मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास

मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३ बजे सञ्जयकुमार पस्न खोजेपछि स्थानीय रामनारायण सिंह, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले कुटपिट गरी खुकुरी प्रहारको प्रयास गरेको पीडित पक्षको भनाइ छ ।

पीडितका अनुसार वाड नं. ८ मझाउन टोलका मिटरब्याजी सुरेश पजियारले १ विघा एक कठ्ठा खेत र डेढ कठ्ठाको घरघडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याए । त्यसबाट १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणको हातबाट बिक्री भएको छ । जसका कारण सञ्जयसहित उनका आमा–बुबासहित परिवारका सदस्य विस्थापित भएका छन् । हाल जनकपुरमा डेरा लिएर बसेर कन्सट्रक्सनको काम गरिरहेको सञ्जयले बताए ।

सोमबार आफ्नो घरमा जान खोज्दा रामनारायणसहित उनका छोरा र भाइले कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेको सञ्जयले बताए । सञ्जयमाथि हातपात गर्दै खुकुरी उज्याएको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको छ । आज जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षलाई छलफलको लागि बोलाइएको उनले बताए ।

सञ्जयले २०७३ सालमा लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग आफ्नो ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाए । सञ्जयले त्यति बेला आफ्नो ऋद्धिसिद्धी कन्ट्रक्सन खोल्न भन्दै पैसा लिएका थिए ।

‘मैले जग्गा बेचेर भए पनि पैसा तिर्छु भनेर सुरेशलाई भनेको थिएँ । कोरोनाको कारण मेरो व्यवसाय चौपट भयो । मैले तिर्छु नै भनिरहँदा पहिले मेरो जग्गामा रहेको पाँच लाख रुपैयाँ बराबरको रुखबिरुवा बेचे । त्यसपछि अदालतमा मुद्दा दर्ता गरी डाक लिलाम गराएर २०७८ सालमा आफ्नो नाममा ल्याएर सुरेशले रामनारायणसित खेत र मेरो घरघडेरी बेच्यो,’ सञ्जय भन्छन्, ‘मेरो छिमेकी रामनारायणले म आफ्नो बलमा उसको घरजग्गा कब्जा गर्छु भनेर मिटरब्याजी सुरेशबाट किनेका थिए । उनले मेरो घरमा एक वर्षदेखि ताला लगाएर राखेका छन् । मेरो आमाबुवासहित मेरो परिवार विस्थापित भएको छ ।’

मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन् ।

त्यति मात्र होइन सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन् । तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन् । त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने निस्केको छैन ।

सिरहा जिल्ला प्रशासन कार्यालयमा हुने गरेको अनुचित लेनदेनको छलफल तथा निर्णयको कुरामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै मिटरब्याज पीडित संघर्ष समिति सिरहाले एकसाता अघि छलफल बहिस्कार गर्ने निर्णय गरेको थियो ।

तर जिल्ला प्रशासन कार्यालयमा भने छलफल र निर्णयको काम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले बताए । उनका अनुसार दैनिक १६ वटा उजुरीउपर छलफल हुने गरेको छ भने करिब ३ वटासम्म उजुरीमा मेलमिलाप हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation