कुन्द दीक्षित
नयाँ वैज्ञानिक शोधपत्रले व्याख्या गरे अनुसार अन्नपूर्ण ४ हिमाल टुक्रिएर आएको बाढीले बनाएको मैदानमा अहिले पोखरा शहर बसेको छ।
सन् १२५५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले तिब्बती पठार र उत्तरी भारत सहित सिङ्गो हिमालय क्षेत्र हल्लाएको थियो। ऐतिहासिक दस्तावेजहरूले हामीलाई त्यही वर्ष नै त्यो भूकम्प गएको थियो भन्ने थाहा दिएका छन् जसमा तत्कालीन राजा अभय मल्ल सहित काठमाडौंका एकतिहाइ जनताको ज्यान गएको थियो। त्यही नै वेला मध्य नेपालमा भने अन्नपूर्ण ४ हिमालको दक्षिणी पाखो टुक्रिएर तल रहेको हिमनदीमा बजारिएको थियो। त्यसरी खसेको चट्टानको पहिरोले सेतीको खोचलाई थुन्यो र पुरै साब्चे उपत्यकालाई पग्लिंदै गरेको हिउँले ताल बनायो।
सेती नदीमा बगेर आएका भग्नावशेषहरू पोखरा उपत्यकामा थिग्रिएर सम्म भूमि बनाएको हो भन्ने भूगर्भविद्हरू जान्दथे। तर, हालै नेचर जर्नलमा प्रकाशित एक शोधपत्रले उक्त घटना कतिसम्म प्रलयकारी थियो र फेरि दोहोरिन सक्ने बताएको छ।
त्यति वेला भूकम्पले निकै ठूलो चट्टाने पहिरो निम्त्याएको थियो जसले गर्दा अन्नपूर्ण ४ को प्राचीन चुचुरोको ५०० मिटर नै ढालिदियो। अर्थात्, कुनै वेला उक्त हिमाल आठ हजार मिटर उचाइका हिमचुचुरामध्ये पर्थ्यो। अहिले उक्त हिमालको उचाइ सात हजार ५२५ मिटर छ। वैज्ञानिकहरूले त्यति वेला २३ घनकिलोमिटर आयतन बराबरको चट्टान निकै ठूलो ऊर्जाका साथ झन्डै तीन हजार मिटर तल साब्चेमा खसेको आकलन गरेका छन्।
त्यो ठूलो पहिरोबारे वर्णन गरिएको शोध आलेख ‘मिडिभल डिमाइस अफ अ हिमालयन जायन्ट समिट इन्ड्युस्ड बाइ मेगा–ल्यान्डस्लाइड’ का प्रमुख लेखक फ्रान्सको ‘युनिभर्सिटी डे लरेन’ का जेरोम लेभ हुन् जसमा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागका अनन्तप्रसाद गजुरेल सहित अरू सहलेखक छन्। हिमाली पर्वतहरू आफ्नो उपल्लो पाखो र हिमनदीसँगै कसरी क्षय हुन्छन् भन्नेबारेको अध्ययनमा करीब सन् ११९० तिर अन्नपूर्ण ४ मा भएको चट्टाने पहिरोलाई केस स्टडी बनाइएको छ।
‘हाम्रा तथ्याङ्कहरूले अति साह्रो उचाइमा हुने क्षयको कारण ठूला–चट्टाने पहिरो हुन सक्ने सुझाउँछ जसले पर्वतहरूको उचाइ सयौं मिटरले घटाउँछ र अन्ततः हिमाली चुचुराहरूको असमान वृद्धिलाई रोक्छ,’ उक्त शोधपत्रको परिचय खण्डमा लेखिएको छ। तल्लो तहको भूभाग नष्ट भएर मात्र नभई माथिल्लो खण्ड नै भत्किएर पनि चुचुरोहरू क्षय हुन सक्ने देखाएको छ।
८०० वर्षअघि साब्चेमा थुप्रिएको भग्नावशेष चुनढुङ्गाका चुचुराहरूमा परिणत भएका थिए। तीसँगै ‘ग्लेसियर’ ले पखालेको जमीनमुनिको ‘बेडरक’ पनि अहिले देखिन सकिन्छ। वैज्ञानिकहरूले तिनको परीक्षण गरे। उनीहरू ती चट्टान अन्नपूर्ण ४ खसेर तल आएको निष्कर्षमा पुगे।
उक्त शोध आलेखमा लेखकहरूले त्यो विध्वंस हुनुअघिको हिमालको अनुमानित चित्र पनि प्रस्तुत गरेका छन् जसमा पहिरो शुरूमा कहाँ खसेको थियो र त्यसलाई सेती नदीले बगाएर कसरी २०० मिटर गहिरोसम्म थिग्रिएको समतल बनायो भन्ने देखाइएको छ। त्यही समतल सतहमा आजको पोखरा शहर बसेको छ।
नदीले बगाएर ल्याएको भग्नावशेषले छेउछाउबाट बग्ने पानीका धारहरूलाई थुनिदियो जसले गर्दा फेवा, रूपा, बेगनास र अरू ताल बने। यिनै तालहरूले यो उपत्यकालाई अहिले दर्शनीय बनाएका छन्।
नेचर जर्नलमा प्रकाशित उक्त शोध आलेखमा उक्त विध्वंशकारी साब्चे चट्टाने पहिरोले वर्तमान नेपालका लागि निम्न शिक्षा दिएको उल्लेख गरिएको छ, ‘भौगोलिक उद्विकास र प्राकृतिक विपत्तिमा ठूला चट्टाने पहिरोहरूको योगदान छ; मसिनोसँग धूलो बनेको बालुवाले १५० किलोमिटर तलसम्मको उपत्यका भर्न सक्छ र एक शताब्दी र त्योभन्दा बढीसम्म पनि हिमाली नदीमा बालुवा बाक्लो गरी बहन सक्छ।’
पक्कै पनि अन्नपूर्ण ४ को माथिल्लो भाग अहिले पनि कच्चा नै छ जहाँ प्रशस्त चट्टाने पहिरोहरू खसिरहेको देखिन्छ। सन् २०१२ मेमा पहिले पहिरो गएकै ठाउँमा सानो पहिरो खस्दा सेती नदीमा बाढी आयो। उक्त बाढीका कारण पोखरा नजिकैको तल्लो तटीय क्षेत्रमा बस्ने कम्तीमा ७० मानिसको ज्यान गयो।
शोध आलेखका लेखकहरूले ८०० वर्षअघिको त्यो ठूलो चट्टाने पहिरो भूकम्पका कारण गएकोबारे ध्यान नदिए पनि सन् १२२३, १२५५ र त्यसको पाँच वर्षपछि १२६० मा मध्य नेपालमा ठूलाठूला भूकम्प गएको अभिलेख छ। यही अवधिमा नै साब्चे घटना भएको थियो।
उक्त चट्टाने पहिरो भूकम्पकै कारण नगएको भए पनि हिम उपत्यका र हिमालको उपल्लो हिस्सामा भएको क्षयको कारण अत्यन्त भिरालो जमीन थेगिन नसकेकाले चाहिं पक्कै हो। चट्टानहरूलाई जोडिराख्ने जमेको बरफ जलवायु परिवर्तनका कारण पग्लिएकाले अन्नपूर्ण ४ मा सन् २०१२ मा र मकालु–वरुणको साल्दिम चुचुरोमा सन् २०१७ मा विपत्ति आएको अनुमान गरेका छन्। himalkhabar