आज नेपालबाट पनि देखिने छ वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा, कुन समयमा हेर्ने ?

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।

नेपालबाट कति बेला अवलोकन गर्ने ?

नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा  २० डिसेम्बरसम्म हुनेछ । तर यो उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटा उल्का वर्षा देख्न सकिने बताइएको छ ।

उल्का वर्षा के हो ?

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ ।

बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation