प्यूठानमा सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा नं-७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घर नजिकैको कुलोबाट मोटर लगाएर करेसाबारीमा सिंचाई गर्ने क्रममा करेन्ट लागेको प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिए । प्रहरीका अनुसार केसीलाई मोटर जडान गर्ने क्रममा दिउँसो २ बजे करेन्ट लागेको थियो । निजकाे उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा दिउँसो ३ बजे मृत्यु भएको हाे ।