देशभर सशक्त साहित्यकार जन्माउने संकल्प छ: विजयराज आचार्य

कथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र?

अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु लेखक बन्न पनि सक्दैनन् । कसैले आफ्नो क्षेत्रमा अरुलाई मार्गप्रशस्त गर्न चाहँदैनन् । मेरो एउटै उद्देश्य होः आफूमा भएको विज्ञतालाई अरुमा पनि स्थानान्तरण गरौं । त्यसैले काठमाडांैको एक प्रतिष्ठित विद्यालयको प्रधानाध्याक लगायतका धेरै अवसहरुलाई त्यागेर कथा लेखन प्रशिक्षणमा समर्पित भएको छु । डेढ वर्षदेखि यो यात्रामा छुँ र अबको पाँच वर्षसम्म निरन्तरता दिनेछु ।

विद्यालयको प्रधानाध्यापकदेखि प्रकाशन गृहको निर्देशकसम्मको पेशा छाडेर यसरी समर्पित हुनु पछाडिका कारणहरु के के हुन् ?

मेरो बुझाइमा साहित्य र शिक्षाको अन्योन्याश्रीत सम्बन्ध हुन्छ । जुन देशको साहित्य समृद्ध हुन्छ त्यो देशको शिक्षा र संस्कृति पनि निश्चय नै समृद्ध हुन्छ । मेरो उद्देश्य पाँच वर्षमा २ सय ५० तालिम र १० हजार बढीलाई प्रशिक्षण दिनु हो । त्यतिलाई तालिम दिँदा बढीमा सय र घटिमा ५० जना स्थापित साहित्यकारको जन्म भयो भने मलाई यस धर्तीमा जन्मेको सार्थकता महशुस हुनेछ । यसको सुरुआत गर्दा मैले त्यो संकल्प गरेको थिए कि सकेसम्म देशका ७७ वटै जिल्लामा पुग्नेछु र प्यूठानका सबै पालिकामा अनिवार्य रुपमा तालिम दिनेछुँ । त्यसो हुँदा मलाई मेरो जन्म जिल्ला र मेरो देशप्रतिका दायित्व पुरा भएको महशुस हुनेछ ।

साहित्यकार विजयराज आचार्य 

डेढ वर्षे अवधिमा कति तालिमहरु सम्पन्न गर्नुभयो?

अहिलेसम्म २५ भन्दा बढी जिल्लामा प्रशिक्षण सञ्चालन गरिसकेको छुँ । मेरो लक्ष्य वर्षमा ५० वटा तालिम गर्ने थियो । गत वर्ष ५५ वटा गरियो । यो वर्ष अहिलेसम्म १६ वटा गरिसकेँ । सुरुकै वर्षमा अपेक्षित भन्दा बढी गरेकाले मेरो लक्ष्य अवश्य पुरा हुनेमा विश्वस्त छुँ ।

प्रशिक्षणका लागि यसपटक नै प्यूठानमा तपाई पहिलो पटक हो कि यो भन्दा पहिला पनि आउनुभएको थियो ?

यो नै प्यूठानमा पहिलो पटक भने होइन । २०७९ मंसिरमा जनता मावि बाग्दुलाबाट सुरु गरेको हुँ । ऐरावतीका सबै आधारभूत र माध्यमिक विद्यालयका शिक्षक एवं विद्यार्थीहरुलाई चार प्रशिक्षण केन्द्र बनाइ तालिम प्रदान गरेको छु । ऐरावतीकै युवा सञ्जालबाट छानिएका २१ जनालाई बिजुवार स्थित होटल आयुस्मामा कालिका विकास केन्द्र प्यूठानको आयोजनामा तालिम सम्पन्न गरेको छुं । माण्डवी गाउँपालिकाको माण्डवी मावि र प्यूठान नगरपालिकाको स्वर्गद्धारी क्याम्पसका विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिएको छु ।

यसपालि  कुन कुन पालिका वा विद्यालयहरुमा पुग्ने योजनामा हुनुहुन्छ?

स्वर्गद्धारी, मल्लरानी, गौमुखी र नौबहिनीका केही विद्यालयहरुमा निश्चित भइसकेको छ । माण्डवी, प्यूठान नगरपालिका, झिमरुक र सरुमारानीमा पनि कम्तिमा एकएक तालिम दिने लक्ष्यमा छु ।

यो एक महिनाको अवधिमा प्रशिक्षण दिनु मात्रै उद्देश्य हो कि अरु पनि केही छ?

प्रशिक्षणका साथै आउँदो मंसिर ८ देखि ११ सम्म प्यूठानमै नेपाल बाल साहित्य समाजको २८ औं बाल साहित्य महोत्सव हुँदैछ । त्यसको तयारीमा पनि म संलग्न रहनेछु । यद्धपि त्यसको काम स्थानीय आयोजकहरुले व्यापक रुपमा गरिरहनुभएको छ । मैले प्यूठान सम्बन्धि मिथक, लोकोक्ति, इतिहास, संस्कृति, प्रकृतिको अध्ययन गरि एउटा बाल कथासंग्रहका लागि पनि काम गरिरहेको छँु । त्यसको लागि थप अध्ययन यही अवधिभरमा गर्ने योजनामा छुँ ।

बालसाहित्यलाई त्यसो त मूलधारको साहित्य मानिदैन । तपाईँको यसैमा नै बढी रुचि किन?

संसारमा नेपाल मात्रै यस्तो देश हो जहाँ जनसंख्याको ४५ प्रतिशत बालबालिका छन् । उनीहरु नै राज्यबाट सबैभन्दा बढी उपेक्षित छन् । र, राज्यका भविष्यका अभिभावक पनि तिनै हुन् । म देशको सुन्दर भविष्यको परिकल्पना गर्छु । यसर्थ म जे गरिरहेको छुँ, बालबालिकाहरुमा समर्पित भएर नै गरिरहेको छु ।

२८ औं बाल साहित्य सम्मेलन प्यूठानमै किन?

राष्ट्रिय बाल साहित्य सम्मेलन भनेको राष्ट्रिय स्तरका स्रष्टाहरु र पाठकहरुबीचको अन्तर्घुलन हुने कार्यक्रम हो । विद्यार्थीहरुले पाठ्यक्रम र अतिरिक्त पुस्तकहरुमा पढिरहेका स्रस्टाहरुलाई भेट्ने र अन्र्तक्रिया गर्ने कार्यक्रम पनि हो । म प्युठानमै जन्मिएको एक स्रष्टा र नेपाल बालसाहित्य समाजको नेतृत्वमा रहेका कारण साथै यो स्तरका कार्यक्रमहरु प्युठानमा पनि हुनुपर्छ भन्ने आत्मबोधका कारणले यसपटक हामीहरु राष्ट्रिय सम्मेलन प्युठानमा गर्दैछौँ ।

सम्मेलनमा समेटिने मुख्य विषयहरु चाहिँ के के हुन्?

कार्यक्रमको पहिलो दिन साँझमा नेवारी संस्कृति अनुसार जिल्लामा आउनुभएका स्रस्टाहरुलाई स्वागत तथा सांस्कृतिक कार्यक्रम हुनेछ । दोस्रो दिन बिहान सबेरै पर्यटकीय स्थल मल्लरानीको भ्रमण र खलंगामा प्रभातफेरी कार्यक्रम हुनेछ । सोही दिन ११ बजे जनता माध्यमिक विद्यालय बाग्दुलामा सम्मेलनको उद्घाटन कार्यक्रम हुनेछ । उद्घाटन कार्यक्रममै करिब २ दर्जन पुस्तकहरुको लोकार्पण हुनेछ । देशका विभिन्न स्थानबाट आउनुभएका ख्यातीप्राप्त स्रस्टाहरुबाट बालबालिकाहरुलाई चित्रकला, कथा लेखन, निवन्ध लेखन, कविता लेखन, अभिनय, नृत्य, पुस्तक प्रदर्शन लगायतका विधामा प्रशिक्षण कार्यक्रम हुनेछ । त्यसपश्चात कथालेखन र हस्तलेखन प्रतियोगिता हुनेछ । त्यसैगरी तेस्रो दिनमा प्रशिक्षणबाट तयार भएका उत्कृष्ट रचनाहरुको प्रस्तुती हुनेछ । र, साथै सम्मेलनमा बालसाहित्य सम्बन्धि विमर्श र कार्यपत्रहरु पनि प्रस्तुत गरिनेछ ।

बाँकी भन्नुपर्ने केही छ कि ?

मंसिरमा राष्ट्रिय स्तरको बालसाहित्य सम्मेलन हुँदैछ । सय बढी ख्यातीप्राप्त बाल साहित्यकारहरु प्यूठानमा आउँदै हुनुहुन्छ । साहित्यका विभिन्न विधाहरुमा बालबालिकाहरुलाई प्रशिक्षण दिनुहुनेछ । बालबालिकाहरुसँग आफ्ना अनुभवहरु बाँड्नुहुनेछ । बालबालिकाहरुले पाठ्यपुस्तकमा अध्ययन गरिरहनुभएका स्रष्टाहरु पनि आउनुहुनेछ । यो अवसर प्यूठानका धेरै भन्दा धेरै बालबालिकाले प्राप्त गरुन् भन्ने मेरा चाहना छ । महोत्सवमा बालबालिकाले आफ्ना सिर्जनाहरु पनि प्रस्तुत गर्ने र अग्रजहरुबाट पृष्ठपोषण प्राप्त गर्नुहुनेछ । त्यसैले सहभागिताकालागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । प्राणमञ्च मासिकबाट……..

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation