थापाकाअनुसार खोप र एउटा मल्हम दिएका थिए । उनले भनिन्, ‘अहिले उपचार चलिरहेको छ । थप अन्य पशुलाई पनि रोग लाग्यो भने सोहीअनुसार खर्च लाग्ला ।’
नुवाकोटको बिदुर–४ की सुनिता कुमालले पनि गाईलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउँदा एक मुष्ट ४ सय रुपैयाँ खर्च गरिन् । ‘धेरै दूध दिने गाई बिरामी परेपछि सो रकम तिरेको हुँ । तर मलाई कुन औषधिको कति रुपैयाँ पर्छ थाहा छैन,’ कुमाल भन्छिन्, ‘दिनको ८ लिटर दूध दिने गाईका लागि ४ सय खर्च गर्नु ठूलो कुरा पनि भएन ।’
पछिल्लो ५ महिनादेखि नेपालमा घरपालुवा चौपायामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । एकाध स्थानीय तह र प्रदेशले अनुदानमा रोगको निदानका लागि काम गरे पनि देशैभरका किसान आफ्नै रकमबाट आफ्नो पशु बचाउन खोप र औषधिमुलो गरिरहेका छन् । तर, उनीहरुले गरेको उपचार साह्रै महँगो भएको उनीहरुलाई पत्तो नै छैन ।
भारतमा अधिकतम् ४ देखि १० रुपैयाँमै लम्पीविरुद्धको खोप उपलब्ध छ । रोग भित्रिन नदिने प्रयास बिफल भएपछि निदानका लागि बेलैमा खोपको उत्पादन सुरु गरेपछि भारतमा यो रोगको खोप सस्तोमै उपलब्ध भएको हो ।
तर, नेपालका कृषि र पशु क्षेत्र विकासमा काम गर्ने भन्ने सरकारी संयन्त्रको अकर्मण्यताले न रोग भित्रिनबाट मुलुक बच्यो न त किसानले सस्तोमा रोग निदानको अवसर पाए ।
पशु सेवा विभागका अनुसार हालसम्म लम्पीविरुद्धको खोप आयातका लागि २० करोड रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ ।
पाँच महिना अवधिमा नेपलले १३ लाख ६९ हजार डोज खोप आयात गरेको पशु सेवा विभागले जनाएको छ । त्यसमध्ये ६ लाख ८६ हजार ४५० डोज खोप पशुमा लगाई सकिएको विभागका सूचना अधिकारी चन्द्र ढकाल बताउँछन् ।
ढकालका अनुसार कम्तीमा १२० रुपैयाँदेखि अधिकतम् १६० रुपैयाँसम्म प्रति डोजमा नेपालमा खोप आयात भइरहेको छ । तर, किसानले सो खोपका लागि भने ५ सय रुपैयाँसम्म प्रति डोज खर्चिनु परेको गुनासो किसानहरुको छ । खोप लगाइसकिएको कुल परिमाणका आधारमा किसानले गरेको खर्च जोड्दा सवा ३४ करोड रुपैयाँ भन्दा धेरै खर्च भइसकेको आंकलन गरिएको छ ।
प्रतिडोज ७ रुपैयाँमै उत्पादन गर्न सकिन्थ्यो खोप
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ३२ साउनमा बोल्दै कृषि मन्त्री बेदुराम भुसालले नेपालले आफैंले लम्पीविरुद्धको खोप उत्पादनका लागि तयारी थालेको दाबी गरे ।
महामारीका कारण ५ महिनामा ५० अर्ब बढीको क्षति व्यहोरेपछि मन्त्री भुसालले उत्पादन थाल्ने बताउन थालेका छन् । तर, कृषि र पशुपन्छी क्षेत्रमा काम गर्ने सरकारी निकाय इमान्दार भएर काम गरिदिएका भए रोग पहचान भएको ३ वर्षमा पहिल्यै नेपालमा यस विरुद्धको खोप बनिसक्ने थियो । किसानका हजारौं गाई भैंसी र गोरुको जीवान बच्थ्यो भने सस्तोमा खोपको उपलब्धता पनि हुन्थ्यो ।
पशु सेवा विभागले तयार गरेको एक प्रतिवेदन अनुसार नेपालले प्रतिडोज ७ रुपैयाँ अधिकतम् मूल्यमै खोप नेपालमा उत्पादन गर्न सकिन्थ्यो । विभागका सूचना अधिकारी डा चन्द्र ढकालका अनुसार अहिले नोलमा जोर्डन, तान्जेनिया र टर्कीमा बनेका हेटोरो लेगास, होमो लिगास, निसिङ स्ट्रोन लगायतका खोप किसानले प्रयोग गरिरहेका छन् । विभागले तयार गरेको प्रतिवेदनअनुसार नेपालले अहिल्यै तयारी थाले ८ महिनामा खोप उत्पादन गर्न सकिने देखिएको छ ।
नेपालको आफ्नै पशु खोप केन्द्रमा खोपको सिड ल्याएर त्यसबाट खोप विकास गर्न सकिने देखिएको उनले बताए । यसका लागि खोप विकास भइसकेका मुलुकबाट सिड खरिद गर्ने, प्राविधिक क्षमतामा वृद्धि गर्ने र सरकारले स्रोतमा लगानी गर्नु पर्ने देखिएको छ । ‘हामीले एक अध्यायन गरेर मन्त्रालयलाई सबै विवरण बुझाएका छौं,’ ढकालले भने, ‘दातृ निकायसहितका विभिन्न निकायसँग सिडका लागि पहल भइरहेको छ ।’
त्यसो त कृषि मन्त्री बेदुराम भुसालले पनि गत महिना आफ्नो भारत भ्रमणका क्रममा भारतीय समकक्षी तथा अन्य सरोकारवाला निकायसँग भएको समन्वयमा स्वदेशमै लम्पी स्किन रोगविरुद्धको खोप उत्पादन गर्न आवश्यक ‘मास्टर सिड भाइरस’ निःशुल्क उपलब्ध गराउन समन्वय भइरहेको दाबी गरेका छन् ।
५४ अर्बभन्दा बढीको क्षति पुग्ने
नयाँ तथ्याङ्कअनुसार देशभर सङ्क्रमित कुल पशु संख्या १३ लाख ५ हजार ३६१ छन् । उपचार पश्चात निको भएको पशु संख्या १० लाख ८२ हजार १५९ छन् भने हाल सक्रिय संक्रमित पशु संख्या एक लाख ७५ हजार ५५३ छ । नेपालमा रोग पहिचान भएको तेस्रो वर्षको पाँचौं महिनामा रोगका कारण किसानहरु पीडित भइरहेका छन् ।
नेपालमा लम्पी स्किनको महामारी हालसम्मकै ठूलो पशु महामारी भएको र यसको क्षति ५४ अर्ब रुपयाँ भन्दा धेरै हुने पूर्वानुमान गरिएको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार हाल एउटा पशु संक्रमित हुँदा ४९ हजार १३५ रुपैयाँ क्षति पुग्ने देखिएको छ । यसमा पशुको मृत्यु, उपचार र यसबाट हुने उत्पादनको क्षति समेत हो । हालसम्म रहेको संक्रमण हेर्दा महामारीका कारण ५४ अर्ब ७ करोड २६ लाख रुपैयाँ भन्दा धेरै क्षति पशुपन्छी क्षेत्रले व्यहोर्ने अनुमान गरिएको परिषद्का निमित्त रजिष्ट्रार डा. मनोजकुमार शाहीले बताए । (onlinekhabar)