अर्को वर्षको जुनमा युरोपेली चुनावमा प्रतिस्पर्धा गर्दैगर्दा म थकित भएको छु । र, म थकित युरोपेली राजनीतिमा रुचि नभएर वा हालैका राजनीतिक हारका कारण भएको होइन । मेरै जीवनकालमा युरोपमा लोकतन्त्र अंकुरित हुन सक्छ भनेर कल्पना गर्न नसकेर म थकित भएको छु । युरोपियन युनियनका केही बफादार मैले यसो भनेका कारण क्रुद्ध हुनेछन् । उनीहरूले पक्कै पनि निर्वाचित पदाधिकारीबाट सञ्चालन हुने युरोपियन युनियनलाई कसरी लोकतन्त्रमुक्त क्षेत्र भन्ने धृष्टता गरिस् भनेर प्रश्न गर्ने नै छन् ।
वास्तवमा हरेक असमान समाजमा लोकतन्त्रको आधार भनेकै ती संस्था हुन्, जसले मानवीय सम्बन्धलाई शक्ति–सम्बन्धले निर्देशित गर्न दिँदैन । निरंकुशतालाई रोक्ने हो भने हरेक सार्वभौमसत्ताले कार्यकारीको विशेषाधिकार घटाउनुपर्छ । तर, युरोपियन युनियनका सदस्य राष्ट्रको राजनीतिमा उल्लिखित दुवै विषय देखिँदैन । मुलुकका नागरिकसँग कमसेकम आफ्ना सरकारलाई जवाफदेही बनाउने थोरबहुत हैसियत भने छ । तर, युरोपियन युनियनको तहमा यो पनि असम्भव देखिन्छ ।
जब हाम्रा नेता युरोपियन युनियन परिषद्को बैठकबाट अलोकप्रिय निर्णय गरेर बाहिरिन्छन्, तब यी आफ्नो जिम्मेवारीबाट पन्छिन र परिषद्का अन्य सदस्यमाथि दोष थुपार्छन् र भन्छन्, ‘मैले गर्न सकेको गरेकै हुँ ।’ युरोपियन युनियनका अधिकारी, सल्लाहकार, लबी र युरोपियन केन्द्रीय बैंकका अधिकारी यो बहानाबाजीबारे जानकार छन् ।
यसो हुनुमा युरोपियन युनियनमा लोकतन्त्रको कमीलाई औँल्याउन सकिन्छ । परिषद्का अधिकांश सदस्यद्वारा अस्वीकार गरिएका प्रमुख नीति प्रायः सजिलै स्वीकृत हुन्छन् र परिषद्लाई नै न्यायको कठघरामा राख्ने, जवाफदेही बनाउने वा खारेज गर्ने कुनै प्रणाली छैन । जब परिषद् केही अधुरा सम्झौतामा पुग्छ (उदाहरण स्पेनी र डच प्रधानमन्त्री पेड्रो सान्चेज र मार्क रुटेबीचको युरोपियन युनियनको वित्तीय सम्झौतामा सुधार गर्ने सम्झौता) राष्ट्रिय चुनावले यस्ता सम्झौतामा बिरलै ध्यान दिन्छन् र यी मुद्दा हराउँछन् ।
युरोपले आप्रवासी आवागमन रोक्ने ट्रम्पको पर्खाल अभियानको आलोचना गर्दा युरोपियन युनियन आफैँले ट्रम्पलाई उछिनेर अवरोध निर्माण गरिरहेको छ
युरोपेली आयोग हटाउनमा युरोपेली संसद्को सीमित अधिकार र यो अधिकारको निष्प्रभावितालाई टर्कीको तटीय खतराविरुद्ध ग्रिक नौसेनालाई आणविक बम दिनुसँग तुलना गर्न सकिन्छ । यो अवस्था नयाँ होइन, तर हालैका घटनाक्रमले युरोप र विश्वव्यापी रूपमा युरोपियन युनियन सकारात्मक र प्रभावकारी शक्ति भएको धारणा लगभग मेटिएको छ ।
पहिलो, युरोपलाई लोकतान्त्रिक संघका रूपमा एकीकरण गर्ने उपायका रूपमा रहेको साझा ऋणको हाम्रो आशा चकनाचुर भयो । यद्यपि, जर्मनीले महामारीका कारण युरोपेली ऋणमा सहमति जनायो, राजनीतिक अवस्था युरोपियन युनियनमाथि सन्देह गर्ने दक्षिणपन्थीका लागि अनुकूल थिए । नतिजा, वित्तीय एकतातर्फको कदम रोकियो । दोस्रो युक्रेन युद्धले अमेरिकाबाट स्वतन्त्रताको युरोपेली सपनाको अन्त्य भयो । सन् २०२० मा डोनाल्ड ट्रम्पको पराजयपछि थोरबहुत मत्थर भएजस्तो देखिए पनि अमेरिकाले अझै पनि युरोपियन युनियनलाई नियन्त्रणमा राख्नुपर्ने शत्रुकै रूपमा हेर्छ । युक्रेन–रुस शान्ति सम्झौतामा कैयौँ राय सतहमा आए पनि कूटनीतिक प्रक्रियामा युरोपियन युनियनको महŒव छैन भन्ने स्पष्ट छ ।
तेस्रो, सैद्धान्तिक विश्वबन्धुत्वको युरोपियन युनियनको दाबी पनि विलुप्त भएको छ । युरोपेलीले आप्रवासी आवागमन रोक्ने ट्रम्पको पर्खाल अभियानको आलोचना गर्दा युरोपियन युनियन आफैँले ट्रम्पलाई उछिनेर अवरोध निर्माणमा उत्कृष्ट प्रदर्शन गरेको छ । ग्रिस–टर्की सीमादेखि स्पेनको एन्क्लेभदेखि हंगेरी एवं रोमानियाको पूर्वी सीमा र अन्यत्र यस्ता पर्खाल खडा गरिएका छन् । युरोपियन युनियनले तटरक्षकले गरेका गैरकानुनी व्यवहारबारे एक शब्द बोलेको छैन । युनियनकै सीमा नियन्त्रण निकाय फ्रोन्टेक्स युरोप पस्न खोज्दा भूमध्य सागरमा डुबेर ज्यान गुमाएकाका मृत्युका लागि जिम्मेवार छ ।
२०१९ को युरोपेली चुनावमा उग्र–दक्षिणपन्थले मध्यम प्रदर्शन गरेको थियो र यसले उदार मिडियामा हाइसन्चो ल्याएको थियो । तर, विगतका फासीवादीलाई झैँ नयाँ उग्र–दक्षिणपन्थीलाई चुनावी जितको आवश्यकता पर्दैन । मुलधारको दलले विभेद, अधिनायकवाद र आंशिक अधिनायकवाद अपनाएर पनि यी नयाँ उग्र–दक्षिणपन्थीले आफ्नो प्रभाव बढाउन सक्छन् । हंगेरीका भिक्टर ओर्बानजस्ता निरंकुश नेताले प्रत्यक्ष प्रयासबिनै युरोपियन युनियन र ब्रसेल्समा आफ्नो अराजकतावादी विचारधारालाई प्रवद्र्धन गर्न सक्छन् ।
यहाँ उल्लिखित विचार साझा पहिचानको अभावका कारण युरोपेली लोकतन्त्र अप्राप्य छ भनेर सोच्ने समूह (युरोपियन युनियनमाथि शंका गर्ने) को प्रतिबिम्ब होइन । बरु यी विचार युरोपेलीवादीको निराशाको अभिव्यक्ति हो । र, युरोपियन युनियनले बाटो बिराएको छ । हामीले लोकतन्त्र र नैतिक मुद्दाका साथसाथै युरोपको अर्थतन्त्र पनि द्रुत रूपमा ओरालो लागिरहेको देखिरहेका छौँ ।
युरोपियन युनियनको चुनावप्रतिको मेरो असन्तुष्टिका बाबजुद यसपटक म मेरो पार्टी द युरोपियन रियालिस्टिक डिसओबिडियन्सतर्फबाट ग्रिस र आगामी युरोपेली चुनावमा भाग लिँदै छु । यिनै असन्तुष्टिलाई अभियानका रूपमा प्रचार गर्न म चुनावमा भिड्दै छु । विडम्बना, युरोपियन युनियनको चुनावमा अरूलाई विश्वस्त बनाउनुअघि मैले आफैँलाई विश्वस्त बनाउन आवश्यक छ ।
(भारुफाकिस ग्रिसका पूर्वअर्थमन्त्री एवं अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट (nayapatrika)