देशको सुरक्षा ठूलो कि टिकटक ?

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’लाई पचेको छैन। किनकि टिकटककै कारण केही नेताहरू रातोरात जन्मेका छन्। अहिले टिकटक बन्द हुँदा ती नेताहरूको निन्द्रा नै हराम भएको छ। यहाँसम्म कि समाजसेवाको देखावटी खोल ओढेकाहरूले पनि रोइलो गरिरहेका छन्। साइबर सेना बनाएर सस्तो लोकप्रियता कमाउने उनीहरूमा रूवावासी चलेको छ।

टिकटक बन्द गर्ने सरकारको निर्णयले फेक आइडी खोलेर लोकप्रियता कमाउने टिकटक विशेषज्ञ एवं ‘राजनीतिक मौसमविद’हरूको सपना चकनाचुर भएको छ। केही राजनीतिक मौसमविदहरू जसरी मौसम परिवर्तन भएसँगै मान्छेले आफनो काम फेर्छ, त्यसरी नै सस्तो लोकप्रियतामा लागेका ती नेताहरू अहिले बोली फेर्दै रुवावासी गरिरहेका छन्।

सरकारको तर्फबाट तिहारको ‘सरप्राइज’ उपहारस्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको छ। किनभने लामो समयदेखि टिकटकमार्फत भ्रम सिर्जना गरेर आमनेपाली जनतालाई गुमराहमा पारिरहेका उनीहरूलाई यो निर्णयले ठूलो धक्का लागेको छ। टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अंकुश लगाइदिएको छ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण पनि छ। किनभने पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेषभूषाका व्यक्तिहरूबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्‍याउने काम भइरहेको सर्वविदितै छ। र, यसमा सामाजिक सञ्जालहरूमध्ये पनि टिकटकको सबैभन्दा ठूलो भूमिका छ।

उदाहरणका लागि केही समयअगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ। त्यो वेला हिंसात्मक भाषण दिनेदेखि एक-अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिनेलगायतका अधिकांश हर्कतहरू टिकटककै माध्यमबाट भएका थिए। यद्यपि, यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको पाइएको छैन। किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भावभन्दा पनि आफ्नो सस्तो लोकप्रियता नै प्यारोजस्तो देखियो।

देशमा टिकटकमार्फत हिंसा फैलिरहँदा नबोल्नेहरू आज प्रतिबन्ध लागेपछि अभिव्यक्तिमाथि अभिव्यक्ति दिइरहेका छन्, नियमनका कुरा गरिरहेका छन्। त्यही कारणले समाजभित्र विसंगति, विकृति र अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण तथा नियमन गर्ने मनसायबाट प्रेरित भएर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सोह्रै आना जायज छ। मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै वेला टिकटकजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ।

त्यसमाथि टिकटकजस्ता सामाजिक सञ्जालमार्फत बर्षेनि अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको छ। टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौँ रुपैयाँ खर्चिरहेका छन् भने लाइक, कमेन्ट र फलोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नो ज्यानै जाने किसिमको जोखिमपूर्ण कामसमेत गरिरहेका छन्। टिकटकमार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङलगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ। एक तथ्यांकअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन्। यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ।

त्यस्तै, कलिलो उमेर समूहका युवायुवतीहरू शिक्षा लिनुको साटो ‘टिकटक स्टार’ बन्ने लोभमा आफ्नो पढाइ नै चौपट गरिरहेका थिए। टिकटकका कारण आमनेपाली सर्वसाधारणको गोपनीयतासमेत जोखिममा छ। चिनियाँ प्रविधि कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको छ।

यस्तै, खालका सुरक्षा जोखिमकै कारण संसारका अन्य कयौँ देशहरूले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन्। उदाहरणका लागि छिमेकी मुलुक भारत, युरोपेली देशहरू बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लाट्भिया, नर्वे, न्युजिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिकालगायतका देशहरूलाई लिन सकिन्छ।

अन्त्यमा, टिकटकजस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताहरूको मनोसामाजिक स्वास्थ्यमाथि पनि असर पुर्‍याइरहेका कयौँ अध्ययनहरूले देखाएका छन्। जसले गर्दा आत्महत्या, हत्या, हिंसा र अन्य आपराधिक घटनामा समेत वृद्धि भएको छ।

तसर्थ, सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा छ। समाजभित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन।

मलाई यतिसम्म जानकारी छ कि सरकारको यो निर्णयको बाहिर विरोध गर्ने नेताहरू स्वयंले पनि भित्रभित्रै समर्थन पनि गरिरहेका छन्। म आफू नै टिकटक प्रयोगकर्ता भए पनि सरकारको यो जायज निर्णयको पूर्ण समर्थन गर्दै आइरहेको छु।

(नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation