कर्णालीमा उर्लियो बाढी, टिकापुर बजार डुवानको उच्च जोखिममा

कैलालीको टीकापुर-५ टीकापुर उद्यान नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ। नदीले टीकापुर उद्यान सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेपछि बस्ती नै जोखिममा परेको छ।

सो स्थानमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबानमा पर्ने देखिन्छ।

शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्ट लगायतको टोलीले कटान क्षेत्रको अनुगमन गरेको थियो। मुख्यमन्त्री शाहले नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने जानकारी दिए।

नदी बस्तीमा पसेमा हजारौं परिवारको उद्धार गर्नुपर्ने, हजारौं बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ। टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा कुलरिया सिंचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको हो।

सिंचाइ आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिकाको वडा नं ५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर (ठूला ढुंगा)सहितको तटबन्धका लागि गएको चैतमै सम्झौता गरेको थियो। तर, खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि उद्यान क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो।

आयोजनालेे मस्ट्रा विल्डर्स धनगढीलाई पटक-पटक भन्दा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए। “हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौं,” उनले भने, “निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो। साथै ठूला ढुंगा पाउन पनि समस्या भएको छ।”

यस्तै, स्थानीय तहले मनोमानी ढंगले नदी उत्खनन् गरेकाले पनि समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार शनिबारदेखि आगामी तीन दिन धेरै पानी पर्ने सम्भावना रहेकाले पनि कर्णाली नदीको उद्यान क्षेत्र र दौलतपुरमा जोखिम बढेको हो।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू भन्छन्, “नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ। नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ।”

यस्तै, जानकी गाउँपालिका वडा नं ९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक पनि कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिकाका वडा नं १, २, ३, ६ र ७ बाढीको जोखिममा छन्। टीकापुरले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा कुलरिया सिंचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ।

जैविक तटबन्धको प्रयासपछि पनि कटान नियन्त्रण नभएमा उद्धार गर्न पर्याप्त सामग्री नभएकाले टीकापुरले आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग इन्जिनबोट माग गरेको छ। पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्ने लगायतका काम गरिरहेको छ। वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्।

“यसअघि साउन २२ गतेदेखि आएको अविरल वर्षाका कारण टीकापुर नगरपालिका वडा नं ६ र ७ का ३८१ घर बाढीबाट प्रभावित भएका छन्,” उनले भनिन्, “सबै सरोकारवालालाई तयारी अवस्थामा रहन अनुरोध गरका छौं। पालिकामा रहेका जनशक्तिलाई पनि तयारी राखेका छौं।” -रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation