कुशल र दीपेन्द्रको साझेदारीमा बन्यो विश्व कीर्तिमान

काठमाडौँ। टी—२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विश्व कीर्तिमानी ब्याट्सम्यान बनेका छन् ।  त्रिकोणात्मक टी—२० शृंखलाअन्तर्गत शनिबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा यी दुई नेपाली ब्याट्सम्यानले विश्व कीर्तिमान बनाएका हुन् ।

शनिबार खेलिएको हङकङविरुद्धको खेलमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौँ विकेटका लागि न्युजिल्यान्डमा मार्क च्याम्पम्यान र जेम्स निसामले एक सय २१ रनको साझेदारी गरेका थिए ।

सन् २०२३ को अप्रिल २४ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलमा मार्क र जेम्सले पाँचौँ विकेटका लागि अविजित एक सय २१ रनको साझेदारी गरेका थिए । त्यो खेलमा र्माकले अविजित एक सय चार र जेम्सले अविजित ४५ रन बनाएका थिए ।

हङकङविरुद्धको खेलमा भने कुशल र दीपेन्द्रले पाँचौँ विकेटका लागि एक सय एक सय ४५ रनको साझेदारी गरे । नेपालका लागि कुशल मल्लले ९२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ४१ बलको सामना गरी नौ छक्का र तीन चौका हिर्काए ।

कुशलले अर्धसतक बनाएलगत्तै नेपालका अर्का अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले पनि अर्धसतक पुरा गरेका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले पेभेलियन फर्किनुअघि टोलीका लागि ५७ रनको योगदान गरे । उनले ३४ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काएका थिए ।

नेपालले केवल ५५ रनको कुल स्कोरमा नेपालले चौथो विकेट गुमाएको थियो । त्यसपछि कुशल र दीपेन्द्रले नै नेपालको पाली समालेका थिए । उनीहरुले एक सय ४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । नेपालले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याउँदै अहिले हङकङ जवाफी ब्याटिङ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation