Pranmancha

Advertisment

SKIP THIS

युक्रेनको नेटो सदस्यताले उभ्याउनेछ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन सघाउनुपर्ने र उसको सन् १९९१ को सीमामाथि पूर्ण नियन्त्रण पुनः स्थापित गर्ने उपाय पनि सुझाइएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपको सुरक्षालाई पुनर्निर्माण गर्न चाहेको तर त्यस महत्वाकांक्षामा असफल भएको धारणाबाट अघि बढ्दै खुलापत्रका लेखकले पुटिनले युक्रेनमाथि नियन्त्रण स्थापित गर्ने आफ्नो लक्ष्य त्याग्नुपर्ने माग गरिएको छ । मुख्यतः नेटोले किभलाई सदस्यताको स्पष्ट मिति तोक्नुपर्नेमा जोड दिँदै हाल कायम अस्पष्टताले रुसी आक्रमणलाई निम्तो दिने लेखकहरूको दाबी छ ।

युक्रेन सुरक्षित भए मात्र आन्द्र महासागरका दुई किनारका मुलुक स्थिर र सुरक्षित हुन सक्ने भन्दै सन् २००८ मा बुखारेस्टको नेटो शिखर सम्मेलनमा गरिएको वाचा पूरा गर्दै युक्रेनलाई नेटोमा प्रवेश गरेर मात्र त्यो लक्ष्य हासिल हुने लेखकहरूको दाबी छ । खुलापत्रका लेखकले युक्रेनले औपचारिक सदस्यता हासिल गर्नुअघि रुससँग जारी युद्धमा जित हासिल गर्न उसलाई नेटोले सम्पूर्ण प्रकारको हतियारले सुसज्जित बनाउनुपर्ने र युक्रेनको दीर्घकालीन राष्ट्रिय रक्षा रणनीति, राष्ट्रिय प्रतिरक्षा रणनीति र राष्ट्रिय प्रतिरक्षा अवस्थिति नेटोको मापदण्ड र योजनाअनुरूप विकास गर्नुपर्ने सुझाब पनि दिइएको छ ।

ट्रान्सएट्लान्टिक समुदायलाई थप स्थिर, सुरक्षित र समृद्ध बनाउने सुझाब दिइएको भनिए पनि यस पत्रका सुझाब कार्यान्वयन गरिए पश्चिम र युरेसियाको आपसी विनाशका लागि खुला निमन्त्रणा हुनेछ । यो खुलापत्र इतिहास, भूगोल र भूराजनीतिको अज्ञानता, उदासीनता र अहंकारमा टेकेर गरिएको त्रुटिपूर्ण विश्लेषण मात्र हो । लेखकहरूले पुटिनले युरोपको सुरक्षालाई उल्ट्याउने योजनाका साथ काम गरेको कुटिल तर्क दिइरहँदा नेटोको पूर्वविस्तारले यो संगठन पिटर द ग्रेटको राजधानीसम्मुख पुगेको र त्यसको प्रतिक्रियाबारे केही उल्लेख गरेका छैनन् ।

उनीहरूले नेटोमा युक्रेनको प्रवेशले सन् २००८ मा बुखारेस्टमा गरिएको वाचा पूरा गर्ने कुरामा त जोड दिएका छन्, तर त्यसपछि नेटोले रुसलाई घेर्नेछ भन्ने कुरालाई बेवास्ता गरेका छन् । लेखकले नेटोको पूर्वतर्फको विस्तार रोक्न रुसी नेतृत्वले उठाएको विरोधमा कुनै ध्यान दिएका छैनन् । रुसी दृष्टिकोणबाट पश्चिमले त्यसमा विशेष अमेरिकाले सधैँ आफ्नो आश्वासन पूरा नगरेको वा रुसलाई राष्ट्रिय सुरक्षाको सन्दर्भमा बालुवामा टाउको गाड्ने अवस्थामा पुर्‍याएको बुझाइ छ ।

सन् १९८९ डिसेम्बरमा माल्टामा भएको शिखर सम्मेलनमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्ल्यु बुस (जर्ज डब्ल्यु बुसका पिता)ले उनका सोभियत समकक्षी मिखाइल गोर्बाचेभ र फेरि सन् १९९० फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री जेम्स बेकरले गोर्बाचेभलाई मस्कोमा भनेका थिए, ‘हामी पूर्वी (युरोपेली) देशलाई आश्वस्त बनाउनुपर्ने कुरालाई बुझ्छौँ । हामीले अहिले नेटोको सदस्य रहेको जर्मनीमा उपस्थिति कायम राख्यौँ भने त्योभन्दा पूर्वमा एक इन्च पनि नेटोको अधिकार क्षेत्रको विस्तार हुनेछैन ।’

तर, केही वर्षपछि नै सन् १९९७ जुलाईमा म्याड्रिडमा भएको नेटोको शिखर सम्मेलनमा, नेटोले तीन भूतपूर्व कम्युनिस्ट मुलुक पोल्यान्ड, हंगेरी र चेक गणतन्त्रलाई औपचारिक रूपमा नेटो गठबन्धनमा सामेल हुन आमन्त्रित गर्‍यो । आमन्त्रित उल्लिखित तीन मुलुकले सन् १९९९ मार्चमा सदस्यता पाए । त्यसको दुई हप्ता पनि समय नबित्दै, नेटोले कोसोभोमा आफ्नो सैन्य कारबाही अन्त्य गर्ने प्रयासमा रुसको सहयोगी सर्बियामाथि बमबारी गर्न थाल्यो । त्यसपछि फेरि रुसको सुरक्षा चासोलाई बेवास्ता गर्दै सन् २००२ मा नेटोको दोस्रो चरणको पूर्वी विस्तार सुरु भयो । यस चरणमा सोभियत संघका प्रभाव क्षेत्र मानिने बुल्गेरिया, इस्टोनिया, लात्भिया, लिथुआनिया, रोमानिया, स्लोभाकिया र स्लोभेनियाले मार्च २००४ मार्चसम्ममा नेटो सदस्यता पाए । मस्कोले यस चरणमा नेटो प्रवेश गरिएका विशेषगरी बाल्टिक राज्यहरू (इस्टोनिया, लात्भिया, लिथुआनिया)लाई लिएर स्पष्ट र मुखर असन्तुष्टि व्यक्त गर्‍यो ।

त्यसपछिका वर्षमा जर्जिया, युक्रेनमा भएका रंगीन आन्दोलनले अमेरिका–रुस सम्बन्धमा  थप चिसोपन ल्यायो । जर्जियामा सन् २००३ को गुलाब क्रान्ति र युक्रेनमा सन् २००४ को सुन्तला क्रान्ति र फेरि सन् २०१४ को मैदान क्रान्तिपछि वासिंटन र मस्को एक–अर्काको सामने खडा भए । लामो समय रुस र पश्चिमबीचको संक्रमण क्षेत्र मानिएको जर्जिया र युक्रेनमा पश्चिम समर्थित सरकारको आगमन र त्यसमा थोरबहुत अमेरिकाको सहायोगपछि नेटोको विस्तार रुसविरुद्ध लक्षित भएको भन्ने रुसी विचारमा थप बल पुग्यो ।

अमेरिकी नागरिकले तेस्रो विश्वयुद्धतर्फको मूर्खतापूर्ण यात्राविरुद्ध अडान लिने समय आएको छ

नेटो कृष्ण सागर, रोमानिया, बुल्गेरियामा व्यापक तथा व्यवस्थित रूपमा विस्तार भइरहेको थियो र युक्रेनलाई हतियार बिक्री गर्न थालेको थियो । यसबाट उत्पन्न असुरक्षाका कारण आफू सन् २०१४ मा क्रिमियालाई विलय गराउन र सन् २०२२ मा युक्रेनमा आक्रमण गर्न बाध्य भएको रुसको दाबी छ ।

सन् २००८ मै तत्कालीन रुसी राष्ट्रपति दिमित्री मेदभेदेवले नेटो विस्तारले रुसमा उब्जाएको सुरक्षा चिन्ताको कुरा उठाएका थिए । ‘मुख्य मुद्दा के हो भने नेटोले उसको सैन्य पूर्वाधार हाम्रो सिमानासम्म ल्याइरहेको छ र युरोपमा नयाँ विभाजन रेखाहरू कोरिरहेको छ । यसपटक त्यो रेखा हाम्रो पश्चिमी र दक्षिणी भागमा कोरिँदै छ । हामीलाई जे आश्वासन दिइए पनि यस कामलाई हामीले रुसविरुद्ध निर्देशित कारबाहीको रूपमा हेर्नु स्वाभाविक हो,’ मेदभेदेवले रुसी चासोलाई संक्षेपमा व्यक्त गर्ने क्रममा भनेका थिए ।

रुसमाथिको नेटोको सुरक्षा खतराबारे बोल्ने मेदभेदेव एक्लै थिएनन् । सोभियतकालमा वासिंटनको सोभियत घेर्ने नीतिका लेखक तथा रुसी विज्ञ जर्ज केनानले ‘नेटोको विस्तार शीतयुद्ध अन्त्यपछिको युगमा अमेरिकी नीतिको सबैभन्दा घातक त्रुटि हुने’ चेतावनी दिएका थिए । ‘यो नयाँ शीतयुद्धको सुरुवात हो । रुसीहरूले बिस्तारै प्रतिकूल प्रतिक्रिया दिनेछन् र यसले उनीहरूको नीतिहरूलाई असर गर्नेछ ।

मेरो विचारमा यो दुःखद गल्ती हो । किनकि अहिले कसैले कसैलाई धम्की दिएको थिएन,’ केनानले भनेका थिए । केनानलाई पछ्याउदै पूर्वसिनेटर, सेवानिवृत्त सैन्य अधिकारी, कूटनीतिज्ञ र शिक्षाविद् सामेल करिब पचास लब्ध–प्रतिष्ठित विदेशनीति विशेषज्ञले तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई खुलापत्र लेखेर नेटो विस्तारको विरोध गरेका थिए । पत्रमा तिनले यस कदमलाई ‘ऐतिहासिकस्तरको नीतिगत त्रुटिको’ रूपमा चित्रित गरेका छन् ।

केनानको भविष्यवाणी सन् २०२२ मा वास्तविकतामा बदलिएपछि युक्रेनमा रुसको आक्रमण निम्त्याउन जिम्मेवार भ्रमित विदेशनीति मानसिकताले अहिले नयाँ रूप लिएको छ । युक्रेनलाई समर्थन गर्नु भनेको लोकतन्त्रको रक्षा र पश्चिममा निरंकुशता र दुष्टताविरुद्ध शान्तिको पक्षपोषण गर्ने ईश्वरीय दायित्व हो भन्ने भाव जागेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले २० वर्षअघिका सद्दाम हुसेनजस्तै दुष्टताको प्रतीक बनेका छन् । त्यसैले रुसको मुक्तिका लागि पुटिनलाई सत्ताबाट हटाउनुपर्ने वा निस्तेज बनाउनुपर्ने बहस सुरु भएको छ ।

यी विचारमा असहमति जनाउनु भनेको लोकतन्त्र बचाउने युद्धविरुद्ध उभिनुबराबर बनाइएको छ । तर, यस युद्धले यथार्थ, लोकतान्त्रिक मूल्य–मान्यता र युद्धको विशाल खर्चलाई बेवास्ता गरिरहेको छ । र, तत्कालीन क्लिन्टन सरकारजस्तै वर्तमान बाइडेन सरकारले पनि मूलधारका मिडिया, नवरुढिवादी, लिबरल हस्तक्षेपवादी र रक्षा प्रतिष्ठानसँग जोडिएका थिंकट्यांकबाट प्रोत्साहित र उत्प्रेरित भएर शान्तिको सम्भावनालाई भन्दा युद्धको गतिलाई बिस्तारै बढाएको छ । यस क्रममा बाइडेनले शान्तिको सम्भावनालाई खारेज गर्दै युक्रेनमा घातक हतियारको मात्रा र गुणस्तर बढाएका छन् ।

एउटा कुरामा भने निश्चित हुन सकिन्छ कि रुसको गुनासाका बाबजुद उसले युक्रेनमा आक्रमण गरेर गम्भीर गल्ती गरेको छ । त्यसमाथि उसले युक्रेनीहरूको देशभक्तिपूर्ण युद्ध लड्ने इच्छालाई कम आकलन गरेर रणनीतिक गल्ती गरेको छ । युक्रेनको कठोर प्रतिरोधमा नेटोको सैन्य समर्थन पाएपछि अहिले रुस क्रिमिया र दोनबासमा अड्किएको छ, जहाँ मस्कोले आफ्नो प्रतिरक्षा खनेर बसेको छ । अब पुटिन वा अन्य कुनै रुसी नेता त्यस क्षेत्रलाई गुमाएर हार स्विकार गर्ने स्थानमा छैनन् । पन्ध्रौँ शताब्दीमा मस्कोले मंगोलहरूलाई पराजित गरी दोनबास कब्जा गरेदेखि यो भेग रुस र त्यसपछि सोभियत संघको गठनका लागि अभिन्न अंग भएको छ ।

क्रिमिया र यसवरपरका पूर्वी–दक्षिणी रुसका क्षेत्रहरू मस्कोको जार साम्राज्यको शक्तिलाई विस्तार, संरक्षण गर्न मात्र होइन, शक्ति प्रदर्शनका लागि महत्वपूर्ण भूमि रहने गरेको छ । प्रारम्भमा, पिटर द ग्रेटले अजोभ र क्रिमियाको समुद्रमा आफ्नो नजर लगाएका थिए । उनले अटोम्यान साम्राज्यको कब्जामा रहेको अजोभ किल्ला हत्याए (जसलाई पहिले अजाक किल्ला भनिन्थ्यो) । त्यस किल्ला अजोभ बन्दरगाह अवलोकन र सुरक्षाका लागि खडा गरिएको थियो । सन् १६९८ सेप्टेम्बरमा उनले अजोभ सागरमा पहिलो रुसी नौसेना आधार ‘ट्यागानरोग’ स्थापना गरेका थिए । पछि क्याथरिन द ग्रेटले पिटरको शाही परियोजनालाई निरन्तरता दिइन् र सन् १७७४ मा क्रिमिया र यसवरपरको भेग कब्जा गरिन् । त्यस ठाउँ कब्जा गरेपछि मस्कोले सेभास्टोपोलमा आफ्नो रणनीतिक नौसैनिक आधार स्थापना गर्‍यो, जुन अहिले पनि रुसको ‘कृष्ण सागर फौज’को मुख्य आधारको रूपमा रहेको छ ।

मस्कोले कृष्ण सागरमा रणनीतिक आधार खडा गरेपछि त्यहाँबाट अशान्त रहेको कोकस क्षेत्रमा आफ्नो शक्ति विस्तार गर्‍यो । मस्कोका लागि इतिहासदेखि वर्तमानसम्म क्रिमिया र दोनवास भूराजनीतिक गुरुत्वका केन्द्र र महान् शक्तिको रूपमा प्रस्तुत मस्कोका प्रतिष्ठा हुन् । पुटिनले यी क्षेत्रका ऐतिहासिक, रणनीतिक र सांस्कृतिक महत्वलाई मात्र जोड दिएका छैनन्, रुसलाई पुनः महान् शक्तिको रूपमा पुनर्गठन गर्ने नेताको रूपमा उनलाई वैधता दिने प्रमाण बनाएका छन् ।

उदाहरणका लागि सन् २०१४ मार्चमा रुसी संसद्मा गरेको सम्बोधनमा पुटिनले जोड दिँदै भनेको कुरालाई ख्याल गर्नुपर्छ । ‘क्रिमियाका हरेक वस्तुले हाम्रो साझा इतिहास र प्रतिष्ठा बोल्छन् । यो प्राचीन खेरसोन्स भएको क्षेत्र हो, जहाँ राजकुमार भ्लादिमिर ‘बाप्टाइज’ भएका थिए । अर्थोडक्सी (क्रिस्चियन धर्मको एक पन्थ)लाई ग्रहण गर्ने उनको आध्यात्मिक सफलताले रुस, युक्रेन र बेलारुसलाई जोड्ने संस्कृति, सभ्यता र मानवीय मूल्यको समग्र आधारको निर्धारक बन्यो ।’

पुटिन भाषणमा थप अगाडि भन्छन्, ‘क्रिमिया एक फरक देशको हिस्सा बनेपछि मात्र रुसले आफू केवल लुटिएको मात्र नभएर डकैतीमा परेको महसुस गर्‍यो…, अहिले धेरै वर्षपछि मैले क्रिमियाका बासिन्दाले सन् १९९१ मा तिनलाई आलुको बोराजस्तै कसैलाई सुम्पिएको गुनासो गर्ने गरेको सुनेँ । यससँग असहमत हुन कठिन छ । त्यो वेला रुसी राज्यले के गर्‍यो ? बस, परिस्थितिलाई नम्रतापूर्वक स्वीकार गर्‍यो । त्यतिवेला देश यति कठिन समयबाट गुज्रिरहेको थियो कि यथार्थमा यो आफ्नो स्वार्थ रक्षा गर्न अक्षम थियो । तर, जनताले यस घृणित ऐतिहासिक अन्यायमा चित्त बुझाउन सकेनन् ।’

पुटिनको यस भाषणले सोभियत संघको विघटनपछि मस्कोले सामना गर्नुपर्ने अपमानलाई इंगित गर्छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा, पुटिनले क्रिमिया रुसको अविभाज्य भाग भएको र यो ठाउँ रुसको सभ्यता र साम्राज्यको रूपमा उदयका आधारशिला हो भन्ने धारणालाई जोड दिएका छन् । मस्कोले क्रिमियालाई पुनः कब्जा लिनु आफूविरुद्ध गरिएको घोर ऐतिहासिक अन्यायलाई सच्याउने कार्य भएको उनको संकेत छ । यस हिसाबले क्रिमिया र दोनबास रुसको रातो घेरा हुन् ।

नेटोलाई सम्बोधन गरेर खुलापत्र लेख्ने लेखकले रुसको इतिहास र हार स्वीकार गर्न नखोज्ने ऐतिहासिक प्रवृत्तिमा पनि ध्यान दिएका छैनन् । रुसीहरूले नेपोलियनसामु घुँडा टेक्नुको सट्टा मस्कोमा आगो लगाउन रुचाए । लालसेनाले दोस्रो विश्वयुद्धको पूर्वी मोर्चामा ठूलो मूल्य चुकाएर इतिहासकै सबैभन्दा ठूलो आक्रमणलाई रोक्यो । त्यस युद्धमा ३०–५० लाख जर्मन सेना र करिब सात लाख जर्मन समर्थक मुलुकका सेनाहरू समावेश थिए । पूर्वी मोर्चामा नाजीले खाएको धक्काले हिटलर शासनलाई चोट पुगेको थियो । मस्कोले नाजी आक्रमण उल्ट्याएपछि पश्चिमी फौजलाई नर्मन्डी अवतरणका लागि मार्ग प्रशस्त भएको थियो ।

उल्लेखनीय कुरा, लेखकले युद्धमैदानमा रुसको हारलाई आन्द्र महासागरको दुई किनारको सुरक्षा, स्थायित्व र समृद्धि कायम गर्नुसँग जोडेका छन् । यस सन्दर्भमा, तिनले युक्रेनलाई आक्रामक र रक्षात्मक हतियार प्रदान गर्न समर्थन गर्नु स्वाभाविक हो । त्यसो गरेर तिनले नेटोलाई रुससँग युद्धमा तान्ने घातक रणनीतिक त्रुटि गर्दै छन् । पत्र त्यो समयमा आएको छ, जब युक्रेनले नयाँ प्रत्याक्रमण सुरु गरेको छ । त्यस्तै यही समयमा बाइडेन प्रशासनले युक्रेनलाई लामो दूरीको मिसाइल (एटिएसिएम) र क्लस्टर हतियार प्रदान गर्ने घोषणा गरेको छ ।

यस कदमले वासिंटनलाई युद्ध कानुन उल्लंघनकर्ता राष्ट्र बनाउनेछ । किनभने क्लस्टर बमको कुनै निसाना हुँदैन । तिनको प्रयोग भएको समयमा र द्वन्द्व समाप्त भएको वर्षौंपछिसम्म पनि नागरिक हताहती गराइरहन्छ । जुन गतिमा अमेरिकाले युक्रेनमा हतियारको स्तर बढाउँदै लगेको छ, अन्ततः उसले युक्रेनमा लडाकु विमान पनि पठाउन सक्छ । आखिर मुख्य उद्देश्य युक्रेनलाई युद्ध मैदानमा विजयी हुन मद्दत गर्ने भएपछि त्यसलाई सघाउने हतियार पठाइने नै भयो ।

तर, नेटोलाई खुलापत्र लेख्ने लेखकले रुसको सम्भावित प्रतिक्रिया विचार गरेका छन् ? पुटिनजस्ता आणविक हतियारको सबैभन्दा भण्डारले सुसज्जति राष्ट्रवादी नेताले उनको शासन जोखिम आउने अवस्थामा घातक प्रतिक्रिया दिनेछैन भन्ने कुनै आधार छैन । यस सन्दर्भमा, पत्रका लेखकले तेस्रो विश्वयुद्ध सुरु भए पनि होस् तर युक्रेनले जित्नुपर्छ भनेजस्तो देखिन्छ ।

त्यस्तो अवस्था आयो भने युरोप र युरेसियाको विनाश हुनेछ । बाहिर लोकतन्त्रको बचाउ भनेर भित्रभित्र कुटिल जोडघटाउ गरी बाइडेन प्रशासनले अमेरिका र धेरै देशलाई जनसांख्यिकीय, राजनीतिक र ऐतिहासिक रूपमा द्वन्द्वग्रस्त देशमा जकडेर विश्वलाई आणविक विनाशतर्फ धकेलिरहेका छन् । आममानिस त्यसमा पनि विशेषतः अमेरिकीहरूले तेस्रो विश्वयुद्धतर्फको यस सामूहिक तर मूर्खतापूर्ण यात्राविरुद्ध अडान लिने समय आएको छ । यस्तो पागलपन रोक्नुपर्छ र पश्चिमी गठबन्धनको ‘शान्तिका लागि हतियार’ भन्ने नारालाई निस्तेज बनाउनुपर्छ ।
                                                                                        नयाँ पत्रिकाको सहयोगमा नेसनल इन्टरेस्टबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation