जर्मनीले फेरि शुरु गर्‍यो साउदीमा हतियार निर्यात

सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेइटले जर्मन साप्ताहिक स्पिगलको प्रतिवेदनमा यसको पुष्टि गरेका हुन्। प्रतिवेदनमा बर्लिनले साउदी अरबलाई १५० आइरिस–टी एयर–टु एयर मिसाइल निर्यातका लागि हरियो संकेत दिएको उल्लेख छ।

‘यो प्रतिवेदनको विवरण सही छन्’, नियमित सरकारी समाचार सम्मेलनमा हेबेस्ट्रेइटले भने, ‘नयाँ स्वीकृत आइरिस–टी मिसाइल हवाई लक्ष्य अर्थात् मिसाइल, ड्रोन आदिमाथि विमानबाट हान्न सकिन्छ।’

स्पिगलका अनुसार जर्मन समूह डाइहल डिफेन्सले निर्माण गरेको मिसाइलको निर्यातको मञ्जुरी गत वर्षको अन्त्यमा दिइएको थियो।

इस्तानबुलमा साउदी वाणिज्य दूतावासमा असन्तुष्ट पत्रकार जमाल खशोगीको सन् २०१८ मा हत्या भएपछि जर्मनीले रियादलाई हतियार बिक्री रोकेको थियो। यद्यपि बर्लिनले हालै साउदी अरबलाई हतिायर निर्यातमा आफ्नो अडान कम गरेको छ। जर्मन सरकाले इजराइल–हमास युद्धमा साउदी अरबको ‘रचनात्मक दृष्टिकोण’ को प्रशंसा गरेको छ।

साउदी अरबले हमाससँग युद्धको प्रारम्भपछि इजराइलसँगको सम्बन्धलाई सामान्य बनाउने योजना नछाडेको विदेशमन्त्री एनालेना बेयरबकले बताएका थिए। रियादले यमनमा इरान समर्थित हुथी विद्रोहीद्वारा इजराइलमाथि प्रहार गरेको मिसाइल रोक्ने प्रयास गरेको थियो।

बर्लिनले सोमबार साउदी अरबलाई युरोफाइटर  जेटको निर्यातको अनुमति दिन पनि तयार रहेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation