
गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला भएकाले पनि उनीहरूले सुत्केरीको सास्तीबारे सहजै अनुभूति गरे । सुत्केरी र शिशुको अवस्था थाहा पाउनेबित्तिकै पालिकाले सहयोगस्वरूप सुत्केरी र नवजात शिशुको भरणपोषणका लागि दुधालु गाई उपहार दिएको छ ।
रविनालाई गाउँ कार्यपालिकाले ३३ हजार रुपैयाँमा गाई किनेर उपहार दिएको अध्यक्ष फूलवती राजवंशीले बताइन् । ‘एउटा महिलाको पीडा अर्की महिलाले नबुझे कसले बुझ्छ ?,’ अध्यक्ष राजवंशीले भनिन्, ‘शिशुहरू स्याहार्न समस्या भएको देखेर गाई दिएका हौं । हरेक दिदीबहिनीको समस्यामा गाउँपालिका हातेमालो गर्न तत्पर छ ।’ विपन्न परिवारमा तीन शिशु स्याहार्न एकदमै असहज अवस्था देखेपछि गाई उपलब्ध गराएको उनले बताइन् ।
पालिकाले दुधालु गाई उपहार दिएपछि ताजपुरिया परिवार खुसी छ । स्थानीय सरकारबाट पाएको सहयोगप्रति रविनाले खुसी व्यक्त गरिन् । ‘गाह्रो, अप्ठेरोका बेला सहयोग पाएकी छु,’ उनले भनिन् । उपाध्यक्ष पुजन न्यौपानेले समस्यामा परेका महिलाहरूको सहयोगका लागि पालिका सधैं अग्रसर बन्ने भन्दै आमा र तीन शिशुलाई पौष्टिक आहारका लागि गाई उपहार दिइएको बताइन् ।
यसैबीच जर्मनीको पुष्प बरुवाल फाउन्डेसनमार्फत सुत्केरी ताजपुरियालाई सहयोगबापत ३० हजार रुपैयाँ पनि प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।