अट्याकिङ खेल्दै लाओसलाई हराउने नेपालको लक्ष्य

३० असोज, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रारम्भिक छनोट अन्तर्गत दोस्रो लेगको खेलमा नेपालले आज लाओससँग खेल्दैछ । खेल लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।

बिहीबार काठमाडौंमा भएको पहिलो लेगको खेलमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको थियो । दोस्रो चरणमा पुग्नका लागि नेपालले दोस्रो लेगमा लाओसलाई हराउनैपर्ने हुन्छ ।

दोस्रो लेगको खेलमा विजयी हुने टिम विश्वकप एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ, जहाँ कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ४–४ टोली रहने गरी ९ समूहमा विभाजन गरिनेछ । त्यसैले यो खेल नेपाली फुटबलको भविष्यका लागि निकै महत्वपूर्ण छ ।

नेपाल र लाओसबीचको विजेता दोस्रो चरणमा युएई र बहराइन रहेको समूह ‘एच’मा पर्नेछ । यस्तै यमन र श्रीलंकाबीचको पहिलो चरणको विजेता पनि यही समूहमा रहनेछ ।

दोस्रो चरणमा पुग्नका लागि अट्याकिङ फुटबल खेल्ने र जसरी पनि जित निकाल्ने नेपालको रणनीति छ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिनचेन्जो अल्बर्टो एनेसले लाओस विरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् ।

‘यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ र यो गाह्रो हुनेछ तर हामी भिडन्तका लागि तयार छौं । हामी आक्रामक अट्याकिङ फुटबल खेल्नेछौं,’ एनेसले सोमबार प्रिम्याच कन्फ्रेन्समा भनेका छन्, ‘लाओसले काउन्टर अट्याकिङ गर्ने फुटबल खेल्छ, म तिनीहरूलाई सम्मान गर्छु, तर हामीले सकारात्मक दृष्टिकोण राख्नुपर्छ ।’

 

प्रशिक्षक एनेसले यो खेल आफ्नो र नेपालका लागि महत्वपूर्ण रहेको भन्दै राम्रो तयारी पनि गरेको बताए । ‘हामीले निकै राम्रो तयारी गरेका छौं । हामीले आफैंमा ध्यान केन्द्रित गर्न आवश्यक छ । यो खेल नेपाल र मेरो लागि पनि निकै महत्वपूर्ण छ,’ उनले भने ।

पहिलो खेलमा लाओसले धेरै समय खेर फालेको र रेफ्रीको निर्णय पनि आफ्नो पक्षमा नआएको भन्दै यस विषयमा म्याच कमिशनरमा पनि कुरा उठाएको एनेसले बताए ।

उनले पहिलो खेलमा बराबरी खेले पनि नतिजाबाट निराश रहेको र दोस्रो खेल जित्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । यस्तै त्यसका लागि मिडफिल्डमा सुधार गर्नुपर्ने उनको भनाइ थियो ।

पहिलो खेलमा लाओसले सुरुवाती अग्रता लिएको थियो र अन्जन विष्टको कीर्तिमानी गोलमा नेपालले पुनरागमन गर्दै बराबरी गरेको थियो ।

राम्रो नतिजा दिने लक्ष्य

यस्तै नेपाली टिमका कप्तान किरण कुमार लिम्बुले पहिलो खेल निराशाजनक रहेको भन्दै दोस्रो खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् । ‘यो  निकै महत्वपूर्ण खेल, हामी सुन्दर फुटबल खेल्न चाहन्छौं । पछिल्लो खेल निकै निराशाजनक रह्यो । हामीले राम्रो तयारी गरेका छौं र अगाडि बढ्नको लागि जित हासिल गर्ने लक्ष्य राखेका छौं ।’

किरणले पहिलो खेलमा गरेको गल्तीलाई नदोहोर्याउने गरी काम गरेको र दोस्रो खेलका लागि टिम सकारात्मक रहेको बताए । ‘टोलीको मुड राम्रो छ र खेलाडीहरु राम्रो गर्न उत्प्रेरित छन् । हामी नेपालमा दशैं पर्व मनाउन लागिरहेका समर्थकहरुका लागि राम्रो नतिजा दिन चाहन्छौं,’ उनले भने ।

लाओसका प्रशिक्षक कन्लाया सिसोमभाङले पहिलो खेलबाट धेरै कुरा सिकेको र अर्को कठिन खेलको पर्खाइमा रहेको बताएका छन् । ‘अघिल्लो खेलबाट हामीले धेरै कुरा सिक्यौं । त्यसको विश्लेषण र अध्ययन गरेका छौं । हामी कठिन खेलका लागि पर्खिरहेका छौं । त्यसमा अझ राम्रो गर्ने प्रयास गर्नेछौं,’ उनले भने । प्रशिक्षक सिसोमभाङले एक खेलाडी घाइते भएपनि टिम गेम भएकाले टिममा २३ खेलाडी रहेको सधैं टिम अगाडि बढ्ने बताए ।

यस्तै लाओसका कप्तान काएडाभोन सौभानीले नेपालविरुद्ध शतप्रतिशत दिएर खेल्ने र सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेको बताएका छन् । लाओसका प्रशिक्षक र कप्तानले नेपाल विरुद्धको खेलमा आफ्ना समर्थकलाई स्टेडियममा उपस्थित भएर साथ दिन पनि आग्रह गरेका छन् ।

प्रशिक्षक एनेस दबाबमा

यस पटक फिफाले अवे गोलको नियम हटाएकाले लाओसलाई अवे गोलको फाइदा हुने छैन । त्यसैले नेपाल र लाओसबीच दोस्रो लेग पनि बराबरीमा सकिए ३० मिनेटको अतिरिक्त समयको खेल हुनेछ र त्यसमा पनि नतिजा नआएमा पेनाल्टी सुटआउटबाट विजेताको टुंगो लगाइनेछ ।

पहिलो खेलमा सोचे अनुसारको नतिजा ल्याउन नसकेपछि प्रशिक्षक एनेस पनि दोस्रो खेलमा दबाबमा हुनेछन् । युवा खेलाडीहरु रहेको नेपाली टिमको सही कम्बिनेसन मिलाउन उनलाई अझै कठिन भइरहेको छ ।

फरवार्ड आशिष चौधरीलाई उनले लेफ्ट ब्याकको रुपमा प्रयोग गरे पनि त्यसले सही काम गरेको छैन । यस्तै मिडफिल्डमा बल होल्ड नहुनु र सटिक पास नहुनु पहिलो नेपालको समस्याको रुपमा रहेको थियो । त्यसैले दोस्रो खेलमा यो क्षेत्रमा नेपालले काम गर्नुपर्ने देखिन्छ । (onlinekhabar)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation