रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएका २८ परिवारले पाए राहत

आइतवार र सोमवार गरेर नगरपालिकाका २८ मृतक परिवारलाई किरिया खर्चसँगै राहत सामग्री दिइएको हो। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार म्याग्निच्युटको  भूकम्प गएको थियो। सोही भूकम्पमा परेर वडा – ९, १०, ११, १२, १३, र १४ का २८ परिवारले आफन्त गुमाएका थिए।

आफन्त गुमाएका सबै परिवारलाई दुई दिन लगाएर राहतसँगै किरीया खर्च दिइएको छ। प्रत्येक मृतक परिवालाई २५ हजारका दरले किरीया खर्च दिइएको आठबीसकोट नगरपालिकाका उपप्रमुख  धनकुमारी शाहीले जानकारी दिइन्।

उनका अनुसार घरवारविहीन भएका परिवारलाई पनि आवश्यक पर्ने खाद्यान्नलगायत अन्य सामग्रीको प्याकेज बनाएर राहत सामग्री वितरण गर्ने काम जारी छ। नगरपालिकामा उपलब्ध भएको खाद्यान्नलगायत अन्य राहत प्रभावित क्षेत्रमा लगेर वितरण गरिरहेको उपप्रमख शाहीले जानकारी दिइन्।

भूकम्पका कारण आठबीसकोटमा ४२ र जाजरकोटमा दुई गरी ४४ जनाको मृत्यु भएकामा चार जना भने जिल्ला बाहिरका रहेको नगरपलिका जिन्सी शाखाप्रमुख टेकबहादुर चन्दले जानकारी दिए।

त्यस्तै सानीभेरी गाउँपालिकामा पनि भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई गाउँपालिकाले राहतसँगै २५ हजार किरीया खर्च उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता पहलसिङ घर्तीले बताए।

त्यहाँ १२ जनाको मृत्यु भएको थियो। गत शुक्रबार आएको भूकम्पले जाजरकोटसहित रुकुम पश्चिममा मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation