पर्धा हुने आकलन हुन थालेको थियो।
मलाई कम्युनिस्ट मोर्चाबाट स्ववियु सभापतीमा आफ्नो दाबेदारी दिन निकै दबाब थियो। तर म ‘पर्ख र हेर’ को अवस्थामा थिएँ। निर्जला र मेरो यो चुनावको पेचिलो अवस्थामा निकै कम भेटघाट र बोलचाल थियो। सायद संगठनकै अरुबाट पनि निषेध गर्ने अवस्था भएको थियो।
यस्तैमा प्रजातान्त्रिक प्यानलबाट उनको नाम सभापतिको पदका लागि उम्मेदवारीमा आयो। अनि अन्तिम समयमा आएर अनेकौं पार्टी पंक्तिको दबाबका बाबजुत मैले मेरो नाम कम्युनिस्ट प्यानलको सभापतिबाट फिर्ता गरेँ र अर्कैलाई पठाउने निधो गरियो।
त्यो दिन मैले प्रेमलाई जिताउन आफू हार्न सिक्नुपर्छ भन्ने कुरा जानेँ। चुनाव अगाडि नै ‘म’ एउटा पात्र उनीसँग हारेको अनुभूतिका साथ हात उठाइसकेको थिएँ।
एक महिनादेखि जाम परेको म्यासेन्जरमा चुनावको अघिल्लो रात ‘शुभकामना निर्जला, तिम्रो जितको खबर सुन्न आँतुर छु’ भनी लेखी पठाएको थिएँ। उनले त्यो म्यासेजमा लभ रियाक्ट गर्दै ‘मलाई भोट हाल्नू है!’ भन्दै रिप्लाई गरिन्।
त्यो म्यासेज नै पहिलो म्यासेज थियो उनको जसलाई मैले सीन गरेर छाड्न बाध्य भएँ। भन्न त मन थियो, ‘निर्जला, बाध्यताहरू बाजा बजाएर आउने रहेनछन्। हो, म संगठनको प्रमुख भएको हिसाबले कम्युनिस्ट प्यानलको सभापतिकै उम्मेदवारलाई भोट हाल्न बाध्य छु।’
तर अहँ भनिनँ।
त्यो अनिदो र व्यस्त चुनावको अघिल्लो रात जुन म्यासेज मैले सीन गरेर छोडेँ, त्यही म्यासेज नै उनको अन्तिम म्यासेज हुन पुग्यो। किनकी अत्यन्त प्रतिस्पर्धात्मक स्ववियु चुनावमा उनी एक मतले हार्न पुगिन् र त्यो मत मेरै थियो।
उनले जरूर थाहा पाइन् मेरो एक भोटले उनको हार भयो र त हाम्रो बोलचाल बन्द भयो। कम्युनिस्ट प्यानलको विजय जुलुसमा म रातै अबिरले पोतिएको थिएँ। तर उनलाई टाढैबाट पानी पर्न लागेको मलिनो आकाशजस्तै देखेँ।
म कत्ति खुसी हुन सकिनँ। एक मनले त ‘जा भाइ जा, गएर उनलाई अंगालेर सहानुभूति दे’ भन्यो। तर कहाँ ती अनेकौं जन्जिरहरू नाघेर उनको आँसुमा म आफ्ना टाँसिएका अबिरहरू लगेर मिसाउन सक्थेँ र?
त्यो चुनावको रात मलाई कसैले सपनामा नै तर्सायो र भनिरह्यो, ‘तैँले फेरि प्रेममा जित्न खोजिस् अच्युत, हार्न सिक्!’
तर अपसोच! लाग्छ सागर भेट्टाउन नदीजस्तै हिँडेको मान्छे म, निर्जलालाई भने जिन्दगीको कुनै मोडमा भेट्टाउन सकेको छैन। श्रोत:सेतोपाटि