Pranmancha

Advertisment

SKIP THIS

स्वास्थ्य शिविरमा १ सय ११ जना कैदीबन्दीद्वारा रक्तदान

नेपाल स्वास्थ प्राविधिक संघ (PAN) दाङकाे आयाेजनामा तुलसीपुर कारागारमा बृहत रक्तदान तथा कैदी बन्दीहरुको लागि विशेषज्ञ स्वास्थ परिक्षण तथा परामर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । कुल ५ सय २५ जना कारागार रहेकाे साे रक्तदान कार्यक्रममा १ सयख ११ जनाले रक्तदान गरेकाे र ४ सय ८१ जना कैदीहरुकाे स्वास्थ्य परिक्षण एवं उपचार परामर्श भएको कारागार प्रशासक चीन्तामणी रेग्मीले जानकारी दिएका छन् । कारागार भित्रै निशुल्क भिडियो एक्सरे सहितकाे स्वास्थ्य परिक्षण तथा विसशेषज्ञ डाक्टरकाे उपचारसहित बृहत् रक्तदान भएको याे नै पहिलाेपटक भएको बताउँदै याे पुन्य कार्यका लागि सराेकारवाला सबैलाई रेग्मीले धन्यवाद व्यक्त गरे । साथै यस्ताखाले रचनात्मक कार्यक्रम निरन्तर गरेमा कैदीबन्दीहरुलाई पनि ठुलाे राहत हुने उनले बताए ।

कार्यक्रमकाे प्रमुख अतिथि PAN का केन्द्रीय सचिव ओम प्रकाश न्यौपानेले रहेका थिए । उनले जनताको मौलिक अधिकारको रूपमा रहेको आधारभूत स्वास्थय सेवा राज्यले हरेक नागरिकलाई आफ्नै घरदैलोमा पुर्याउने दायित्व भएको बेला संघले पनि त्यसमा सहकार्य गर्दै पहिलो पटक बृहत साे स्वास्थ्य शिविर संचालन गरिएको बताए । उनले कैदी बन्दी नै स्वस्फूर्त रक्तदान कार्यक्रममा सरिक हुनु अत्यन्तै पुण्य काम भएकोले रक्तदान गर्ने सम्पूर्ण बन्दीहरुलाई धन्यवाद प्रदान गरे ।

अतिथिको रूपमा बोल्दै कारागार प्रशासक चिन्तामणि रेग्मीले कैदी बन्दीहरुले आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्दै दैनिक योगा, व्यायाम, खाना, पानी तथा आफ्नो व्यक्तिगत सरसफाइसँगै कारागारकाे सरसफाईमा विशेष ख्याल गर्नुपर्ने कुरामा जोड दिए । उनले PAN ले कारागारमा सरकारले गर्नुपर्ने काममा हातेमालो गरेकोमा संघलाई धन्यवाद दिए । कार्यक्रममा संघका केन्द्रीय सदस्य विष्णु कुमार गिरी, खड्ग बहादुर चौधरी, विमल केसीले पनि रक्तदान, स्वास्थ शिविर तथा संगठनको बारेमा आफ्नो धारणा राखे ।

उक्त बृहत रक्तदान तथा स्वास्थ्य शिविरमा पान जिल्ला कार्यसमिति दाङका अध्यक्ष दोर्णबहादुर ओलीले कार्यक्रममा सहयोग गर्ने कारागार प्रशासन, सुरक्षाकर्मी , नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र तुलसीपुर, राप्ती लाईफ केयर अस्पतालका रेडियोलोजिस्ट डा. पुस्प रिजाल, डेन्टल सर्जन डा आनन्द ज्योति ओली लगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप विशेषज्ञ सेवासहित स्वास्थय शिविर कार्यक्रम संचालन गरिने प्रतिबद्धता जनाए ।

निशुल्क स्वास्थय परिक्षणमा दन्त चिकित्सक तथा अल्फा डेन्टल क्लिनिकका डा आनंद ओलीले ८६ जनाको दाँत परिक्षण गरि १३ जनाको कुहेको दाँत निकालिदिए भने १ जनामा ओरल क्यान्सरको शंका गरिएकोले थप उपचारको लागि सिफारिस गरिएको छ ।

राप्ती लाईफ केयर अस्पतालका वरिष्ठ रेडियोलोजिस्ट डा. पुस्पराज रिजालले १ सय ५४ जनाको भिडियो एक्सरे गर्दा ११ जनामा पत्थरी, ४१ जनामा फ्याट्टी लिभर, प्रोस्टेटको समस्या ४ जनामा र अन्यमा सामान्य अवस्था भएको पाइएकाे बताए ।

शिविरकै अवसरमा २० जना महिला र ३५ पुरुष गरी ५५ जना मनोसामाजिक समस्या भएका कैदीबन्दीलाई मनोपरामर्श कर्ताद्वारा व्यक्तिगत तथा सामूहिक रूपमा मनोपरामर्श सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य परिक्षण टाेलीका अनुसार कारागारमा रहेकाे ९१ महिलामध्य अधिकांशमा पाठेघरकाे जटिल समस्या रहेकाे छ ।

कारागार भित्रै यसरी चिकित्सक टोली आएर भिडियो एक्सरे, मनोपरामर्श, दाँत सेवा, जनरल स्वास्थय परिक्षण गर्न तथा आफ्ना स्वास्थय समस्या खुलस्त राख्न पाउँदा सम्पूर्ण कैदी बन्दीहरु खुसी देखिए । रक्तदान जस्तो महत्त्वपूर्ण कार्य गर्न पाउँदा कारागार भित्रबाट पनि समाजमा याेगदान गर्न तथा अर्काको ज्यान जोगाउने कार्यमा सहयोग पुर्याउन पाएकाेमा आयाेजकलाई धन्यवाद दिए ।

संघकी जिल्ला उपाधयक्ष तथा केन्द्रीय सदस्य लक्ष्मी ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला सचिव रामेश्वर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation