आमूल परिवर्तनकारी विकल्पकाे खाँचो:- प्रमाेद धिताल

वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन वर्गलाई आफ्नो राजनीतिको आधार बनाएको छ भन्ने हेर्नुपर्छ ।
भारतमा आम आदमी पार्टीको उदयलाई लिएर हर्षविभोर हुने ‘प्रगतिशील’ जमातको नेपालमा  कमी छैन । त्यसैगरी अहिलेका काँग्रेस र अलि पहिलेका छद्म वामपन्थी युवा नेता कन्हैयाकुमारका पपुलिस्ट भाषणहरु युट्यूबमा सुनेर उत्साहित हुने ‘वामपंथी’ युवाहरुको पनि हामीकहाँ कमी देखिन्न । नेपाली समाजको त्यो मनोविज्ञान रवीन्द्र, ज्ञानेन्द्र, बालेन र रवि जस्ता पात्रहरुको राजनीतिक उपस्थितिले पनि कम–वेशी उत्साहित हुनु स्वाभाविक नै छ । असैद्धान्तिकता र विचारविहिनता हाम्रो समाजको वौद्धिक विशेषता भएको छ । यो अवस्थामा राजनीतिक प्रहसन र स्टन्टबाजीहरु ब्ढि नै बिक्छन् । यतिखेर नेपाली समाजमा वैकल्पिक शक्तिको आवरणमा सुधारवादी र प्रतिगामी सोंच बलियो बन्दै गरेको अवस्था छ ।
वैकल्पिक भनौं या स्वतन्त्र, तिनको सारतत्व एउटै भएपनि यी प्रवृत्तिहरुको आगमनलाई ‘क्रान्तिकारी विकल्प’कै रुपमा स्थापित गर्न खोजिंदैछ । तर चुनावी राजनीतिमा पुरानाहरुको स्थान नयाँले लिनु कुनै क्रान्ति होइन । पपुलिस्ट नेता, पार्टी र नाराहरुको तत्कालीन आकर्षण जति सम्मोहनकारी हुन्छ, त्यसको आयु पनि त्यत्तिकै छोटो हुन्छ । यस्तो प्रवृत्तिको उदयले समाजका अन्तर्विरोधहरुको हल गर्दैन, बरु तिनको आयु लामो बनाउँने काम गर्छ । बुर्जुवा व्यवस्थाभित्र हुने हरेक पटकका चुनावी नौटंकीहरुमा बाहिर पार्टीहरुबीच हार–जित देखिन्छ । तर हार्नेहरुमा अरु नभएर जनता नै हुन्छन् । किनकि पूँजीवादी व्यवस्थाभित्र लोकतन्त्रको नाउँमा जनतासँग हुने भयानक धोखा, छलछाम, बेइमानी र नौटंकीको अर्को नाम चुनाव हो । सुधारवादको विशेषता भनेको सुधारका गुलिया नाराहरुभित्र विद्यमान भ्रष्ट व्यवस्थालाई नै जोगाइराख्नु हो ।
२०४६ सालको राजनीतिक परिवर्तनपछिको एउटा कालखण्ड काँग्रेसमय थियो । त्यतिखेरको किशोर पुस्तालाई यस्तो लाग्थ्यो कि मानौ राजनीति, पार्टी र सरकार भनेकै कांगे्रस हो अनि नेता भनेकै गिरीजा, शेर बहादुर देउवा र खुम बहादुर खड्काहरु हुन् । लाग्थ्यो, समाजका समस्याहरुको अन्तिम समाधानकर्ता पनि काँग्रेस नै हो । तर आज ऊ इतिहासको त्यही कालखण्डले जन्माएको, दमनले सिध्याउन खोजेको र नेताहरुका टाउकाको मूल्य तोकेको शक्ति माओवादीसँग मिलेर सरकार चलाउँने ठाउँमा छ । त्यसैगरी त्यतिखेर माओवादीले उठाएका कैयन मुद्धाहरु अर्को राजनीतिक पुस्ताले बोकेर हिड्नुपर्ने अवस्था कायम नै छ । यसलाई इतिहासको कुनै कालखण्डमा क्रान्तिकारी छवि बनाएका शक्तिहरुको सैद्धान्तिक पतको उत्कषको रुपमा हेर्न सकिन्छ ।
काँग्रेसको उत्कर्षकालपछि चुनावी राजनीतिमा एमाले अगाडि आयो । नौ महिनासम्म एकल सरकार पनि चलायो । केहि लोकप्रिय कार्यक्रमहरु अगाडि सा¥यो । ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने नारा ल्यायो, वृद्ध भत्ताको सुरुवात ग¥यो । यसरी कहिले एकल त कहिले मिलिजुली सरकारमा सहभागी भयो । केहि मानिसहरुलाई यस्तो लाग्थ्यो कि अबको समाधान नै एमाले हो । तर त्यतिखेर पनि कुनै सरकारले पूर्ण कार्यकाल शासन चलाउन पाएन । आज पनि एमाले त्यही नौ महिने शासनकालको वृद्ध भद्धा कार्यक्रमलाई चुनावी ब्याज असुल्ने हतियार बनाएर मतदाताको बिचमा जानेगर्छ । फेरि पनि उसले आफूलाई समाजवादी र आमूल परिवर्तनकारी पार्टी भनेर जनतालाई ढाँट्न छोडेको छैन ।
बहुदल कालका विकृति विसंगति र कम्युनिष्ट आन्दोलनको एउटा धाराभित्र विकसित हुँदै गरेको विचारको उत्कर्षमा २०५२ फाल्गुण १ गतेदेखि तत्कालीन ने.क.पा.(माओवादी)ले आफ्नो चुनावी मोर्चा संयुक्त जनमोर्चाको तर्फबाट राखेका चालीस बूँदे मागहरुको सम्बोधन नभएको भन्दै शशस्त्र दीर्घकालीन जनयुद्धको सुरुवात ग¥यो । न आफ्नो पूर्व घोषणा अनुसार नेपाली काँग्रेसले माओवादी शक्तिलाई दुई–तीन महिनामै सिध्याउन सक्यो, न माओवादीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्यो । अन्ततः राजतन्त्र फाल्ने र बुर्जुवा गणतन्त्रलाई स्वीकार्ने सर्तमा माओवादी र  सात दलहरुको बीचमा दिल्लीमा बाह्र्र बूँँदे सहमति भयो । आन्दोलन सफल भयो । अन्ततः गणतन्त्र स्थापना भयो ।
पहिलो संविधानसभामा युद्धको क्रान्तिकारी राप–तापसहितको माओवादीको पहिलो उपस्थिति यसरी दर्ज भयो कि त्यो कुराको आकलन माओवादी नेतृत्व स्वयंलाई पनि थिएन । यसले दुईवटा अवस्थाहरु सँगसँगै सृजना गरिदियो । एउटा, बुर्जुवा गणतान्त्रिक संसदीय व्यवस्थाभित्र मतदाताहरुले माओवादीलाई एउटा बलियो शक्तिको रुपमा उभ्याइदिए भने माओवादी पंक्तिभित्र दम्भको पारो निकै माथि उक्लियो । युद्धकालीन संरचना–शैलीबाट ऊ भिन्न र चुनौतिपूर्ण अवस्थामा त प्रवेश गरेकै थियो  । त्यो अवस्थामा उसले गर्नुपर्ने समीक्षा, सोच्नेपर्ने कुरा, अपनाउनुपर्ने सावधानी, हिड्नुपर्ने बाटोको लेखाजोखाक र गम्भीरतापूर्वक तय गर्नुपर्ने भविष्यका योजनाहरु थुप्रै थिए । तर त्यसको विपरित नेतृत्वले विचार छोड्न थाल्यो, उसको रुपान्तरण उल्टोतर्फ सोझियो, कार्यकर्तासँगै संगठन छोड्न थाल्यो भने कार्यकर्ताले पनि नेतृत्वकै सिको गर्न थाल्यो । त्यसकै निरन्तरता हो आजको माओवादी ।

राजतन्त्र फाल्नुलाई नै क्रान्ति मान्नु एउटा कुरा होला, तर माओवादीले दाबी गर्दै आएको यसलाई जनताको गणतन्त्रमा बदल्न त सम्भव भएन नै बरु आज ऊ आफै बुर्जुवा व्यवस्थाको एउटा हिस्सेदारमा बदलिएको छ । हिजो संंशोधनवादलाई दश हात परबाट सराप्ने मात्र होइन, सेना नभएको पार्टीलाई कम्युनिष्ट नै नमान्ने पार्टी आज तीन सय साठी डिग्री फन्को मारेर चुनावी धोखापूर्ण नौैटंकीलाई ‘वर्गसंघर्षको मुख्य मोर्चा’ मान्ने ठाउँमा आइपुगेको छ ।

अरु सबै कुरा छोडेर अस्तित्वको लडार्ईं उसका निम्ति प्रमुख बनेको छ । तर समाजमा हेर्दा व्यथिति उही छ, भ्रष्टाचार उस्तै छ, महंगी झन बढेको छ, बेरोजगारीको समस्या यथावत छ । तल्लो तहसम्म जनतामाथि दलतन्त्र र कर्मचारीतन्त्रले शासन गर्दैछ । वर्गीय शोषण र सामाजिक उत्पीडनहरु यथावत् छन् । चुनावहरुमा आउने कसैका बहुमत र निर्मित सरकारहरुले आमूल परिवर्तन ल्याउँदैनन् भन्ने कुरा पनि सँगसँगै पुष्टी भएको छ । ‘लोकतन्त्रको उच्च अभ्यास’को झूठो नारासँगै हरेक पटक हुने चुनाव पूँजीपतिहरुका ‘लगानी र असुलीको उच्च अभ्यास’ गर्ने माध्यम हुन् भन्ने कुरा झन पछि झन पुष्टी हुँदैछ । पैसा खर्च नसक्ने पार्टी कार्यकर्ता नै चुनावमा उम्मेदवार हुने अवसरबाट बन्चित हुन्छ । पूँजीवादी व्यवस्था अन्तर्गत चुनावी राजनीतिका स्वाभाविक परिणामहरुको नियति यही हो ।
गणतन्त्रकालका शासक पार्टीहरुप्रतिको वितृृष्णा र व्यवस्थाजन्य व्यथितिहरुको जगमा नयाँ राजनीतिक शक्ति, पात्र र प्रवृत्तिहरु उदाउन खोजिरहेका छन् । भारतीय आम आदमी पार्टीका नेपाली संस्करणहरुको अभ्यास सुरु हुँदैछ । वैकल्पिक शक्ति या विशेषगरी पछिल्लो चरणमा, स्वतन्त्रको नाउँमा देखा परेका प्रवृत्तिहरुले बढिभन्दा बढि विद्यमान व्यवस्थाभित्र या सुधारवादी कामहरुको अगुवाई गर्नसक्छन्, त्योभन्दा बेसी होइन । जसमध्य विगतमा बाबुराम भट्टराईको अगुवाईमा गठित नयाँ शक्ति पार्टी, रवीन्द्र मिश्रको अगुवाईमा गठित साझा पार्टीदेखि लिएर हाल रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र उल्लेखनीय छन् ।
 यिनीहरुले पुराना राजनीतिक पार्टीहरुलाई चुनावी राजनीति र सरकारबाट विस्थापित गर्न सक्छन्, तर यस्तो राज्य संयन्त्र जो भ्रष्ट, जनविरोधी र विदेशी पूँजीको सेवकमा आफूलाई समर्पित गरेको छ, त्यसलाई विस्थापित गर्न सक्दैनन् । तसर्थ यिनीहले टेकेको राजनीतिक जमिन भनेको यथास्थितिवादी, सुधारवादी जमिन नै हो ।
केहि समयअगाडि विंविसी सेवाको जागिर छोडेर साझा पार्र्टी बनाउन पुगेका रवीन्द्र मिश्रको छद्म वैकल्पिक राजनीति आज राप्रपामा बसेर राजतन्त्रको वकालत गर्ने ठाउँमा पुगेको छ । सुरुमा उनका अभिव्यक्तिहरुले पूँजीवादी लोककल्याणकारी राजनीतिको पक्षपोषण गरेजस्तो बुझिन्थ्यो । ‘विचारभन्दा माथि देश’को हास्यास्पद सैद्धान्तिक रटान, चुनावी पराजय, सांगठनिक विभाजन र उतारचढावसँगै उनको वैकल्पिक राजनीति एकफन्को मारेर आज राजाबादी अतितमोहमा गएर थन्किएको छ ।
त्यसैगरि ‘माक्र्सवाद र पूँजीवाद दुवैका परम्पारागत मोडेलहरु काम नलाग्ने’ भन्दै नयाँ विचार र बाटोको खोजीमा हिडेका बाबुरामको अगुवाईमा गठित नयाँ शक्ति यतिखेर मधेशवादी दलहरुसँगको एकता–विभाजन र चुनावी गोलचक्कर हुँदै अस्तित्व धान्ने क्रममा छ ।
गत स्थानीय, संघीय एवं प्रदेश चुनावसँगै स्वतन्त्र उम्मेदवारहरुप्रतिको आकर्र्षण बढेर गयो । पुराना संसदवादी राजनीतिक पार्टीहरुप्रतिको विकर्षणलाई भजाउँदै वैकल्पिक पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । त्यसले उल्लेखनीय मत पनि हासिल ग¥यो ।
यसले शहरीया निराश र कुण्ठित मध्यमवर्गको मतलाई आफूतिर तान्न सफल भयो । नेपाली समाजमा पुराना पार्टीहरु र राजनीतिप्रति युवा पुस्ताको बढ्दै गएको वितृष्णा अनि पुराना पार्टीहरुप्रतिको विकर्षणको जगमा यो प्रवृत्ति संगठित भएको छ । सस्तो लोकप्रियतालाई यसले आफ्नो स्पेश निर्माणको आधार बनाइहेको छ ।
आगामी २०८४ को निर्वाचनसम्म मध्यमवर्गीय युवाहरुको करियरिस्ट जमातदेखि अरुतिर असन्तुष्ट कार्यकर्ताहरको पुरानो पंक्ति अझै समेटिन सक्ने संभावना बलियो देखिन्छ ।
‘स्वतन्त्र’ शब्द अहिले बुर्जुवा राजनीतिक खेमाभित्र एउटा ब्राण्डजस्तै बन्न पुगेको छ । यस्ता पात्र र शक्तिहरुको उदयले जनताको बुर्जुवा ब्यवस्थाप्रतिको आक्रोशलाई केहि मत्थर पार्ने बाहेक संकटको समाधान भने दिनसक्दैनन् । किनभने यिनीहरुले व्यवस्थामा कुनै समस्या देख्दैनन्, “पुराना पार्टीहरु असफल भए, हामी ठीक गर्छौं”  भन्ने बाहेक । नेपाली समाजको मनोविज्ञान अहिले पनि विद्यमान समस्याहरुको समाधानका लागि कुनै देवदूतको उदय हुनुपर्छ भन्ने छ । यो मध्यमवर्गीय मनोविज्ञानको उपज हो । यही कम्जोर मनोविज्ञानको प्रयोग गरेर उनीहरु राजनीतिको परिदृष्यमा छाउँन सक्छन्, झूठो आशा देखाउँदै संसदीय राजनीतिमा आफ्नो पकड पनि बलियो बनाउँन सक्छन् । अर्कोतिर व्यवस्थालई पनि पुराना पात्रहरुबाट काम नचल्ने भइसकेपछि नयाँ–नयाँ पात्रहरु सृजना गर्नुपर्ने आवश्यकता हुन्छ । अतः प्रष्ट हुनुपर्ने कुरा यो हो कि स्वतन्त्रहरु बुर्जुवा वर्गका विकल्प हुन् श्रमजीवी, शोषित, पीडित वर्ग–समुदायका विकल्प होइनन् ।
जुन दार्शनिक मान्यताहरुबाट यो प्रवृत्ति निर्देशित छ, त्यसले केहि समयका लागि सस्तो लोकप्रियता त कमाउँछ, तर समाजमा विद्यमान शोषण, विभेद, उत्पीडन, महंगी, भ्रष्टाचार र बेरोजगारीको स्पष्ट समााधान दिनसक्दैन । अर्थव्यवस्था, दर्शन, राजनीति, शिक्षा, संस्कृतिको मामिलामा यिनीहरुको नीति परम्परावादी छ । यो शक्ति उदारीकरण र निजीकरणकै पक्षमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उद्देश्य र नीति–कार्यक्रमको २० औं बूँदामा ‘सनातन वैदिक संस्कृति र आध्यात्मिकताको प्रर्बद्धन’ शीर्षकको ब्याख्या हेर्दा ऊ घुमाउरो पाराले धर्मसापेक्ष राज्यकै पक्षमा उभिन्छ ।
साम्राज्यवादी हस्तक्षेपको बारेमा यिनीहरु मौन छन् । पुरानाप्रतिको विकर्षणको जगमा आफूलाई स्थापित गर्नु नै यिनीहरुको मूल उद्देश्य हो । कैयन आफूलाई वामपंथी या कम्युनिष्ट भन्नेहरु समेत यसरी उदाएका शक्तिहरुप्रति सम्मोहित भएका देखिन्छन् । यो उनीहरुको अज्ञानता या भ्रमको उपज मात्र हो । यो भनेको समृद्धि र विकासको शोषण–लूटमा आधारित पूँजीवादी कोलाहल र श्रमजीवी वर्गीय राजनीतिको बिचमा फरक छुट्याउन नसक्नु हो । आज नेपालको वामपंथमा विचार–दृृष्टिकोणविहिनता भयानक रोग बनेको छ ।
त्यसैगरि वैकल्पिक राजनीतिको नाउँमा स्थापित गरिएको निकै लोकप्रिय भाष्य ‘युवा पुस्ता’को भाष्य हो । युवा भन्ने शब्दलाई यसरी स्थापित गरिएको छ कि मानौं राजनीतिमा विद्यमान समस्याको एकमात्र समाधान युवा उमेर हो । यसले युवा उमेरको कुरा उठाउँछ, शिक्षाको कुरा उठाउँछ तर वर्ग र विचारको कुरा उठाउँदैन । उमेरको जतिसुकै युवा भए पनि कालातीत भैसकेको विचार बोकेर हिड्यो भने त्यसले दिने भनेको झुठो विकल्प नै हो  । उमेर, औपचारिक शिक्षा र चेतना फरक कुरा हुन् । आजको राजनीतिमा कृयाशील वृद्ध पुस्ता पनि एकैचोटि वृद्ध भएर राजनीतिमा प्रवेश गरेको थिएन । उनीहरु पनि आफ्नो समयका जल्दा–बल्दा युवाहरु नै थिए । मओवादी जनयुद्ध हुँदै पहिलो संविधानसभामा निर्वाचित हुने ठूलो पंक्तिमा पनि युवाहरु नै थिए । युवा आफैमा एउटा ऊर्जा र संभवनाको पर्याय त हो, तर मूल सवाल फेरि पनि उमेरको होइन विचार, वर्ग र व्यवस्थाको हो । स्वदेश र विदेशबाट औपचारिक शिक्षा हासील गरेको, ज्ञान र प्रविधिमा पहुँच राख्ने आजको युवा पुस्ताकै ठूलो हिस्सा पनि प्रतिक्रियावादी सोंचले ग्रसित छ । शोषक वर्गीय धरातलबाट उदाएको अनि धर्मान्धता, भाग्यवादी, अवैज्ञानिक सोंचले भरिपूर्ण छ भने जतिसुकै युवा भएपनि उसले अंगाल्ने जनविरोधी प्रतिक्रियावादी राजनीति नै हो । तसर्थ आवश्यकता युवा उमेरको होइन शोषण–उत्पीडनको विरुद्धमा उभिने र वैज्ञानिक दर्शनलाई आत्मसात गर्ने युवाको हो ।
वर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन वर्गलाई आफ्नो राजनीतिको आधार बनाएको छ भन्ने हेर्नुपर्छ ।

मध्यम वर्गको जगमा खडा भएको राजनीति र राजनीतिक शक्तिले गरिखाने वर्गको पक्षमा लडेको इतिहास कहीं कतै छैन । वैकल्पिक या स्वतन्त्रको नाउँमा उदाइरहेका पात्र, प्रवृत्ति र शक्तिहरु मध्यम र निम्नमध्यम वर्गीय छटपटीका पेन किलर त हुनसक्छन् तर वास्तविक समस्याका समाधान बन्न सक्दैनन् ।

कतिपय वामपंथीहरु नै भन्ने गर्छन् कि “रविहरु यति छिट्टै लोकप्रिय हुनसक्ने तर हामीले चाँहि किन गर्न नसक्ने?” यो आजको बस्तुगत यथार्थदेखि बेखबर कम्जोर तर्क हो । साथै संसदवादी चुनावी मनोविज्ञानबाट प्रभावित चिन्ता पनि हो । पहिलो कुरा त लोकप्रियताको राजनीति कम्युनिष्टहरुको राजनीति होइन । बुर्जुवा व्यवस्थाभित्र सबैभन्दा छिटो बिक्ने कुराहरु नै लोकप्रिय कुराहरु हुन् । अर्को कुरा रास्वपाजस्ता शक्तिहरुको आधार भनेको वामपंथी विचार होइन मध्यमवर्गीय विचार र मनोविज्ञान हो । अवसरवादी र यथास्थितिवादी वर्ग धरातलको बलमा त्यो शक्ति उदाएको छ । आगामी चुनावसम्म त्यहाँभित्र विविध खाले बुर्जुवा पात्र–प्रवृत्तिहरुको जमघट थप घनिभूत भएर जानेछ । तसर्थ उनीहरुकै तरिकाले कम्युनिष्ट आन्दोलन र संंगठन निर्माण भइहाल्छ भनेर सोच्नु बचकाना आकांक्षा मात्र हो । लोकप्रिय चुनावी राजनीतिको भ¥याङ चढेर गरिखाने वर्गको आन्दोलन बन्दैन ।

 

यिनीहरुले दिइरहेको नाराको आधारमा पनि प्रष्ट हुन्छ कि वैकल्पिक या स्वतन्त्रहरुको बाटो भनेको पूँजीवादी बाटो नै हो । त्यसैले हरेकको राजनीतिक आधार वर्ग हुनेगर्छ, बिना वर्गस्वार्थको राजनीति नै हुँदैन । यो कुरालाई विर्सिएर रविहरुको आगमनमा वामपंथीहरु धेरै अलमलिनु जरुरी छैन । जब वर्गदृष्टिकोणको अभाव हुन्छ, त्यतिखेर समाजमा देखा पर्ने हरेक घटनामा मानिस अलमलिन पुग्छ । सँगसँगै त्यस्तै पात्रहरुबाट उसले एउटा वर्गनिरपेक्ष समाधान पनि खोज्न थाल्छ । जुन समस्या  एक थरि भावुक वामपंथीहरुमा बेला–बेलामा देखिने गर्छ ।

कसको विकल्प, कस्तो शक्ति ?

मध्यमवर्गका कुण्ठाहरुलाई शीतल छहारी प्रदान गर्दै वाहवाहीसँगै भोटको राजनीतिक सिढीं उक्लने र पूँजीको दास बन्ने राजनीतिले वर्गीय अन्तर्विरोधको हल गरेको इतिहास कहींं छैन । वर्गीय समस्याहरुको सही समाधानका लागि साम्राज्यवादी शोषण र हस्तक्षेपको नांगो नाच, जनताका नैसर्गिक अधिकारहरुको हनन् र जनताका आधारभूत दैनिक समस्याहरुको विरुद्धमा संघर्षका पक्षहरु अनिवार्य रुपमा जोडिनुपर्छ । कुनै पनि नामका अतितमुखी, अवैज्ञानिक, विभेदकारी विचार, संस्कृति र परम्पराहरुको विरुद्धमा उभिएर मात्र न्याय र समानताको राजनीति सम्भव छ । वर्गीय समाजमा यो लडाईंका लागि मजबूत श्रमजीवी वर्गको क्रान्तिकारी पार्टीको आवश्यकता अनिवार्य सर्त हो  ।
यतिखेर राष्ट्रियताका मुद्धा, साम्राज्यवादविरोधी प्रवृत्ति, सामाजिक न्यायका मुद्धाहरु, सांस्कृतिक रुपान्तरणका मुद्धाहरु दिनानुदिन कम्जोर हुँदै गएका छन् । श्रमजीवी वर्गीय मुद्धालाई जात, धर्म, लिंग, धार्मीक र अन्धराष्ट्रवादी मुद्धाहरुले विस्थापित गर्दै गएका छन् । पहिचानवादी राजनीति सतहमा आएको छ । आमूल परिवर्तनकारी राजनीतिलाई सुधारवादी राजनीतिले परास्त गर्दै गएको छ । कम्युनिष्ट भनिएकै पार्टीहरुभित्र पनि जडसूत्रवाद, सारसंग्रहवाद, अर्थवाद, प्राविधिक निर्धारणवाद, पहिचानवाद, बुर्जुवा दक्षिणपंथी सुधारवाद लगायतका समस्याहरु व्याप्त छन् । यो अवस्थामा सच्चा कम्युनिष्ट आन्दोलन निर्माणका लागि संघर्षको चरण पार गर्नुको विकल्प छैन ।
कम्युनिष्टहरुको डरलाग्दो विचलन–विघटन, राजनीतिक भ्रष्टाचार र वर्गीय मुद्धाहरु छोडेकै कारणले विभिन्न जनविरोधी, अतितमुखी, रुढिवादी, बुर्जुवा, चिन्तन, प्रवृत्ति र संस्कृतिहरु समाजमा मौलाउने मौका पाएका छन् । पछिल्लो समयमा त भारतमा व्याप्त भाजपाको हिन्दूत्व फासिवादका बाछिटाहरु पनि नेपालमा भित्रिएका छन् । घृणाको राजनीति र साम्प्रदायिताले बेला–बेला टाउको उठाउने गरेको हामीले देखेकै छौं । त्यसकारण पनि नेपाली शोषित वर्ग, उत्पीडित समुदाय र जनताका अधिकारहरुलाई लिएर आन्दोलनहरुलाई संगठित गर्नुपर्ने आवश्यकता बढेर गएको छ । समान ध्यय बोकेका शक्तिहरुका बिचमा पनि तत्कालका समस्या र चुनौतिहरुलाई लिएर जनताको बिचमा जाने, विचारधारात्मक संघर्षलाई चर्को बनाउँने, साझा मुद्धाहरुका आधारमा संयुक्तमोर्चा बनाउँने, संघर्षहरुको उठान गर्ने अवसरहरु नभएका होइनन् । तर वैचारिक अस्पष्टता, निम्न मध्यमवर्गीय कुपमण्डुकता, व्यक्तिगत स्वार्थ, अर्थवादी रुझान–प्रवृत्ति, संकीर्णतावादी चिन्तन, एकले अर्कोलाई उपयोग गर्ने नीतिभन्दा माथि उठ्न नसक्नुका कारणले जनतामा आशा र विश्वास पैदा हुनसकेको अवस्था छैन । तर फेरि पनि प्रयत्नहरुलाई निरन्तर अगाडि बढाइराख्नुकाे विकल्प छैन ।
आमूल परिवर्तकारीहरुको कार्यभार
उपरोक्त विश्लेषण र निश्कर्षहरुका आधारमा भन्न सकिन्छ कि आमूल परिवर्तनकारी, वामपंथी, देशभक्त, प्रगतिशीलहरुको दाियत्व कैयौं गुणा बढेर गएको छ । अग्रगामी प्रवृत्ति केबल प्रतिक्रियात्मक भूमीकामा हुने र जनताको बिचमा बुर्जुवा शक्तिहरु राइँदाइँ गर्ने कुराले समाज अराजकताको शिकार हुन्छ ।

राष्ट्रियता, जनताका अधिकार, जनजिविकाका सवाहरुदेखि लिएर विभिन्न सामाजिक न्यायका मुद्धाहरुमा केन्द्रित हुनुपर्ने आवश्यकता छ । साथै श्रमिक वर्गको अग्रदस्ता निर्माणका लागि हुने सार्थक बहस, वैचारिक संघर्ष, प्रयत्नहरुलाई बढाएर लैजान ढिलाई भैसकेको छ । साम्राज्यवादी हस्तक्षेपहरु, जनताका अधिकारका प्रश्नहरु, शिक्षा, स्वास्थ्य रोजगारीका सवाल, महंगी, भ्रष्टाचारका मुद्धाहरु, जनताका जीविकाका सवालहरु, सामाजिक–सांस्कृतिक विभेद, उत्पीडनका कुराहरु, जाव्यवस्था, लैंगिक उत्पीडनका विषयहरुमा आन्दोलनहरुलाई संगठित गर्दै जानु अग्रगामी, वामपंथीहरुको कार्यभार हो ।
विकृत र भद्धा पूँजीवादको बढ्दो प्रभावसँगै सामाजिक–साँस्कृतिक विभेद र उत्पीडन झन पछि झन उग्र बन्दै गइरहेका छन् । विद्यमान राजनीतिक शक्तिहरुले श्रमिक, महिला, दलित, जनजातीहरुलाई राजनीतिक मुक्तिका लागि प्रेरित गर्ने भन्दा पनि आफ्नो भोट ब्यांकको रुपमा प्रयोग गरिरहेका छन् ।  एकथरि मानिसहरु समाजमा जातीय विभेद अन्त भएको दाबी गर्छन् तर हरेक दिन जातका अधारमा हुने उत्पीडन र हिंशाका घटनाहरुले त्यो कुरालाई खण्डन गरिरहेका छन् । राज्यदेखि शैक्षिक तथा सामाजिक क्षेत्रहरु धर्मनिरपेक्ष हुनुपर्ने ठाउँमा आफै धार्मीकता, अवैज्ञानिकता र भाग्यवादलाई बढावा दिन उद्धत छन् । तर सत्य कुरा के हो भने आजको पूँजीवादभित्र धर्मनिरपेक्षता संभव नै छैन । अर्कोतिर साम्राज्यवादी फण्डिङ एजेन्सीहरुद्वारा वित्तपोषित एन.जि.ओ.हरुले मानिसहरुलाई राजनीतिक चेतनाबाट बिमुख गराउँन र परजीवी संस्कृतिलाई बढावा दिइरहेका छन् । स्वयंं राजनीतक पार्टीहरु नै आज आइ.एन.जि.ओं तथा एन.जि.ओ.हरुका मगन्ते कार्यकर्ता बनेका छन् । बेला–बेलामा आफ्नो निकम्मापन लुकाउन संसदवादी पार्टीहहरुले प्रतिगमनको डर देखाएपनि उनीहरु स्वयंं नै प्रतिगमनका स्रोत बनिरहेका छन् । यो क्रम घट्ने होइन बढ्ने देखिन्छ । पूँजीवादी व्यवस्था कायम हुँदासम्म आर्थिक शोृषण, सामाजिक, सांस्कृतिक उत्पीडन, साम्प्रदायिता, लैंगिक उत्पीडन र जातीय विभेदजस्ता कुहरु हट्ने होइन कि झनै बढेर जानेछन् । यी समस्याहरको विरुद्धमा प्रगतिशील र सचेत सामाजिक कार्यकर्ताहरुले जनतालाई सही कुरा बुझाउँदै सक्रियतापूर्वक संघर्षका मोर्चाहरु सम्हाल्नुपर्ने र  आवश्यकता छ ।
अर्को चुनौति भनेको समाजमा बढ्दै गइरहेको साँस्कृतिक भ्रष्टीकरण हो । शासक वर्गले जनताको सोंचलाई नियन्त्रण गर्न र घटिया विषयवस्तुमा रुमल्याइराख्नका लागि विकृत, अमानवीय, अश्लिल, अवैज्ञानिक, भाग्यवादी र विषाक्त संस्कृतिको प्रचार–प्रसार गर्ने काम गरिरहेको छ । यसका विरुद्ध जनताको बिचमा जनविरोधी सोंचबाट समाजलाई मुक्त गर्नका लागि साँस्कृतिक जागरणमुखी आन्दोलनको आवश्यकता छ । सँस्कृतिकर्मीहरुका साना–साना टिमहरु बनाएर बस्तीहरुमा पुग्ने र सही विचारले जनतलाई मसिनोगरी प्रशिक्षित गर्ने कामहरु पर्याप्त रुपमा हुनसकेका छैनन् । वैचारिक विकासका लागि युवाहरुका बीचमा, विद्यार्थीहरुका बिचमा अध्ययन समूहहरु बनाउँदै वैज्ञानिक चिन्तनको विकासका लागि नियमित छलफल, सामुहिक अध्ययन, विचार–विमर्श र प्रशिक्षणका कार्यक्रमहरुको त्यत्तिकै खाँचो छ ।
विभिन्न क्रान्तिकारी शक्तिहरु, वैचारिक–राजनैतिक फोरम र साँस्कृतिक संगठनहरुमार्फत यी मुद्धाहरुमा बहस केन्द्रित गर्नुपर्ने आजको  आवश्यकता हो । विचार, सिद्धान्तमा पैदा भएको संस्थागत विघटनको यो चरणमा नयाँ सिराबाट यात्रा थाल्न जरुरी भइसकेको छ । विकल्पविहीन निराशा र कार्यक्रमविहिन निस्क्रिय आशावाद दुबैले इतिहासप्रति न्याय गर्न सक्दैनन् । बरु विचारधारात्मक संघर्षसहितका सार्थक पहलकदमीहरुले मात्र आन्दोलनमा देखा परेको खडेरीमा आशाको सञ्चार गर्नसक्छन् । वर्तमानले हामीबाट यही कुराको माग गरेको छ । न्यायपूर्ण यात्रा कष्टकर र  लामो अवश्य छ तर असंभव छैन ।
लेखक: प्रतिरोध नेपालका केन्द्रीय संयाेजक हुन् 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation