उद्धार र राहतका लागि सेनाका ३ हेलिकप्टर र निगमको जहाज भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौँ — उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन् ।

स्वकीय सचिव रमेश मल्लका अनुसार औषधि, स्वास्थ्यकर्मी र राहत सामग्री लिएर सेनाको स्काई ट्रक, स्वास्थ्यकर्मी लिएर अर्को हेलिकप्टर जाजरकोट र रुकुम पश्चिम प्रभावित क्षेत्रमा उडिसकेको बताए । त्यस्तै स्वास्थ्य र सामग्रीसहित नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज चौरहजहारी विमानस्थलतर्फ उड्ने तयारी गरेको छ ।

‘हामी विमानस्थलमा बसेर उद्धार, उपचार र राहतको संयोजन गरिरहेका छौँ । स्वास्थ्यकर्मी, औषधि, राहत सामग्री लिएर तीन हेलिकप्टर गइसकेका छन् । जहाज जाने तयारीमा छ,’ उनले भने, ‘प्रधानमन्त्री, मन्त्री र सांसद प्रभावित क्षेत्रमा पुग्दै हुनुहुन्छ । प्रधानमन्त्रीले आवश्यक सबै काम गर्न निर्देशन दिनुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगेका छन् ।

त्यस्तै कर्णाली प्रदेश सरकारले सुर्खेतबाट स्वास्थ्यकर्मी र औषधि बोकेर एक हेलिकप्टर पठाएको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए । ‘कर्णाली सरकारले उद्धार, उपचार र राहतमा हवाई र स्थलतरुपमा निरन्तर काम गर्न सुरु गरेको छ,’ उनले भने । त्यस्तै सरकारले घाइतको उपचारका लागि चौरजहारी अस्पताल र विमानस्थललाई फोकल स्थल बनाई काम गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation