दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यसचिव अर्याल

२३ मंसिर, काठमाडौँ : मुख्यसचिव डा.वैकुण्ठ अर्यालले दिगो विकासको लक्ष्य हासिल गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका छन् । शनिवार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसलाइ सम्बोधन गर्दै मुख्यसचिव अर्यालले दिगो विकासको लक्ष्य भेट्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शनिवार भएको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले भ्रष्टाचार नियन्त्रणबाट नै दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् । भ्रष्टाचार नियन्त्रण गर्न सकिए उक्त रकम विकासका कार्यक्रममा खर्च सकिने भएकाले त्यसले दिगो विकासको लक्ष्य भेट्टाउन सकिने बताएका हुन् ।

भ्रष्टाचार र अनियमितताकै कारण आयोजना कार्यान्वयन र निर्माणमा ढिलाइ हुने गरेको र त्यसले समाजमा नकारात्मक धारणा बन्दै गएको पनि अर्यालले बताए । पैसा र समयको भ्रष्टाचारले पनि देश विकासमा समेत पछाडि परेको भन्दै यस्ता भ्रष्टाचार नियन्त्रण गर्न सबैको महत्त्वपूर्ण भूमिका हुने बताएका हुन् ।

Shivam Cement

मुख्यसचिव अर्यालले रोजगारी सिर्जना, लैङ्गिक समानता हासिल गर्न स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सेवामा व्यापक पहुँच पुराउनका लागि पनि भ्रष्टाचारविरुद्ध पहलकदमी आवश्यक भएको बताए । त्यसका लागि सबै सरोकारवालाले पहलकदमी लिनुपर्ने अर्यालले बताए ।

Nabil bank

एकल संस्थागत प्रयासबाट मात्रै भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नभएको भन्दै त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राज्यका सबै संयन्त्र, सबै सरकारी निकायहरू, नागरिक समाज, निजी क्षेत्र र आम समुदायको क्रियाशीलता आवश्यक रहेको अर्यालले बताए ।

भ्रष्टाचारलाई सुशासनले परास्त गर्दै त्यसको नकारात्मक असर न्यूनीकरण गर्न स्वच्छ, पारदर्शी तथा सुशासनयुक्त आचरण र व्यवहार कायम गर्नु जरुरी रहेको पनि अर्यालले बताए ।

नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र भएको कारण नेपालले भ्रष्टाचार नियन्त्रण र निवारणका लागि गर्नुपर्ने कानुनी सुधारको कार्यलाई सरकारले प्राथमिकता दिई आवश्यक कार्य र सहयोग गर्ने र मुख्य सचिवको हैसियतले आफूले समेत सम्पूर्ण तवरबाट सहयोग गर्ने अर्यालले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संसदमा विचाराधीन रहेको भन्दै यो कानुन पूर्ण भएर आएपछि भ्रष्टाचार नियन्त्रणका लागि कार्य गर्न थप सहजता हुने पनि उनले बताए । भ्रष्टाचार एक बहु आयामिक विषय भएकाले सरकारी तथा निजी क्षेत्रसँगको सहयोग र उनीहरूसँगको सहकार्यबिना नियन्त्रण सम्भव नहुने पनि उनले बताए ।

उनले भने, ‘भ्रष्टाचार एक बहु आयामिक विषय यो, यसको नियन्त्रणका लागि सरकारी तथा निजी क्षेत्रसँगको सहयोग र सहकार्य अपरिहार्य छ । एक आपसमा सहयोग भएमा मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ र यो कुरामा सबैको सहयोग रहने अपेक्षा गर्दछौँ ।’

प्रत्येक वर्ष डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । सोही दिवस मनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिवार कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल कार्यालयका प्रमुख, मुख्यसचिव तथा आयोगका निमित्त प्रमुख आयुक्तले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation