चितवनका दुई केन्द्रमा रोकियो मतदान

चितवन क्षेत्र नं. २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।

भोजाडमा करिब दुई घण्टादेखि मतदान रोकिएको छ । कृष्णपुरमा मतदान रोकिएको भने आधा घण्टा भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो ।
रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।
सोक्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको छ । अहिले अवस्था सामान्य छ तर मतदान सुरु भइसकेको छैन ।
कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।                                               चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation