भूकम्प पीडितको घाउमा मलहम लगाउने मित्रराष्ट्रको प्रतिबद्धता

काठमाडौँ — जाजरकोटलगायत जिल्लामा शुक्रबार राति गएको विनाशकारी भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि शनिबारसम्म विभिन्न निकायले ८ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रादेशिक सरकार, राजनीतिक दल, गैरआवासीय नेपाली संघलगायत विभिन्न निजी संघसंस्थाले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमार्फत भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका लागि उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । भूकम्पले जाजरकोट, पश्चिम रुकुम, पूर्वी रुकुमलगायत जिल्लामा जनधनको ठूलो क्षति पुगेको छ । 

कोशी, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमार्फत राहत र पुनर्निर्माणका लागि नगद सहयोग गर्ने घोषणा गरेका छन् । लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप कर्णाली प्रदेश सरकारलाई १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । दाङको तुलसीपुरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको लुम्बिनी प्रदेश सरकारको आकस्मिक बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

वाग्मती प्रदेश सरकारले भूकम्प पीडितलाई राहतस्वरूप एक करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । राहत, उद्धार र पुनर्निर्माणका लागि वाग्मतीले कर्णाली सरकारमार्फत सहयोग गर्ने भएको हो । आपत्कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पनि भूकम्पपीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले जनाए ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । निजी क्षेत्रको बुद्ध एयरले पनि एक करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । उसले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमार्फत राहत र पुनर्निर्माणका लागि उक्त रकम दिने भएको हो । पीडितको उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि तयार रहेको एयरलाइन्सले जनाएको छ । भूकम्प पीडितका लागि कांग्रेसले ५० लाख सरकारी कोषमा उक्त रकम उपलब्ध गराइने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।

एनसेल आजियाटा लिमिटेडले पनि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ दिने भएको छ । ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पुर्‍याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व) मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बराबरका सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय पनि गरेको कम्पनीले जनाएको छ ।

यस्तै, सांसद तथा उद्यमी विनोद चौधरीले चौधरी फाउन्डेसनको टिम जाजरकोट पुगेर खाद्यान्न वितरण सुरु गरेको बताएका छन् । पोखरा महानगरपालिकाले ५० लाख बराबरको सहायता घोषणा गरेको छ । प्रभावित क्षेत्रमा मानवीय सहायताका लागि महानगरका प्रमुख धनराज आचार्यले यस्तो घोषणा गरेका हुन् ।

यसैबीच पीडितको उद्धारका लागि सिटिजन्स बैंक इन्टरनेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ भने गैरआवासीय नेपाली संघले तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । त्यस्तै भाटभटेनी सुपरमार्केटले १ करोड ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने जनाएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल १० लाख उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामग्री लिएर प्रभावित स्थानमा जाने निर्णय गरेको हो । एनआरएनएको आरके शर्मा समूहले पनि भूकम्पपीडितका २१ लाख रुपैयाँ सहयोग गर्ने र १० करोडको राहत कोष बनाउने घोषणा गरेको छ ।

यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोगका लागि भारत तयार रहेको जनाएका छन् । मोदीले भनेका छन्, ‘भारत नेपालसँग ऐक्यबद्धता जनाउँदै हरसम्भव सहयोगका लागि तयार छ ।’

चीन सरकारले कर्णालीका भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । उक्त सहयोग चीन–साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाइज रिजर्भद्वारा नेपालका भूकम्प पीडितलाई गर्न लागिएको नेपालका लागि चीनका राजदूत छन सोङले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका हुन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिलाई लिएर दुःख व्यक्त गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले नेपालको साथमा रहेको उल्लेख गरेका छन् । (कान्तिपुर )

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation