महिला टी-२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

३० कात्तिक,काठमाडौँ । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा आज नेपालले दोस्रो खेल हङकङसित खेल्ने छ । यो खेल बिहान ११ः४५ बजे सुरु हुने छ ।

पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो । आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । नेपालका लागि सीता राना मगरले मात्र सम्झिनलायक खेल प्रदर्शन गरिन् । उनले ४३ रन बनाइन् ।

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औं तथा जापान ५१औं स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation