इजरायलको नरसंहारकारी नीति इजरायलीकै लागि पनि खतरा

इजरायलमा फेरि एकपटक हजारौँले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । गाजामा तीन दिनपहिले इजरायली सेनाले तीन इजरायली बन्धकको हत्या गरेका कारण यी प्रदर्शन भएका हुन् । मारिने ती इजरायली थिए, जसलाई ७ अक्टुबरमा हमासले बन्धक बनाएको थियो । हमासले इजरायली जेलमा वर्षौंदेखि थुनिएका प्यालेस्टिनीलाई छुटाउन इजरायलीलाई बन्धक बनाएका थिए । आफ्ना मानिसको फिर्तीका लागि हमाससँग वार्ता गर्नुको सट्टा इजरायलले हमासलाई ‘पाठ पढाउने’ नीति लियो । ८ अक्टुबरदेखि बमबारी र जमिनी हमला सुरु गर्‍यो ।

यो कुनै युद्ध थिएन । उसो त इजरायलले हमासको समूल नष्ट गर्न हमला गरेको बताउँदै आएको छ, तर इजरायल हमास नभई गाजाका सर्वसाधारण, बालबालिका र वृद्धवृद्धाको हत्या गरिरहेको छ । जब मानिसले गाजामा इजरायलले नरसंहार गरिरहेको भन्दै विरोध जनाइरहेका छन्, तब अमेरिका र बेलायत सरकारले इजरायलले के नै गर्न सक्छ र भनिरहेका छन् । यिनले इजरायली सेनालाई आमप्यालेस्टिनी र हमासबीचको भिन्नता थाहा नभएर प्यालेस्टिनीको हत्या रोक्न नसकिरहेको बताएका छन् ।

 

इजरायलले भने गाजामा कोही पनि निर्दोष नभएकाले पूरा गाजालाई तवाह गर्ने जनाएको छ । इजरायली प्रधानमन्त्री र अन्य मन्त्रीले प्रस्ट शब्दमा गाजालाई मानिस बस्नयोग्य नरहने गरी ‘निस्तेनाभूत’ गर्ने बताइरहेका छन् । एक मन्त्रीले सारा प्यालेस्टिनी पशुबराबर रहेको बताएका छन् भने अर्काले प्यालेस्टिनी अँध्याराका सन्तान हुन्, बर्बर हुन् त्यसैले तिनको सफाया गरिनुपर्छ भनेका छन् । यो प्रस्ट भाषामा प्यालेस्टिनीको नरसंहारको आह्वान हो ।

गाजामा इजरायलले गरिरहेको नरसंहारको निसानामा त्यहाँ बन्धक बनेका इजरायली नागरिक नै पर्न सक्छन् । यसकारण इजरायलमा बन्धक भएकाका आफन्तहरू हमासका लडाकु नभई इजरायली आक्रमणमै आफ्ना परिजन मारिने हुन् कि भनेर शंका गरिरहेका छन् । तर, प्रतिशोधमा उत्रिएको इजरायलले यो मौकाको उपयोग गर्दै गाजालाई प्यालेस्टिनीबाट मुक्त बनाउँदै त्यसमा आफ्नो कब्जा जमाउन चाहन्छ ।

 

बीचमा इजरायललाई ६ दिनका लागि हिंसा रोक्न मनाइएको थियो । ती ६ दिनमा हमासले इजरायली बन्धकलाई मुक्त गर्‍यो र इजरायलले पनि प्यालेस्टिनी बन्धकलाई छोड्यो । तर, यसैबीच इजरायलले एक सय ५० भन्दा बढी प्यालेस्टिनीलाई गिरफ्तार गरेर नयाँ गिरफ्तारीको संख्या थपेको छ । र, ६ दिनपछि फेरि इजरायलले बमबारी सुरु गर्‍यो । अब बाँकी बन्धकको अवस्था के हुन्छ ? यसबारे इजरायल सरकारले कुनै चिन्ता गरेको छैन । अझै भन्ने हो भने इजरायली सरकारको प्यालेस्टिनी जनताको सफाया गर्ने नीतिमा त्यहाँका जनताको पनि साथ छ ।

हिंसाको नशामा चुर भएको इजरायल प्यालेस्टिनीका लागि मात्रै नभई स्वयं इजरायलीका लागि पनि खतरा बनेको छ

इजरायल सरकारका अनुसार बन्धकको रिहाइका लागि लगातारको बमबारी आवश्यक छ किनभने यी हमलाले हमासलाई दबाबमा पार्नेछ । तर, यो गलत प्रमाणित भएको छ । इजरायलले अहिलेसम्म २० हजारभन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको छ । इजरायलले गाजालाई करिब करिब भग्नावशेष बनाइदिएको छ । वेस्ट बंैकमा पनि इजरायलले हिंसा बढाइरहेको छ । तैपनि, हमास मैदान छोड्ने गरी कमजोर भएको छैन । अझै पनि हमाससँग इजरायली बन्धक छन् ।

चरम हिंसाका बाबजुद पनि इजरायलले आफ्ना बन्धक छुटाउन सकेन । केही दिनअगाडि इजरायली सैनिकले एम्बुलेन्समा लुकेर बन्धक छुटाउने असफल प्रयास गरेका थिए । र, छुटाउन खोजिएका बन्धक मारिए । यसपटक इजरायल आफैँले तीन इजरायली बन्धकको हत्या गरेको छ । मारिएका तीनजना सेतो ध्वज लहराएर आफ्नो सुरक्षाको गुहार माग्दै दौडिरहेका थिए । तर, इजरायली सेनाको अन्धाधुन्ध गोलीबारीबाट पहिले दुई इजरायली बन्धकले ज्यान गुमाए र तेस्रोको लखेटी–लखेटी हत्या गरियो । इजरायली फौजका अनुसार सेनाले ती भागिरहेका मानिस हमासको षड्यन्त्रको हिस्सा हुन् भन्ने ठान्दै हडबडी भएको जनाएका छन् ।

वास्तवमा इजरायली सेनाले गुहार माग्ने मानिसलाई प्यालेस्टिनी ठानेको थियो । यही भ्रमले इजरायली सेनाले आफ्ना नागरिकको हत्या गर्‍यो । भ्रमको कुरा गर्दा के जम्मै प्यालेस्टिनीको हत्या गर्नुपर्ने हो ? अथवा गुहार माग्दै शरणका लागि आउने हरेक प्यालेस्टिनी मारिनलायक हुन् ? यसले त इजरायल र यसका हिमायती अमेरिकाले सर्वसाधारणको रक्षाका लागि हरसम्भव प्रयास गरिरहेका छौँ भन्ने दाबीको खण्डन गरेको छ ।

बरु घटनाको परिस्थितिले इजरायली सेनालाई सोचविचार नगरी गोलाबारी गर्ने तालिम दिइएको देखाउँछ । यो घटनापछि बाँकी बन्धकका परिवारजन इजरायली सेनाकै कारण आफ्ना आफन्त मारिने सन्त्रासमा छन् । यसैकारण बन्धकका परिजन सरकारलाई हमाससँग बन्धकको आदानप्रदानका लागि आग्रह गरिरहेका छन् । प्रधानमन्त्री नेतन्याहु बाध्य भएर पहल लिनुपर्ने अवस्थामा पुगेका छन् ।

हमासले पहिलो दिनबाटै बन्धकका बदलामा गिरफ्तारीमा परेका प्यालेस्टिनीको रिहाइको माग गरिरहेको छ । तर, इजरायल भने आफ्ना बन्धक नागरिकलाई लिएर चिन्तित छैन, बरु ऊ गाजालाई कब्जा गरौँ भन्ने ध्याउन्नमा छ । यही ध्याउन्न पूर्ति गर्ने प्रयासमा इजरायलका सयौँ सेना मारिएका छन् । हजारौँ मानिस अंगभंग भई अपांग भएका छन् । तर, इजरायललाई यससँग कुनै लेनादेना छैन भन्ने देखिन्छ ।

आफ्नै नागरिकको हत्या गरेको केही समयमै हामीले त्रिपालमा शरण लिएका कैयौँ बिरामी र घाइते प्यालेस्टिनीलाई डोजरले दलेर हत्या गरेको देखेका छौँ । त्यसअघि बालबालिकाले शरण लिएको विद्यालयमा गोलाबारी गरिएको थियो । तसर्थ, हिंसाका नशामा चुर भएको इजरायल प्यालेस्टिनीका लागि मात्रै नभई स्वयं इजरायलीका लागि पनि खतरा बनेको छ ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयका हिन्दीका प्राध्यापक हुन्) Nayapatrika…….

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation