नयाँ जागरणसहित सरुमारानीको रुपान्तरण अभियान सम्पन्न

१६ पुष,प्यूठान।प्यूठानको सरुमारानी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले सन्चालन गरेको विशेष रुपान्तरण अभियान नयाँ जागरणसहित सोमबार सम्पन्न भएको छ।”जनतासँग माओवादी विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी” भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर उद्घाटन गरि सन्चालन गरिएको थियो।

नेकपा (माओवादी केन्द्र)सरुमारानी गाउँ कमिटीको आयोजनामा भएको समापन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष लुमाकान्त न्यौपाने “सागर”को प्रमुख आतिथ्यता,प्रदेश सचिवालय सदस्य बुद्धबहादुर बस्नेत “वसन्त”को विशेष आतिथ्यता, प्रदेश सदस्य लक्ष्मी पल्ली मगर,दुजमान सिंह राना,गुप्त बहादुर राना र प्रदेश कमिटी  सदस्य पदम बहादुर बुढाको आतिथ्यता रहेको थियो। साथै पार्टीका केन्द्रिय  सदस्य,जिल्ला समन्वय सदस्यहरु,जनवर्गीय संगठनका पदाधिकारीहरु गरि  करिब १ सय २० बढी नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं अभियान संयोजक लुमाकान्त न्यौपाने “सागर”ले पार्टीको यो विशेष रुपान्तरण अभियानले पार्टीलाई गतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।उहाँले भन्नुभयो;”यो रुपान्तरण अभियानबाट पाएको उपलब्धीलाई स्थानीय पार्टीले रक्षा गर्न आवश्यक छ।”

विशेष आतिथ्यता ग्रहण गर्दै प्रदेश सचिवालय सदस्य बुद्ध बहादुर बस्नेत “वसन्त” ले बताउनुभयो; ” सरुमारानी गाउँ पालिका प्युठानको ढोका भएको हुँदा यहाँको संगठन सुदृढीकरणमा हामीले विशेष चासो लिएका छौं।”साथै यस रुपान्तरण अभियानले जनता र माओवादीमा फरक किसिमको भावनात्मक सम्बन्ध जागृत भएको बस्नेतले बताउनुभयो।

गाउँ कमिटी अध्यक्ष कृष्ण बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन गाउँ कमिटीका सचीव गुप्त बहादुर रानाले गर्नुभएको थियो ।कार्यक्रममा आएका नेता एवं कार्यकर्ताहरुलाई जिल्ला सदस्य नुम बहादुर खाम्चाले स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो। कार्यक्रममा प्रदेश कमिटी सदस्य पदम बुढा र लक्ष्मी पल्लिले मन्तव्य राख्नुभएको थियो।

करिब १ सय २० बढी व्यक्तिहरुको उपस्थितिमा भएको समापन कार्यक्रममा पार्टी केन्द्रले संचालन गरेको अभियानको उपलब्धि ,महत्त्व र आगामी योजनाको विषयमा  लुमाकान्त न्यौपाने “सागर”,बुद्धबहादुर बस्नेत लगायतका नेताहरुले राजनैतिक प्रशिक्षण गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation