जनयुद्धलाई जति दबाइए पनि चिहानबाट फेरि उठ्छ : प्रधानमन्त्री प्रचण्ड

बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक-पटक उठिराख्ने बताए। उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने दावी गरे। उनले हजारौँ मान्छेले बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताए।

प्रधानमन्त्री दाहालले उनले आफूले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेर कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए। आधुनिक नेपाल निर्माणमा भूमिका खेलेको भन्दै प्रचण्डले पृथ्वीनारायण शाहको भूमिकालाई सम्मान गर्नु कर्तव्य भएको बताए।

उनले भने, ‘मैले योपटक प्रधानमन्त्री भएपछि पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गराएँ। मानिसहरूलाई त के गर्‍यो प्रचण्डले भन्ने पनि लाग्छ। आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोसेढुंगाको भूमिका खेल्यो। हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेँ। अरू प्रधानमन्त्रीले सकेका थिएनन्। मैले आँट गरे। मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहिँ अहिले निकै ठूलो टीका टिप्पणी हुने गरेको छ। पृथ्वीनारायण शाहको कामपछिको ठूलो कर्म नेपाली जनताले अगाडि ल्याएको त्यहीँ नै हो। त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक-पटक त्यो उठिराख्छ। त्यो चिहानबाट फेरि उठ्छ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठूलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको उल्लेख गरे।

उनले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समय क्रममा यसको आधिकारिक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गरे। उनले अहिले जनयुद्धलाई विद्रूपीकरण गरेर निरंकुशतालाई अगाडि ल्याउने जमर्को भइरहेको बताए।

उनले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रम सीधा सीधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताए। उनले पुस्तकमा लेखिएको कतिपय घटनाक्रम गलत व्याख्या भएमा लेखकको इमान्दारीमाथि अन्याय हुने बताए। उनले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारी र निष्ठाको रूपमा बुझ्नुपर्ने बताए।

प्रचण्डले भने, ‘उहाँले किताबमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नुभयो। कतिपय घटनाक्रम जसरी उहाँले भन्नुभएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ। यो उहाँको इमान्दारी र सरलताको प्रतीक हो। यसलाई कुनै पनि अर्थमा आग्रह र पूर्वाग्रहले हेरिनु हुँदैन। त्यो हेरियो भने अन्याय हुन्छ। सत्यमाथि अन्याय हुन्छ।’

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावबारे उल्लेख गरिएको बताए। उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै उक्त समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताए। त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाबारे पनि पुस्तकमा उल्लेख गरिएको उनको भनाइ छ।

उनले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरूसँगको आफ्नो सम्बन्ध र राजनीतिक भूमिकाको पुस्तकमा चर्चा गरिएको जानकारी दिए।

(थाहा खबर )

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation