त्यसकारण झाेलुङ्गे पुल हेर्नेकाे पर्यटककाे संख्या बढिरहेछ !

स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ ।  गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुंगे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् ।  

भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो राजमार्ग हो । सो राजमार्गको छेवैमा भएकाले पनि घुम्न हिँडेका भारतीय नागरिक चिउरीको झोलुंगे पुलको अवलोकन गरेर जान्छन् ।

 

यस्तै चीन, जापान, अमेरिका, जर्मनलगायत विभिन्न मुलुकबाट पोखरा घुम्न आएका विदेशी पर्यटक गौतमबुद्धको जन्मथलो लुम्बिनीमा जान पनि सिद्धार्थ राजमार्ग नै बढी प्रयोग गर्छन् । स्थानीय भीमबहादुर रानाले अघिल्लो वर्षका तुलनामा यस वर्ष धेरै भारतीय पर्यटकले चिउरीमा रहेको पुल भ्रमण गरेको बताए ।

उनले भारतबाट बुटवल पाल्पा हुँदै पोखरा, कुस्मा र मुक्तिनाथ जाने हरेक भारतीय पर्यटकका गाडी अग्लो र लामो झोलुंगे पुल हेर्न चिउरीमा रोकिने गरेको बताए । ‘कुनै समय यहाँ फोटो खिच्ने र टिकटक बनाउने आन्तरिक पर्यटकको अत्यधिक चाप हुने गर्दछ ।’ रानाले भने, ‘अहिले पुल हेर्न आउने आन्तरिक पर्यटक घटेका छन् तर विदेशी पर्यटक बढ्दै गएका छन्।’

गल्याङ–७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि तीर्थयात्रीलाई पुलले सहज बनाएको केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टीकाराम पाठकले बताए । उनले मन्दिरमा जान लाग्ने दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको जानकारी दिए ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले झोलुंगे पुल अवलोकनका लागि आउने पर्यटकको संख्या बढेपछि चिउरीमा हाल पार्किङ र पुलसम्म जान आउन रेलिङसहितको पदमार्ग निर्माण गरिएको बताए । झोलुंगे पुल नुवाकोटस्थित एसए शैलेन्द्र जेभीले २०७८ असार मसान्तमा सम्पन्न गरेर सर्वसाधारणका लागि खुला गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation