विपद्को अत्यासलाग्दो परिदृश्य
गृह मन्त्रालयको विपद् पोर्टलका अनुसार यो वर्षको वैशाख यता साउनको शुक्रबार -१९ साउन) सम्म विभिन्न विपद्का घटनामा १२० जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता छन् । यो वर्ष हालसम्म २ हजार २७३ वटा विपद्जन्य घटनाबाट ८८ करोड रुपैयाँ भन्दा धेरैको आर्थिक क्षति भइसकेको तथ्यांक छ ।
त्यस्तै अघिल्लो वर्ष २०७९ मा नेपालमा कुल ४ हजार ५५६ वटा विपद्का घटनामा परेर ४८४ जनाको मृत्यु भयो भने अझै ३७ जना बेपत्ता छन् । गत वर्ष कुल ४ हजार ५५६ वटा विपद्का घटना भएकोमा कुल २ अर्ब ८६ करोड रुपैयाँको आर्थिक क्षति भएको छ । विपद्का कारण २ हजार ७९ वटा पूर्वाधार संरचनामा क्षति पुगेको छ भने करिब ४ हजार पशु चौपाया मरेका छन् ।
त्यस्तै २०७८ मा नेपालमा विपद्मा परेर ५०८ जनाको मृत्यु र ७६ जना बेपत्ता हुनुका साथै २ अर्ब ६१ करोडको आर्थिक क्षति भएको थियो । सो वर्ष विपद्का घटना ३ हजार ९१५ वटा भएको देखिन्छ ।
त्यसैगरी २०७७ सालमा ५९३ जनाले विपद्का कारण ज्यान गुमाएका थिए भने १०२ जना बेपत्ता भएका थिए । विपद्का कारण २ अर्ब २ करोड रुपैयाँको क्षति भएको थियो भने वर्षभरमा विपद्का कुल ४ हजार १५८ वटा घटना भएका थिए ।
त्यस्तै २०७६ मा ४ हजार ७६ वटा विपद्का घटनामा ४०७ जनाको मृत्यु, ४० जना बेपत्ता तथा कुल ४ अर्ब ३५ करोडको आर्थिक क्षति भएको थियो भने २०७५ सालमा ४ हजार ७२२ वटा विपद्का घटनामा परेर ८२० जनाको मृत्यु, १०४ बेपत्ता तथा ४ अर्ब ४१ करोडको क्षति पुगेको देखिन्छ ।
यी सबै तथ्यांकलाई केलाउँदा गत वैशाखअघिको अवधिसम्म गत पाँच वर्षमा विपद्का कुल २१ हजार ३२७ वटा घटनामा परेर २ हजार ८१६ जनाले ज्यान गुमाएको देखिन्छ भने ३५९ जना बेपत्ता भएका छन् ।
त्यस्तै विपद्बाट विगत पाँच वर्षमा १६ अर्ब २५ करोड आर्थिक क्षति भएको तथ्याङ्क समेतलाई हेर्दा नेपालमा विपद्हरूबाट वार्षिक औसतमा ६३० जनाभन्दा धेरै मानवीय क्षति हुने गरेको छ भने वार्षिक आर्थिक क्षति औसतमा ३ अर्ब २५ करोड रुपैयाँ छ । उल्लिखित तथ्यांकहरूले नेपालमा विपद्को सघनता तथा यसको मानवीय, भौतिक तथा आर्थिक क्षतिहरूको भयानकता प्रष्ट पार्दछ ।
किन बढ्दो छ विपद्को जोखिम ?
वास्तवमा मौसमजन्य, भौगर्भिक, जैविक विविधता विनाश तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटासन्न अवस्थामा रहेको नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपद्का दृष्टिले निकै भयावह सावित भएका छन् । हजारौंको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरी जस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेका छन् । जसका कारण ठूलो धन-जन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनु परेको छ देशले ।
जलवायु परिवर्तनको हिसाबले चौथो, भूकम्पीय हिसाबले विश्वको ११औं तथा बाढीपहिरो लगायत प्रकोपका हिसाबले ३०औं जोखिमपूर्ण स्थानमा रहेको भनिएको नेपालमा घटित यावत् घटनाक्रमले हाम्रो प्रकोप जोखिमजन्यको अवस्थालाई प्रष्ट पार्छ ।
पछि उत्पत्ति भएको हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतियन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचना लगायत कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो ।
नेपालमा प्रकोप संकटासन्नताको पक्ष आफैंमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो । जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभाव, पूर्वचेतावनी प्रणाली तथा प्रकोप जोखिमको नक्साङ्कन जस्ता पक्षहरूको अभाव लगायत कारणले विभिन्न खालका प्राकृतिक तथा मानव सिर्जित विपद्हरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ ।
जलवायु परिवर्तन तथा उष्णीकरण, विश्वव्यापी रूपमा बढ्दो जनसंख्यासँगै वातावरण विनाश, प्रदूषण तथा मौसमी प्रतिकूलताका कारण प्राकृतिक प्रकोपका घटनामा वृद्धि भइरहेको मात्र छैन, प्रकोपको दर, सघनता र प्रकारमा समेत विविधता आउँदा यसबाट हुने क्षति बढिरहेको छ ।
पछिल्ला वर्षहरूमा प्राकृतिक प्रकोपको संख्या तथा त्यसबाट हुने क्षतिमा भइरहेको बढोत्तरीले विपद् व्यवस्थापनको विषयले विश्व-मञ्चहरूमा प्राथमिकता पाउने गरेको छ ।
विपद् र गरिबीको दुष्चक्र
एक तथ्यांक अनुसार नेपालमा प्राकृतिक तथा मानवजन्य विपत्तिको फलस्वरूप हुने आर्थिक क्षतिका कारण देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा साढे ४ प्रतिशत सम्मको नोक्सानी हुने गरेको छ । जनसंख्याको अनुपातमा नेपालमा विपदबाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ र दक्षिणएशियाका मुलुकहरूमध्येमा त सबैभन्दा बढी रहेको तथ्यांकले देखाउँछ ।
आर्थिक तथा भौतिक क्षतिका हिसाबले पनि नेपाल अग्रस्थानमै र यो वर्षेनि बढ्ने क्रममा पनि छ । यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैंमा आर्थिक तथा मानव विकासमा ठूलो चुनौती हो । सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपाल जस्तो मुलुकका लागि विपदबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिनु अत्यावश्यक हुन्छ । अन्यथा विपद् विकास प्रक्रियामै ठूलो बाधकको रूपमा खडा हुनसक्छ र मानिसको आय तथा जीवनस्तर सुधार बाटोको तगारो बन्ने निश्चित छ ।
प्रकोपका कारण मौजुदा आर्थिक, वातावरणीय तथा मानवीय स्रोत गुमाइरहनुपर्ने स्थिति आफैंमा दुखद् हो । विपद्को ठूलो आर्थिक, सामाजिक र मानवीय असर हुने तथा यसबाट हुने क्षतिको पुनर्भरण गरीब र विकासशील देशका लागि काबु बाहिरको विषय जस्तै भएको अवस्थामा विपद्हरू गरीब देशका लागि मानवीय संकटको रूपमा देखा पर्दै गएका छन् । विपद् आर्थिक तथा मानव विकासको बाधक बनिरहेको छ ।
विश्वव्यापी रूपमा जलवायु परिवर्तन लगायत कारणले विपद्का घटनामा वृद्धि भइरहनु र त्यसबाट हुने आर्थिक, भौतिक तथा मानवीय क्षतिको दर बढिरहँदा प्राकृतिक तथा मानवजन्य विपद् र त्यसको प्रत्यक्ष असर घटाउने दिगो विकास लक्ष्यको प्राप्तिमा चुनौती खडा गरिरहेको छ । विपदबाट हुने क्षतिले विश्वव्यापी विकास लक्ष्यका अन्य बहुआयामहरूमा समेत असर पारिरहेको छ ।
वास्तवमा विपद् र गरिबी आफैंमा अन्तरसम्बन्धित कुरा हुन् । विपद्का कारण हुने आर्थिक तथा भौतिक क्षतिका कारण गरिबी बढ्ने मात्र होइन गरिबीका कारण समेत विभिन्न खालका विपद् आइलाग्छन् । गरिबीका कारण द्वन्द्व र हिंसा जस्ता मानवजन्य विपत्ति आउने सन्दर्भ त छँदैछ, प्राकृतिक विपत्तिहरूको दर तथा त्यसको क्षतिको परिमाण वृद्धिमा समेत गरिबीले भूमिका खेलेको हुन्छ ।
विपन्न समुदाय जीविकोपार्जनका लागि प्राकृतिक स्रोतमा निर्भर हुन्छन् । प्राकृतिक स्रोतको अत्यधिक दोहनका कारण पहिरो र भूक्षय जस्ता विपद्हरू आइलाग्छ । यसबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदाय नै हुन्छन् ।
प्राकृतिक प्रकोप अर्कोतर्फ खाद्य असुरक्षाको पनि प्रमुख कारण हो । अतिवृष्टि, अनावृष्टि तथा बाढीपहिरो लगायत कारणले कृषि उत्पादनमा ह्रास हुँदा खाद्यान्न असुरक्षा बढ्छ, यस्तो अवस्थामा मुलुकले बढी खाद्यान्नको आयात गर्नुपर्ने बाध्यताले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्दछ ।
विपद्को भयानकता कसरी कम गर्ने ?
प्राकृतिक रूपमै वा मानवजन्य क्रियाकलापको परिणामस्वरूप विकसित हुने घटना जसबाट मानिसको काबु बाहिरको परिस्थिति सिर्जना भई धनजनको क्षति हुने तथा सार्वजनिक पूर्वाधार र जीवनाधार संरचना समेतमा असर पुग्छ, त्यसलाई विपद् भनिन्छ । विपद् स्वभावैले अप्रत्यासित, अकल्पनीय र बहुआयामिक असर पार्ने खालको हुन्छ ।
विज्ञहरूले विपद्लाई चिन्नु भनेको एककिसिमले विपद्लाई रोक्नु हो भनेका छन् । अर्थात् विपद्को बारेमा बुझियो, त्यसको प्रकृति, प्रकोपजन्य सुरक्षा, पूर्वतयारी तथा न्यूनीकरण लगायत विषयमा जानियो भने त्यसबाट आफू बच्न तथा अरूलाई बचाउन समेत सकिन्छ र आर्थिक तथा भौतिक क्षति घटाउन सकिन्छ ।
विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणमा गरिएको लगानीको प्रतिफल उच्च र दीर्घकालीन हुनेमा शंका छैन । विश्वव्यापी रूपमै विभिन्न अध्ययनले के देखाएका छन् भने विपद् पूर्वतयारी तथा प्रकोप चेतनामा जोड दिने हो भने विपदबाट हुने मानवीय क्षति ९० प्रतिशतले घटाउन सकिन्छ । नेपालमा विपद् पूर्वतयारीमा एक रुपैयाँ खर्च गरेमा त्यसले विपद्का कारण हुने १४ रुपैयाँ क्षति रोक्ने एक अध्ययनले देखाएको छ ।
यसको अर्थ के हो भने विपद्को घटनापछि उद्धार, राहत, पुनर्निर्माण, पुनस्र्थापना तथा पुनर्लाभ जस्ता पक्षमा लाग्ने खर्च पूर्वतयारीमा गर्नुपर्ने खर्चभन्दा निकै धेरै हुन्छ । अर्थात् पूर्वतयारी तथा जोखिम न्यूनीकरणमा लगानी गरियो भने विपदबाट हुने ठूलो क्षति रोक्न सकिन्छ ।
नेपालमा विभिन्न प्रकारका प्रकोप वा विपद्का कारण जसरी वर्षेनि जुन मात्रामा प्रत्यक्ष रूपमा आर्थिक क्षति भइरहेको छ जसको कैयन् गुणा ठूलो धनराशि राहत, उद्धार, पुनर्निर्माण, पुनस्र्थापना जस्ता क्रियाकलापमा खर्च भइरहेको छ ।
विपद्को तात्कालिक आर्थिक क्षतिसँगै जुन बहुआयामिक र दीर्घकालीन असर हुन्छ, त्यो राष्ट्रको आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको लागि निकै गम्भीर हुन्छ । वर्षेनि हुने ठूलो आर्थिक तथा भौतिक क्षतिले अन्ततः देशको विकास धेरै पछाडि धकेलिन्छ ।
त्यसैले हाम्रो जस्तो प्रकोप दोहोरिइरहने तर सीमित आर्थिक स्रोत-साधन भएको देशमा प्रकोप न्यूनीकरण र विपद् व्यवस्थापनको पूर्वतयारीमा लगानी गरेर स्रोतको बचत गर्नु र सामुदायिक सशक्तीकरण मार्फत विपद्को दिगो व्यवस्थापन गर्दै क्षति न्यूनीकरण गर्नु अत्यावश्यक भइसकेको छ ।
सर्वसाधारणमै प्रकोपका विषयमा जानकारी, विपद्को जोखिम न्यूनीकरणको उपाय, विपद् आइहालेमा त्यसबाट कमभन्दा कम क्षति पुग्ने अवस्थाको सिर्जना तथा विपद्पछिको अवस्थामा हुने राहत र उद्धारका कामलाई प्रभावकारी बनाउने बारे वस्तुगत ज्ञान तथा सीप प्रदान गर्नुपर्छ ।
समुदायमा आधारित विपद् व्यवस्थापनले मात्र प्राकृतिक तथा मानवजन्य विपत्तिको परिमाण तथा क्षति घटाउन सम्भव हुन्छ । त्यस्तै विपद् पश्चात्को प्रतिकार्य तथा पुनर्लाभका कार्यहरूमा हुने आर्थिक अपचलन तथा भ्रष्टाचारका विषयहरूलाई पनि गम्भीरतापूर्वक निराकरण गर्नु आवश्यक छ ।
वस्तुतः प्राकृतिक विपद्हरू स्वघटित उपक्रमहरू हुनुका नाताले यिनलाई रोक्न नसकिने भए पनि दिगो विपद् व्यवस्थापन मार्फत विपद्बाट हुने क्षति भने घटाउन सकिन्छ । त्यस्तै मानवजन्य प्रकोपहरूको नियन्त्रण चाहिं धेरै हदसम्म मानिसकै हातमा हुन्छ । विकास प्रक्रियामा विपद् व्यवस्थापनको विषयलाई आवद्ध गर्ने, विपद् व्यवस्थापनको विषयलाई गरिबी निवारण र सामुदायिक सशक्तीकरणसँग जोड्ने, वातावरण संरक्षण तथा स्रोतकोे दिगो उपयोग जस्ता विषयमा सर्वसाधारणमा जनचेतना वृद्धि गर्ने र राहत तथा उद्धारमुखी भन्दा पनि प्रकोप सुरक्षा र पूर्वतयारीका विषयमा राज्यका निकायहरू केन्दि्रत हुने हो भने विपदबाट हुने क्षति अवश्य घटाउन सकिन्छ ।
हामी प्राकृतिक प्रकोपको उच्च जोखिममा रहे पनि जोखिमबाट बच्ने र क्षतिलाई न्यूनीकरण गर्ने उपायको बारेमा अनभिज्ञ छौं । त्यसैले प्रकृतिको खेल भनी प्रकोपलाई सहनु हाम्रो बाध्यता बनिरहेको छ । प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने प्रकोपको क्षति न्यूनीकरण गर्न सक्छौं । जनचेतना जगाउने हो भने मानवीय कारणले हुने प्राकृतिक विपत्तिको दर पनि कम गर्न सकिन्छ ।
यसको लागि सम्बन्धित जिम्मेवार निकायहरू विपत्तिपछि राहत बाँड्न दौडिने भन्दा विपद्को जोखिम तथा क्षतिको न्यूनीकरण, विपद् पूर्वतयारी र जनचेतना अभिवृद्धिका साथै विपद् व्यवस्थापनमा सामुदायिक सक्रियता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
(पर्यावरणीय अध्येता अर्याल नेपाल सरकारका शाखा अधिकृत हुन् ।