नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदै

साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलामी एफसीसँग उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

काठमाडौंको मार्कीमा राष्ट्रिय टिमका युवा स्ट्राइकर हिसुब थपलिया छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नै यथावत छन् । यस्तै पहिलो सिजन काठमाडौं च्याम्पियन बन्दा मार्की र कप्तान रहेका गोलकिपर विकेश कुथु यस पटक इलामको मार्की छन् ।

इलामको मुख्य प्रशिक्षकमा मेघराज केसी छन् । केसी पहिलो सिजन एफसी चितवनका प्रशिक्षक थिए ।

काठमाडौंको टिममा यसपटक धेरै पेरबदल भएको छ । पहिलो संस्करणको उपाधि जित्दाका डिफेण्डर अन्जन राई मात्र टिममा छन् ।

उता इलाममा भने काठमाडौंबाट पहिलो सिजन उपाधि जितेका कप्तान विकेशसहित डिफेण्डरद्वय विमल पाण्डे, आशिष गुरुङ र आशिष राई छन् ।

काठमाडौंमा कप्तानसहित युवा खेलाडीहरुको बाहुल्य छ भने इलाममा राष्ट्रिय टिमबाट खेलेका अनुभवी खेलाडीहरु छन् । गत सिजन चितवनका मार्की रहेका फरवार्ड भरत खवास पनि यस पटक इलाममा छन् । यस्तै राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन पनि इलामकै टिममा छन् ।

साविक विजेता भएकोले काठमाडौंको एक मात्र लक्ष्य उपाधि रक्षा नै रहेको छ । मुख्य प्रशिक्षक बालगोपालले यस सिजन पनि च्याम्पियन नै बन्ने उसको लक्ष्य छ । ‘हामी काठमाडौंको घरेलु टोली हौं । पहिलो सिजन जितेर एउटा तारा राख्यौं अब त्यसमा अर्को तारा थप्ने लक्ष्य छ,’ उनले भनेका छन् ।

त्यसैले नयाँ टोली इलामविरुद्धको पहिलो खेलमा सुखद नतिजासहित उपाधि रक्षा अभियान थाल्ने काठमाडौंको योजना छ । ‘पहिलो खेल सधैं महत्वपूर्ण हुन्छ । प्रिसिजनको तयारी र मैत्रीपूर्ण खेलको प्रदर्शन अनुसार पहिलो खेल खेल्दै राम्रो नतिजाबाट सुरुवात गर्न चाहन्छौं,’ बालगोपाल महर्जनले भने ।

उता डेब्यूटान्ट इलामका प्रशिक्षक केसीले साविक विजेता टोलीविरुद्ध जित निकालेर प्रतियोगिताको सुरुवात गर्न चाहेको बताएका छन् । ‘पहिलो खेलका लागि हाम्रो टिम तयार छ । हामी राम्रो फुटबल नेपाली दर्शकको माझ दिएर पहिलो जितसहित प्रतियोगिता सुरु गर्न चाहन्छौं ।’

यसपटक एनएसएलमा पाँच विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ । जसले गर्दा सहभागी टोलीहरु पनि उत्साहित छन् । काठमाडौंका प्रशिक्षक बालगोपालले त विदेशी खेलाडी नै धेरै हदसम्म निर्णायक बन्न सक्ने बताए । ‘विदेशी खेलाडीको संख्या बढाएर पाँच बनाइएको छ । जसले गर्दा फाइदा हुन्छ । उनीहरुबाट युवा खेलाडीबाट सिक्ने अवसर पनि हुन्छ । विदेशी खेलाडीको प्रदर्शन निर्णाक हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation