जनता र पार्टीबीच टुटेकाे सम्बन्ध सुधार्न नयाँ संकल्प गरेका छाैँ : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्कमल दाहालले आफ्नो पार्टी सरकारमा गएपछि जनता र पार्टीबीचको सम्बन्ध टाढिँदै गएको बताएका छन्।रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्।

उनले भने, ‘हिजो हामी सामन्तवाद र निरंकुशविरुद्ध बन्दुक बोकेर लडाइँमा थियौँ। त्यसवेला माओवादी र जनताको सम्बन्ध पानी र माछाको जस्तै थियो। अहिले त्यो सम्बन्ध कायम छैन। विगतकाे जस्ताे हाम्राे सम्बन्ध केही अलमलिएकाले फेरि पुरानै बाटोमा ल्याउन नयाँ संकल्प गरेका छौँ।’

 

उनले मुलुकमा स्थायी शान्ति, सुशासन र समृद्धिका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए। देशमा आमूल परिवर्तन ल्याऔँ भनेर सैद्धान्तिक रूपमा भने तापनि व्यवहार र जनताको दैनिकीमा अझै परिवर्तन आउन नसकेको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार लागेको बताए।

आगामी तीन महिनाभित्र नयाँ वातावरण बनाउने र अर्को तीन महिनामा आफ्नो पार्टीलाई जीवन्त रूप दिने बताउँदै उनले आगामी निर्वाचनमा २०६४ को जस्तै परिणाम ल्याउन गाह्रो नहुने दाबी गरे ।

अहिले  सरकार मुलुकमा भएका विकृति, विसंगति, भ्रष्टाचारको अन्त्य गरी सुशासन र विकासका निम्ति गठबन्धन दलबीच हातेमालो भएको बताए। उनले भने, ‘अहिले हामी सुशासन, सामाजिक न्याय र समृद्धिका कुरामा आफूहरू एकढिक्का छौँ। बाहिरी चलाइएका हल्लाका पछि नलाग्न म आमजनतालाई आग्रह गर्छु।’

प्रधानमन्त्री प्रचण्डले सरकारले अहिले ठूला आयोजना निमार्णमा ध्यान केन्द्रित गरेर आफ्नो कार्यकालमा जनताको मन जित्ने किसिमले काम गर्न चाहेको बताए । उनले भने, ‘यसपटक म जसरी भए पनि जनताको मन जित्ने गरी काम गर्छु। मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने गरी काम गर्छु। सरकारले शान्तिप्रक्रियाका बाँकी काम सम्पन्न गर्न दृढ छ।’

उनले दोरम्बा हत्याकाण्ड शान्तिप्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको बताए। सरकार र माओवादीबीच दाङको हापुरेमा शान्तिवार्ता भइरहेको वेला ०६० साउन ३२ गते दोरम्बामा माओवादीका २१ जना नेता–कार्यकर्ताको हत्या गरिएको थियो।

दोरम्बा शैलुङ गाउँपालिकाको डाँडाकटेरीमा आयोजित २०औँ दोरम्बा स्मृति दिवस कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, माओवादीका नेता जनार्दन शर्मा र बागमती प्रदेश सदस्य युवराज चौलागाईंलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation