भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक रोग फैलिन सक्ने सम्भावना बढी

सरकारले भूकम्पमा घाइतेहरूको उपचार निःशुल्क उपचार गर्ने घोषणा गर्नुका साथै राजधानीका ठुला संघीय अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । हाल राहत, उद्धारसँगै र  प्रभावित क्षेत्रमा घाइतेको आकस्मिक उपचारमा सरकारी तथा अन्य संघसंस्थाका तर्फबाट मेडिकल टिम सक्रिय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आकस्मिक उपचारपछि सरकार भूकम्पजस्ता प्राकृतिक विपत्ति आउँदा सम्बन्धित निकायले ध्यान दिन नसक्दा सङ्क्रामक रोगका कारण प्रकोप फैलिन सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् । भूकम्प प्रभावित क्षेत्रका बासिन्दा घरबाहिर खाली स्थानमा सामूहिक रूपमा बस्न बाध्य छन् । आकस्मिक उपचार उद्धारपछि  विगतका देशमा आएका प्राकृतिक प्रकोप आएको एक साता पछिबाट सङ्क्रामक रोगहरूले सताउने गरेको उदाहरण पाइन्छ ।

प्रभावित क्षेत्रमा खाना, पानी, किटजन्य रोग, हावाबाट सर्ने सङ्क्रमणजन्य रोगले सताउन सक्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन सुनाउँछन् । जाजरकोट, रुकुममा यसअघि देखिएका सङ्क्रामक रोगको प्रकोप, भूकम्पपछि आउने सक्ने स्वास्थ्यका जोखिमबारे अव पूर्व तयारीको आवश्यकता रहेको उनको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा सङ्क्रामक सरुवा रोग फैलिने सम्भावना उच्च रहेकाले सरुवा रोगसम्बन्धी स्वास्थ्य संयन्त्र बनाइ काम गर्नु पर्नेमा उनको जोड छ ।

प्रभावित क्षेत्रमा यी रोगले सताउन सक्छ 

भूकम्प प्रभावित क्षेत्रमा आकस्मिक उपचार र गाँस, बास, कपासको तत्काल आवश्यक पर्छ । त्यस समयमा घरबाहिर धेरै मानिस सामूहिक बस्नुपर्ने बाध्यतामा पर्छन् । सामूहिक रूपमा बस्दा शुद्ध पानी र खानेकुरामा शुद्धता भएन भने हैजा, झाडापखाला, फूड पोइजनिङ र किटजन्य रोगले समस्या उत्पन्न हुन सक्ने सरुवा रोग विषेशज्ञ डा पुनले सुनाए ।

यस अवस्थामा सामूहिक रूपमा बाहिर बस्दा बाहिरै शौच गर्नुपर्ने बाध्यता हुन्छ । त्यस्तो अवस्थामा एकजना व्यक्तिलाई हैजा लागेको खण्डमा अन्यमा चाँडै फैलिने सम्भावना हुने उनले बताए । उनले भने, ‘जाजरकोटमा अघिपछि पनि बेला बेलामा हैजा, पखालाको प्रकोप फैलिएको समाचार आउने गरेको छ । अहिले बाध्यतावश धेरै जना घर बाहिर बस्न बाध्य हुनुहुन्छ । यस समयमा ख्याल नगरेमा सङ्क्रामक रोगले नसताउला भन्न सकिन्न ।’

अन्य किटजन्य रोग 

नेपालमा २०७२ सालको भूकम्पपछि स्क्रबटाइफस देखिएको विभिन्न अध्ययनहरूले देखाएको छ । सामूहिक रूपमा खुल्ला स्थानमा बस्दा स्क्रबटाइफस रोगको सङ्क्रमणको जोखिम रहन्छ ।  बाहिर बस्दा माइट भन्ने किराले टोक्ने सम्भावना बढी हुने भएकाले मानिस बिरामी पर्न सक्ने डा पुनले बताए ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७६ जिल्लामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम लगायतका स्थानमा डेंगुको सङ्क्रमण न्यून वा हाल शून्य अवस्थामा पुगे पनि राजधानीदेखि प्रभावित क्षेत्रमा मानिसहरू धमाधम जिल्ला गइरहेकाले सङ्क्रमणको अर्को खतरा हुन सक्ने डा पुनको भनाई छ ।

हावाजन्य रोग 

यस याममा मौसमी फ्लूको सङ्क्रमण देखिएको छ । अर्थात् रुघाखोकी लक्षण भएका बिरामी धमाधम पुष्टि भइरहेका छन् । फ्लू भाइरलले विगतमा जाजरकोटमा प्रकोपको रूप लिएको थियो ।

भूकम्प प्रभावित क्षेत्रमा मास्कबिना आतव जावत गर्नेको सङ्ख्या ठूलो भएकाले हावाबाट फ्लू फैलिने सम्भावना रहेको डा पुनको जिकिर छ । मौसमी फ्लू मुखको छिटा, सिँगान, कफ र सरसफाईको अभावमा सङ्क्रमण हुने सम्भावना हुन्छ ।

यस विषम परिस्थितिमा आकस्मिक उपचार, गाँस, बास र कपासलाई जसरी महत्वका साथ लिएका छौँ, सोहीअनुसार स्वास्थ्य तथा सरसफाइलाई पनि प्राथमिकतामा पार्नुको विकल्प नभएको डा पुनको सुझाव छ । भूकम्पको सुरुवाती समयमा आकस्मिक उपचार भएपनि भूकम्पपछि फैलिन सक्ने रोगको प्रकोपलाई ध्यान राख्न उनको जोड छ ।

कसैमा पखाला, ज्वरो लगायतका समस्या देखिएमा आइसोलेट गरी उपचारको व्यवस्था गरेर प्रभावित क्षेत्रमा तत्काल फैलिन नदिने संयन्त्र बनाइ अघि बढेमा सङ्क्रामक रोग फैलिनबाट जोगिन सकिने उनको भनाइ छ ।

यस समयमा जुनसुकै सरुवा रोग देखिएपनि प्रकोप भएको क्षेत्रमा एक्सनमा जानुपर्ने उनको भनाइ छ । ‘भूकम्पले भन्दा सङ्क्रामक रोगले बढीको ज्यान नजाओस्,’ उनले भने ।  ( रातोपाटी )

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation