सबै माओवादी एक हुनुकाे विकल्प छैन, हामी नसच्चिए सकिन्छाैँ: अमरसिंह घर्तीमगर

आजको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।

नेपालको पछिल्लो अर्थराजनीतिक परिवेशको बारेमा तपाईंको धारणा कस्तो छ ?

हैन, यो कस्तो छ भने दश वर्षे जनयुद्धताकाको सोच विचारको परिवेश र अहिलेको परिवेशमा आकाश जमिनको फरक छ । नेपालको राज्यव्यवस्था र अर्थराजनीतिलाई हेर्ने हो भने निकै कमजोर अवस्थामा पुगिसकेको छ । यसकारण म के निष्कर्षमा पुग्न खोजेको छुँ भने नेपाल सदियाँैदेखि परनिर्भरको अवस्थाबाट गुज्रिरहेको छ । अहिलेसम्म पनि आत्मनिर्भर हुनसकेको छैन । दुई ठुला छिमेकी देशको बिचमा नेपाल रहँदा चीन र भारत जस्ता देशहरुले गरिरहेका विश्व बजारमा उनको गुणस्तरीय उत्पादन र उपस्थिति हेर्दा नेपाल त अत्यन्तै निरीह अवस्थाबाट ताते सरिरहेको छ । यसलाई माथि उकास्न सबैभन्दा पहिले हामीले गुणस्तरीय उत्पादन संघर्ष गरि कम्तिमा आत्मनिर्भरको अंकुरा जगाउनु अनिवार्य छ ।

तत्कालीन जनयुद्धको समयमा प्रचण्डले भन्ने गरेको नेपाल दुई ढुङ्गाबीचको तरुल होइन हिरा हो भनेको डेढ दशक बित्दापनि मुलुकको हालत झनै दुरावस्थामा छ किन ? माओवादी मुुलुक निर्माणमा किन चुक्यो ?

माओवादी आन्दोलनको राप र तापबाट झट्ट हेर्दाखेरि र यहिलेको परिस्थितिसम्म आइपुग्दा सोचेजस्तो उपलब्धि नभएको जस्तो देखिन्छ तर त्यसको सारतत्व हेर्दाचाहीँ कैयौँ उपलब्धि प्राप्त गरेका छौँ । कुनै एकठाउँबाट अर्काे ठाउँमा पुग्दा विभिन्न मोडहरु पार गर्नुपर्छ भनेझैं २ सय चालीस वर्षको निरंकुश राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्रमा आएका छौँ । यद्यपि सामन्तवादका सबै अवयबहरुको समुल नष्ट गर्न सकेका छैनौं । अर्थ राजनीतिक, समाजिक र व्यक्तिगत रुपमा जसरी हामीले सामन्ती व्यवस्था र प्रतिगामी विचारलाई पराजित गरेर अग्रगामी विचारधाराको ब्यापकता दिनुपथ्र्याे त्यो रुपमा जान नसकिएको नै हो । यद्यपि कमरेड प्रचण्डको नेतृत्वमा भएको महान क्रान्तिले जे–जति उपलब्धि हासिल भएको छ त्यसको जगमा टेकेर नयाँ ढंगले जम्प गरेर सबै माओवादी तथा परिवर्तनकामी जनसमुदाय एकजुट भएर अगाडि बढ्नुपर्छ ।

नेपाल अन्तर्राष्ट्रिय कुटनैतिक मामिलामा किन लगातार असफल बनेको छ, तपाईंको विचारमा के नेपालले दुई शक्तिशाली मुलुकलाई मध्यस्थता राखेर आफ्नो समृद्धि हाँसिल गर्न सक्दैन ?

मैले त्यसको सबैभन्दा ठुलो बाधक तत्व हाम्रो सामाजिक धरातल मान्दछु । जिजु बाजेले खाएको ऋण नाति पनाती हुँदै सात पुस्तासम्म असुल गर्नुपर्छ । अर्काे कुरा हाम्रो जीजु पुर्खाहरुदेखि वर्तमान प्रधानमन्त्री प्रचण्डसम्म आउँदा दुबै देशको खरबौँ ऋण खाएका छौँ । उनीहरुको तुलनामा हाम्रो अवस्था हेर्दा त यहाँ कुटनीतिको कुनै सवाल नै आउँदैन । यसको मुल समस्या वर्तमानमा राज्य व्यवस्थाको चरित्र हो । जसले कहिल्यै पनि आफू स्वतन्त्र, सम्पन्न र हस्तक्षेपकारी हुने आँटै गर्दैन ।
तपाईंले देखेको मुलुक समृद्धिको मुल निकास के हो त?
हामी कसैसँग पनि झैझगडा र मनमुटावको स्थितिबाट टाढा रहेर दुई छिमेकी शक्ति राष्ट्रहरुसँग सक्तिसन्तुलनको मिलानमा विषेश ध्यान दिनुपर्छ । युरोपियन युनियन, अमेरिका लगायत सबैसँग मैत्रीपूर्ण ढंगले अगाडि बढ्नुपर्छ । राज्यका तीनवटै सरकार मिलेर आत्मनिर्भर उत्पादन, रोजगारीको विकास र उद्योग धन्दा कलकारखानाको स्थापना गर्दै स्वस्थ्य बजारीकरणमा अनिवार्य लाग्नुपर्छ । राज्यले अल्पकालीन भन्दा पनि दिर्घकालीन विकास योजनाको स्पष्ट खाका बनाएर कार्यान्वयन गर्नुपर्छ ।  हरेक पालिकाहरु उत्पादन श्रमलाई विषेश महत्व दिएर स्थानीय उत्पादन र बजारीकरणमा अनिवार्य आत्मनिर्भर बन्ने दृढ लक्ष राखियो भने मुलुक समृद्ध बन्छ ।
नेपालको उद्योग धन्दा, कलकारखानामा घुसेको दलाल र विचौलियाहरुको अन्त गरि भ्रष्टाचारको माखेसाङलो तोड्नुपर्छ ।
नेपाली उत्पादन बजारमा छिरेको दलाल पुँजीवादले कस्तो सम्म गर्दाेरहेछ भने विगत दुई वर्षअगाडि चितवनको एउटा ठुलो पोल्ट्री फर्मले भेटेनरीका डाक्टरहरु नै किनेर स–साना व्यवसायीका फर्महरुमा रोगको आतंक फैलाइदिए र उनका कुखुरा लगायतका उत्पादन सबै नष्ट गराएर एकलौटी रुपमा आफ्नो उत्पादन बजारमा फैलायो ।

हेर्नुस् त, दलाल पुँजीवाद र बिचौलियाहरुले कस्तो सम्म षड्यन्त्र गरिरहेका छन् । त्यसकारण यस्तो जघन्य बदमासीको अन्त्य नगरी हामीले आत्मनिर्भर उत्पादन र आर्थिक क्रान्ति गर्न निकै गाह्राे हुन्छ ।

माओवादी रुपान्तरण अभियान भनेको के हो? के माओवादीहरुले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा घुमेको विराषत फर्काउन सक्लान ?

हाम्रो रुपान्तरण अभियान भनेको सबैभन्दा पहिलो आफुले आफैलाई सफा गर्ने भनेको हो । हिजो हामीले गाउँ शहरमा जाँडरक्सी खाने, जुवातास खेल्ने, साँस्कृतिक भड्काब गर्नेहरुलाई निर्मम कारबाही गर्थ्यौँ । सामाजिक कुसंस्कार र कुरीतिका विरुद्ध ठुलो आन्दोलन गरियो । आज परस्त्रीहरुसँग लाग्ने, बहुबिबाह गर्ने र घरेलु हिंसा गर्ने कुरालाई निरुत्साहित गरेका थियौँ त्यो अभियानमा पनि कैयौँको सहादत र अंगभंग भएको छ तर, अहिले उल्लेखित सबै विषयमा माओेवादीहरुको पुनरावृत्ति हुँदा हामी आफै जिउँदै मरेसरह भएका छौँ । यस अभियानबाट श्रम र उत्पादनमा नलागिकन कहिँ पनि रोजिरोटी पाइदैन, त्यसकारण इमानदारीपूर्वक श्रम र उत्पादनमा सबै तहका नेता कार्यकर्ता र आम जनता लाग्नुपर्छ भन्ने कुरालाई जरोसम्म पु¥याउने कोसिस गरेका छौँ । हिजो कांग्रेस एमाले जुन अवस्थामा थिए हामी अहिले त्यो भन्दा पनि गएगुज्रेको अवस्थामा पुग्नु निकै दुखद र लज्जास्पद विषय भएको छ । म माडी गाउँपालिकाको पार्टी र सरकार दुवैको प्रमुख भएको नाताले पनि हिजो विराषतलाई फर्काउनुपर्छ भन्नेमा दृढ रहि माडीका सबै नेता कार्यकर्ता तथा समुदायमा यो कुरा व्यापक रुपमा लगेर सबैभन्दा पहिले आफू नयाँ ढंगले रुपान्तरण हुनैपर्ने विषयलाई जोड दिइएको छ र यो एक हिसाबले राजनीतिक वैचारिक कार्यक्रमको अलावा सांस्कृतिक आन्दोलन नै हो । हामी आर्थिक र सांस्कृतिक रुपमा सुदृढीकरण गरेर उत्पादन संघर्षमा लागेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेछ ।
हामीले हरेक काममा राज्यको मुख ताक्ने प्रवृत्तिको पनि अन्त्य गर्नुपर्छ । युवाहरु पनि ठग प्रवृत्तिको भएको छ । जस्तो कि फर्म खोल्यो, अनुदान लियो खायो, न उत्पादन न त उद्योग नै । अब कसैलाई ठगेर, दलाली गरेर, दम्काएर इत्यादी गरि कमाउधन्दा गर्ने परिपाटीको समुल अन्त्य गर्नु आजको मुख्य दायित्व हो ।                                       
                                                 

हामीले त्यहीखालको अभिमुखिकरण कार्यक्रम पनि गरिरहेका छौँ । यो अभियानमा कैयौं साथीहरूले अबउप्रान्त विगतका कमिकमजोरी नगर्ने प्रतिबद्धता पनि गर्नुभएको छ । हामी नयाँ ढंगले उठ्ने र पुरानो इतिहास कायम राख्ने कोसिसमा छौँ । शत प्रतिशत नै शुद्धीकरण आउन चाहिँ कठिनाइ जो छ ।

चुनावी अभियानको घोषणापत्र र जनताका समस्या एवम् सपनासँग मिल्नेगरी केही काम गरेका वृतान्त छ कि ?
हामीले पनि चुनाबको बेलामा परम्परावादी ढंगले घोषणापत्र बनाएका थियौँ । अहिले पनि सो पत्रको एक प्रति डायरीमा राखेर हरेक दिन त्यो घोषणापत्र पल्टाएर गहन समिक्षा गरिरहेको हुन्छु र सोही अनुरुप जानपनि खोजिरहेका छौँ । तर हिजोको घोषणापत्र र अहिलेको परिस्थितिमा कैयौं फेरबदल आएकोले हुबहु त्यसरी जान सकिदैन । त्यसकारण घोषणापत्र र अहिलेको परिस्थितिको फ्यूजन गरेर काम गरिरहेका छौँ । हाम्रो परिकल्पनामा रहेको १५ शैय्याको अस्पताल निर्माणको भइरहेको छ । निजी स्रोतका शिक्षकको खारेजी अभियानमा सार्थकता पाइरहेका छौँ । खुला प्रतिस्पर्धाबाट मावि स्कुलको प्रधानाध्यापक छनोट गरिरहेका छौँ । कृषिमा हामीले हेफर प्रोजेक्टसँग साझेदारी गरि पालिकाका १३ सय घरधुरीलाई व्यवसायीक कृषि उत्पादनमा जोडेका छौँ । बाख्रापालन, लसुन खेती, आलु, टमाटर, किवि, प्याज, कागती, सुन्तला खेती आदि प्याकेजमा उनीहरुलाई चाहिने बीउबिजन, उपकरण, प्राविधिक सहयोग तथा बजारीकरणलााई पालिकाबाट अनुदान प्रदान गरेका छौँ । उक्त १३ सय घरधुरी सबै नै दिर्घकालीन रुपमा यो कृषि प्याकेजबाट लाभान्वित भएका छन् । यो हिसाबले जानसकेको खण्डमा हामीले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेभन्दा कैयौं गुणा बढी परिमाणमा काम गर्नेमा म विश्वस्त छुँ ।

विलासी जीवनयापनको चरम महत्वकांक्षाले देशको माटोप्रतिको प्रेम ह्वात्तै घटेको छ, युवाको मथिङ्गलमा सल्किएको विदेश मोहलाई कसरी राष्ट्रियतासँग जोड्न सकिएला ?

हामी खासमा अन्तर्राष्ट्रिय जाती मान्ने कम्युनिस्ट मानव भएकोले आफ्ना कैयौं आवश्यकतालाई नयाँ ढंगले जिउँछुँ भन्ने आम मानिसको चाहानामा अंकुश लगाउन त सकिँदैन तर नेपाली जुन जहाँ भएपनि आफ्नो माटोप्रतिको जिम्मेवारी र दायित्व नराख्नु त ठुलो समस्या हो । त्यसो हुनु हुँदैन । विज्ञान प्रविधिको बढ्दो पहँच र नयाँ –नयाँ आवश्यकताको चाहनाले गर्दा हेरक मानिस एक ठाउँबाट अर्काे ठाउँमा सरिरहने त प्राचीन सभ्यताकै निरन्तरता पनि हो । मानव विकासको इतिहास हेर्दा पनि त्यो कुरा पुष्टि हुन्छ । जस्तैः माडी गाउँपालिकाका गाउँ घरका कुनाकन्दराको मानिस घर्तीगाउँ ओइरिरहेको छ, घर्तीगाउँको मानिस लिवाङ, दाङ वा बुटवल दौडिरहेको छ, दाङ बुटवलका मान्छेहरु चितवन, पोखरा र काठमाडौं सरिहरेका छन् भने ठुला शहरका मानिस फेरि युरोप अमेरिका पुगिरहेका छन् । यद्यपि परिवार पाल्नकै लागि विदेश भौतारिने अधिकांश जुन दुखद स्थिति छ त्यसलाई उत्पादनमा जोडेर न्युनिकरण गर्न जरुरी छ ।

माओवादीले रुकुम र रोल्पाले विकास र सुशासनको रुपमा जुन उदाहरण देशैभर सन्देस दिन सकेन भन्ने जनमानसमा व्यापक गुनासो छ । भ्रष्टाचारमै चुर्लुम्म डुबेर फरक नदेखिको स्थिति त होला नि ?

यसमा त हामी सबैले लाजै नमानिकन स्विकार्नुपर्छ, त्यो भनेको नितान्त ज्ञान र अनुभवकै कमी हो । किनकि विशिष्ट ज्ञानसहित नयाँ गर्ने हुटहुटी यो क्षेत्रका जनप्रतिनिधि र कर्मचारी वृत्तमा भएको भए त्यसको संचार देशभर भइनैहाल्थ्यो । हाम्रो यताको जमात पनि लोभपाप र अवसरबाट विमुख हुन सकेन, सामाजिक लाभभन्दा व्यक्तिगत मुनाफालाई केन्द्रमा राखियो । यद्यपि सबै क्षेत्रमा विकासको मोडेल एकैनासको हुँदैन । हामी तपाईंले भनेजस्तै अन्य पालिकालाई उदाहरणीय कार्यक्रमको नमुना दिनैपर्छ तर हर परिस्थितिले रोक्दोरहेछ । किनभने म आफै पालिको अध्यक्ष हुनुपूर्व पनि यो पालिका भित्रका सबै विद्यालयमा यतैको अर्गानिक खाजा खुवाउनुपर्छ भनेर निकै लाग्यौँ र अध्यक्ष भइसकेपछि त्यसलाई मुर्तरुप दिन बाहिरबाट आउने गहुँ, मकै, आलु, कोदो, चिप्स आदि सबै प्रतिबन्ध नै लाउने सोचमा गएको थिएँ तर परिस्थिति त्यस्तो रहेन । किनकि हामीले उत्पादन गर्दा ३० रुपैयाँ पर्ने उहि सामान बाहिरबाट १२ रुपैयाँमा प्राप्त हुँदोरहेछ । त्यो अभियानमा आलु चिप्सको ठुलो फ्याक्ट्रीको अभ्यासमा फेल खायौँ । त्यसकारण यो उत्पादन बजारको विषयमा राष्ट्रिय स्तरमै गहन अध्ययन गरेर यो समस्या निराकरणको उपाय ननिकाल्दासम्म हाम्रा कुनैपनि स्थानीय स्तरका उद्योगहरु उभो लाग्न सक्दैनन् ।
म आफै पनि ढुङ्गा(मेटल÷मार्बल) को उद्योग चलाइरहेको छुँ तर व्यवस्थापन गर्न निकै हम्यहम्य परिरहेको छ । किनभने मेरो लागतमा दुई सयमा प्रती स्क्वायर फिट बेच्नुपर्छ भने भारतबाट ३० रुपैयाँ स्क्वायर फिट मार्बल बजारमा पाइन्छ । अब भन्नुस् त हामी कहाँ छौँ ? हो हामीले समाधान गर्नुपर्ने नै यही अन्तरविरोध हो ।
नेपालमा सबै बिकाउ भएकाले निकास आउन सकेन । देशलाई राम्रोसँग लिड गर्ने दुरदर्शिता भएको युग लिडर जन्मिन सकेन । यहाँका सबै विज्ञ भनाउदाहरु बिकाउ छन् । प्रोफेसर सुरेन्द्र केसीकै बोलि २४ घण्टा टिक्दैन । हामीले खासगरी प्रचण्डबाट मुलुकको समृद्धि गरेर जनताका सपना पूरा हुन्छन् भन्ने ठुलो आशा र विश्वास गरेका थियौं तर त्यो पनि हुन सकेन । हामी बिग्रियौँ भन्ने नै मुल कुरा हो ।
माओवादी नै मुलरुपमा बिग्रेको सत्य हो, रोल्पाकै सन्दर्भमा कृष्ण महरा यौन काण्डमा जेल परे तर मलाई लाज लागेर उनलाई भेट्न पनि गएन । पछि मेरै घरमा आएर जेलमा छँदा भेट्न पनि किन नआएको भनेर महरा सरले मेरै घरमा आएर गुनासो गरे तर मैले कुन मुखले तपाईंलाई भेट्ने ?
मैले लाज लागेर भेटेको होइन भनें । त्यसकारण अब सबै तितरबितर भएका माओवादीहरु नयाँ ढंगले सच्चिनुपर्छ र सबै एकाकार भएर मुल समस्या समाधानमा लाग्नुपर्छ ।
तपाईंको विचारमा अब विप्लवको राजनीतिक कार्यक्रम कता जान्छ ?
माओवादीबाट अलग भएर नयाँ केही गरिहाल्छन् कि भन्ने जनतामा कौतुहलता जागेको र यहि सेन्टिमेन्टलाई पकडेर क्रान्ति गरिहालिन्छ भन्ने भावना विप्लवमा जागृत भएको सत्य हो तर उहाँहरुले पनि पार्टीलाई नयाँ ढंगले लैजान असफल हुनुभो भन्ने लाग्छ । गतिलो राजनीतिक एवम् वैचारिक पार्टी नबनेपछि उहाँहरुका नेता कार्यकर्ता पनि धम्किघुर्की लगाएर चन्दा उठाउने र पेट पाल्ने सिवाय अरु हुन सकेन । यो गम्भीर परिस्थितिमा सबैले आत्मसाथ गरेर सबै सच्चिँदै एक ठाउँमा आउनुको विकल्प छैन ।
विप्लवको पार्टी लगायतले थर्काएर राज्यकोषको रकम दुरुपयोग गर्ने र सरकारी पार्टीहरुले कागज मिलाएर भ्रष्टाचार गर्ने परिपाटीको अन्त्यमा जरुरी छ। मेरो विचारमा त प्रचण्डले पनि जनताको काम गर्न सकिँदैन भने सरकारमा बस्नुको कुनै औचित्य छैन ।
सबै माओवादी रुपान्तरणसहित एकताबद्ध भएर सुदृढीकरणमा नलाग्ने हो भने कांग्रेस एमाले लगायतका कतिपय पार्टीको जात त रहला तर हामी माओवादीको त जात पनि नरहने निश्चित छ ।
तपाईंले चलाइरहेको ढुङ्गा खानी कस्तो चलिरहेको छ, उत्पादन अभियानमा लाग्नुपर्छ भन्ने धारणा तपाईंमा कसरी जागृत भयो ?
यो त जनमुक्ति सेनाको ब्यारेकमा हुँदा नै मलाई सेना समायोजनमा जाने र मेजर पद लिने भन्ने अफर आयो तर मैले जागिरे जीवन बिताउनुहुँदैन भन्ने निष्कर्ष निकालेको हुँ । अर्काे कुरा हिजो जुन सेना बिरुद्ध लडियो त्यहिमा बिलिन हुनुहँदैन भन्नेमा क्लियर थिएँ जनमुक्ति सेनाको थर्ड डिभिजनको भुमिकामा हुँदा पनि माक्र्सका ठेलिहरु पढेँ । पुँजीमा माक्र्सले के भन्नुभएको छ भने “कम्युनिस्ट जोगी हुँदैनन् बरु कम्युनिस्टले त उत्पादन र उत्पादकत्वको सम्बन्धलाई बढ्ता विश्वास गर्छ र उसले
त्यसैमा आफ्नो जीवन खोज्छ ।” मलाई यो कुराले भित्री मनमा छोयो । त्यसपछि यसो हेर्दा कांग्रेस एमालेहरु ठेक्का पट्टा, गुण्डागर्दि र एनजीओ आइएनजिओमा चुर्लुम्म ढुबेका छन् । हामी त्यसबाट उठेर साँचो अर्थको उत्पादन सङ्घर्षमा लाग्नैपर्छ जसले गर्दा सबै पार्टी पंक्ति यो अभियानमा लागे राजनीतिले सहि मोड लिन्छ, मुलुकमा समृद्धि उत्पादन र श्रमबाट मात्रै सम्भव छ भन्ने निष्कर्षले म उद्योगमा लागेको हुँ । ब्यारेकमै उत्पादन संघर्षमा लाग्नुपर्छ भन्ने मेरो योजना सुनाउँदा कैयौँ साथीहरू हाँसे । पत्यायनन् र यो त अवसरवादी भयो÷बिग्रियो भने तर मैले रुक्मांगद कटुवाल प्रकरणसम्म आउँदा अब बिद्रोह र संघर्ष सकियो भन्ने निष्कर्ष निकालेको थिएँ । हामी हिजो संघर्षको क्रममा पनि दिल्लीमा भारतसँग हात थापेर, कतै राजासँग सहकार्य गरेर अनेकथरी गरेर आएको त सर्वबिदितै छ नि । हामीले किन ठुल्ठुला कुरा गर्नुपर्ने र ? फुटेका सबै माओवादी सच्चिएर एक हुन नितान्त जरुरी छ । त्यसो भयो भने मात्रै माओवादीको पुरानो लिगेसी जोड्न सकिएला नत्र हामी सकिन्छौँ । आज १५ वर्षसम्म आउँदा यो कुरा पुष्टि भएको छ । अहिले मेरो श्रीमतीको कमाण्डा एक हजार बढी सुन्तला र कागती खेतिको उत्पादन भइरहेको छ । त्यसबाट वार्षिक ३÷४ लाख मुनाफा आएको छ भने मेरो नेतृत्वमा रहेको यो डुङ्गा उद्योगले पनि १८ जना श्रमिकले नियमित रोजगारी पाएका छन् । सबै खर्च कटाउँदा हाम्रो महिनाको करिब ७०/८० हजार मुनाफा भएको छ । यसैगरी उत्पादनमा लागेपछि राज्यकोषको दुरुपयोग गर्न पर्दैन । आत्मनिर्भर अर्थतन्त्रको विकास स्वयं व्यक्ति पनि हर तवरले सक्षम हुनुपर्छ भन्ने मेरो निष्कर्ष हो । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation