डुबानपछि टाइफाइड, हैजा, लेप्टोइसपाइरोसिस, भाइरल हेपाटाइटिस (‘ए’ वा ‘इ’ ), इकोलाई, झाडापखाला र ज्वरोका लक्षण देखिने संक्रामक रोगहरु फैलिन सक्छन् ।
विगतका वर्षमा बर्षातको समयमा स्क्रबटाइफस पनि फैलिएको थियो । हाल पूर्वी नेपालबाट फैलिँदै गरेको डेंगुको जोखिम पनि बाढीपछि ह्वात्तै बढेको छ । बाढीको बेला आएको फोहोर पानी पुराना टायर, ड्रम, खाल्डाखुल्डी आदिमा लामो समयसम्म जम्ने हुनाले लामखुट्टेले आफ्नो वृद्धि विकास सहजै गर्न सक्छ ।
यसकारण काठमाडौंमा आगामी केही दिन वा हप्ता पानीजन्य तथा कीटजन्य रोगको जोखिम धेरै हुन्छ । गत बर्ष पनि काठमाडौंमा हैजा फैलिएको थियो भने डेंगुले महामारीको रुप लिएको थियो ।
‘ज्वरो आयो ? टाइफाइड भयो होला !’ यस्तो सम्वाद नेपालीको जनजिब्रोमा विगतदेखि नै झुण्डिएको छ । अर्थात् टाइफाइड नेपालीको लागि परिचित र पुरानो रोग हो । यो बर्ष गर्मी सुरु भएसंगै टाइफाइड पुष्टि हुने क्रम बढ्दो छ । हाल काठमाडौंंमा आएको बाढीका कारण टाइफाइड अझ फैलन सक्छ ।
संक्रमितको दिसाले खानेपानी प्रदूषित हुन गई टाइफाइडको संक्रमण हुने गर्छ । टाइफाइड खानेकुराबाट पनि सर्छ । बजारमा बिक्री गरिने खानेपानीमा दिसामा पाइने कोलिफर्म जिवाणु भेटिएको समाचारहरु आएका छन् । यस्ता पानीबाट यसबाट टाइफाइड, ज्वरो, सलमोनेला टाइफी र पाराटाइफीको समस्या देखिन सक्छ ।
ज्वरो आउनु, टाउको दुख्नु, थकित हुनु, पेट दुख्नु, वाकवाक लाग्नु, कब्जियत वा पातलो दिसा आउनु, कतिपयको शरीरमा बिबिरा देखिनु यसका प्रारम्भिक लक्षण हुन् । कसैलाई खोकी लाग्ने, घाँटी दुख्ने समस्या पनि देखिन सक्छ ।
यस्ता लक्षणहरु बिरामीमा संक्रमण भएको ६ देखि ३० दिनसम्ममा देखिन सक्छ । बिरामी भएको २ देखि ३ हप्ताभित्रमा जटिलता देखिन सक्छ । यस्ता रोगबाट आन्द्रामा प्वाल पर्ने, रक्तश्राब हुनेजस्ता जटिल समस्या पनि देखिन सक्छन्, त्यसैले सुरुवातमा नै उपचार गरी निदान गर्नुपर्छ ।
हैजा काठमाडौंमा गत वर्ष देखिएको थियो भने २०७८ असोजमा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको थियो । हैजाको ब्याक्टेरिया पनि संक्रमितको दिसाबाट पानीमा मिसिएर फैलने गर्छ । यो बर्ष हैजा देखिएको पुष्टि त भएको छैन, तर बर्षायाम नसकिँदासम्म जोखिम भने उत्तिकै छ ।
काठमाडौंमा बाढी आएसंगै खानेपानी प्रदूषित भई हैजाको जोखिम पनि बढेको छ । अचानक चौलानी पानी जस्तो दिसा जानु, बान्ता हुनु, पेट दुख्नु, मांशपेशीका बाँउडिनु हैजाका मुख्य लक्षण हुन् ।
संक्रमण भएको १२ घण्टादेखि ५ दिनसम्ममा बिरामीमा हैजाका लक्षण देखिन्छन् । जटिल खालको हैजाको संक्रमण भएमा समयमा उपचार हुन नसके बिरामीको मृत्युसमेत हुन सक्नेछ ।
लेप्टोइसपाइरोसिस विशेषतः बाढी पहिरो गएको ठाउँमा प्रकोपका रुपमा फैलिने गर्छ । विभिन्न अनुसन्धानहरुले पनि बाढीमा लेप्टोइसपाइरोसिस फैलने सम्भावना उच्च हुने देखाएका छन् ।
जनावरहरु र अझ खासगरि संक्रमित मुसाको पिसाबमार्फत यो रोग मानिसमा सर्ने गर्छ । यसको ब्याक्टेरिया खुला छाला (घाउ), आँखा, नाक, मुख आदिबाट शरीरमा भित्रिने गर्छ ।
उच्च ज्वरो, टाउको दुख्नु, जिउ दुख्नु, बान्ता हुनु, आँखा रातो हुनु, पखाला लाग्नु, बिबिरा आउनु यसको मुख्य लक्षण हो । जटिलता बढ्दै गएमा जन्डिस देखिन सक्छ भने बिरामीको कलेजो, मिर्गौला, स्नायुमा (मेनेन्जाइटिस) समस्या निम्त्याउन सक्छ ।
किटजन्य रोग खासगरी मनसुन सुरु भएसंगै देखिने गर्छ । खुला ठाउँका खाल्डाखुल्डीमा पानी जम्ने, घरमा पनि ड्रम वा बाल्टिनमा लामो समय पानी राख्दा यस्तो पानीमा लामखुट्टेले सहजै आफ्नो वृद्धि र विकास गर्छ । हाल सुनसरीको धरानलाई केन्द्र बनाएर लामखुट्टेले डेंगु भाइरस तिब्र गतिमा फैलाउदै गइरहेको छ ।
लामखुट्टेलाई लार्भा वा प्युपा हुँदैमा नष्ट गर्न सकिएन भने डेंगु रोक्न असम्भव प्रायः हुन्छ । वयस्क भइसकेपछि लामखुट्टे घर घरमा पस्छ, दिउँसोको समयमा मानिसहरु काममा व्यस्त हुँदा लामखुट्टे सक्रिय भइदिन्छ । काठमाडौंमा गत बर्ष डेंगुले महामारीको रुप लिँदा हजारौं संक्रमित भए भने धेरै जनाले ज्यान गुमाए ।
यति हुँदा पनि लामखुट्टेको लार्भा नष्ट गर्नेतिर कसैको ध्यान गएको देखिँदैन । त्यसैले काठमाडौंमा डेंगुले फेरि महामारीको रुप नलिएसम्म लार्भा नष्ट गर्नेतिर जाँगर चलाउने सम्भावना देखिदैन । तर साँच्चै त्यस्तो सोच हो भने हाल डेंगु फैलिहाले गत बर्षजस्तै नियन्त्रण गर्न ढिला हुनेछ ।
काठमाडौंमा बाढी आएसंगै धेरै ठाउँमा लामो समयसम्म पानी जम्मा हुने सम्भावना हुन्छ । यस्तो जमेको पानीमा लामखुट्टेले सहजै आफ्नो वृद्धि विकास गर्न सक्छ । हाल काठमाडौंमा धरानको जस्तो समस्या नदेखिए पनि लामखुट्टे बढ्दो क्रममा देखिन्छ भने डेंगु बिरामी पनि फाट्टफुट्ट देखिन थालेका छन् ।
यस वर्ष काठमाडौंमा डेंगुको गत बर्षको जस्तो महामारी देखिने सम्भावना कम भए पनि कुनै पकेट क्षेत्रमा भने धेरै बिरामी भेटिन सक्ने सम्भावना मनसुनभर रहन्छ ।
कोरोना महामारीका बेला मौसमी संक्रामक रोगहरु खासै सतहमा देखिएनन्, तर हाल कोरोना महामारी नदेखिएका बेला भने संक्रामक रोगहरु फेरि बढेको देखिन्छ । बर्षायाम र अझ विशेषतः बाढीजस्तो प्राकृतिक विपत्तिका बेलामा संक्रामक रोगहरुको जोखिम बढी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका छन् ।
अव्यवस्थित शहरीकरण, ढलको उचित निकासको अभाव, खानेपानीको मुहान तथा वितरण प्रणालीको नियमित अनुगमन नहुँदा असुरक्षित खानेपानी प्रयोग गर्नुपर्ने बाध्यता छ । यो महामारी फैलिने सहज अवस्था हो ।
हाल काठमाडौंलगायत देशभर वर्षात र बाढीको प्रकोप देखिँदा जनधनको सुरक्षासँगै महामारी पनि रोक्ने तयारी गर्न जरुरी छ । किनभने अबको केही दिन वा हप्ता संक्रामक रोग फैलावटको हिसाबले ‘क्रिटिकल’ समय हो ।
(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् । ) (onlinekhabar)