धरानमा दिनभर उच्च सतर्कता

निषेधाज्ञासँगै नाकाहरुमा समेत कडाइ गरिएको थियो । धरान प्रवेश गर्ने नाकामै रोकिएपछि हिन्दु अभियन्ताहरु धरान पुग्न पाएनन् । पछिल्लो समय धार्मिक सद्भाव भड्काउन सक्ने विषय सामाजिक सञ्जालमा प्रचार भएपछि हिन्दू अभियन्ताहरुले शनिबार धरानमा प्रदर्शनको तयारी गरेका थिए ।

उक्त प्रदर्शनको प्रतिरोधमा पहिचान पक्षधरले उत्रने तयारी गरेपछि संभावित दुर्घटना रोक्न प्रशासनले निषेधाज्ञासहित नाका प्रवेशमा रोक लगाएको थियो । नाकामा रोक लगाएकाले हिन्दू अभियन्ताको प्रदर्शन इटहरीमै रोकिएको थियो । उनीहरुले इटहरीको तरहरादेखि पानीपियासम्म प्रदर्शन गरे । पानीपियामा प्रदर्शनकारीलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालित थिए ।

प्रहरीले झापा र मोरङबाट धरानतर्फ हिँडेका अभियन्ताहरुलाई पनि बाटोमै रोकेको थियो । ‘प्रहरीले उच्च सतर्कता अपनाएका कारण निषेधित क्षेत्रमा कुनै उश्रृङ्खल गतिविधि भएन, धरान शान्त रह्यो’, सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले भने, ‘इटहरीको तरहरादेखि पानीपिया क्षेत्रमा दुई हजार जति हिन्दु अभियन्ताले प्रदर्शन गरे ।’

शनिबारको सम्भावित दुर्घटना रोक्न धरानका नागरिक समाज, १३ राजनीतिक दल, जनप्रतिनिधि र पूर्वजनप्रतिनिधिहरुले अपिल गरेका थिए । नागरिक समाजका अगुवाहरुले दुवैतर्फका अभियन्तालाई समेत प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

‘जगतगुरु बालसन्तलाई भेटेर हामीले धरानमा सद्भाव भड्कन नदिन सद्भाव र्‍यालीलाई सार्न आग्रह गर्‍यौं’, धरानका पूर्वमेयर तिलक राईले भने, ‘हाम्रो आग्रह उहाँहरुले मान्नुभयो, इटहरीमा शान्तिपूर्ण प्रदर्शन गर्नुभयो ।’ तर निषेधाज्ञा र प्रवेशमा कडाइ गरेर शनिबार धरान शान्त रहेपनि अझै ढुक्क हुने अवस्था देखिएको छैन ।

 

‘धरान शान्त छ, बाहिर बाहिर हल्ला बढी भयो, सामाजिक सञ्जालको कारणले गर्दा अस्थीर जस्तो देखियो’, पूर्व मेयर राई भन्छन् ।

धरानका स्थानीय पनि सामाजिक सद्भाव कायम राख्नुपर्ने पक्षमा छन् । ‘धरानमा सबै मिलेर बसेका छन्, यस्तो झगडा गर्नुहुन्न, झगडाले कसैको भलो गर्दैन’, स्थानीय बमबहादुर विश्वकर्मा भन्छन् ।

धरान–५ का बासिन्दा मनकुमार मयुङ्ग अहिले धरानलाई शान्ति र सद्भाव चाहिएको बताउँछन् । ‘हामी मिलेरै बसेका छौं, वैदेशिक रोजगारीको भरमा चलेको देशमा द्वन्द्व भयो भने कसरी बाँच्ने ?’ उनी भन्छन् ।  (onlonekhabar)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 Pranmancha All right reserved Site By : Himal Creation