यसरी बन्याे कपुरकाेट गाउँपालिका कार्यसम्पादनमा उत्कृष्ट

३ माघ, सल्यान । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा सल्यानको कपुरकोटको गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्यांकनमा ८८ दशमलव २५ प्रतिशत अंक प्राप्त गरेकाे हो ।

गत आर्थिक वर्ष २०७९/२०८० को कार्यसम्पादन स्वमूल्यांकनमा कपुरकोट गाउँपालिका जिल्लामै उत्कृष्ट भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा अहिलेसम्म सल्यानको कपुरकोटसहित चार पालिकाको नतिजा सार्वजनिक भएको छ ।

हरेक पालिकाले माघको पहिलो साताभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । नतिजा सार्वजनिक भएका त्रिवेणी गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिकाभन्दा कपुरकोट गाउँपालिका अघि देखिएको हो ।

उहाँका अनुसार गाउँपालिकाले शासकिय प्रवन्ध, न्यायिक कार्य सम्पादन र सहकार्य समन्वयमा शत प्रतिशत अंक ल्याउन सफल भएको छ । यस्तै पालिकाले सेवा प्रवाहमा ९६ दशमलव ८८ प्रतिशत, वित्तिय तथा आर्थिक व्यवस्थापनतर्फ ८८ दशमलव ६४ प्रतिशत, संगठन तथा प्रशासनमा ८७ दशमलव ५ प्रतिशत अंक ल्याउन सफल भएको प्रशासकिय अधिकृत वलीले बताउनुभयो ।

यस्तै वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ८१ दशमलव ८२ प्रतिशत, भौतिक पूर्वाधारमा ७६ दशमलव ९२ प्रतिशत, सामाजिक समावेशीकरणमा ८० प्रतिशत र वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ७७ दशमलव ७८ प्रतिशत अंक ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

व्यवस्थित योजनाका साथ कानूनको दायराभित्र रही प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रयासमा कपुरकोट गाउँपालिकाले अहिले सम्मकाे नतिजामा उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । जिल्ला समन्वय समिति सल्यानले पनि कार्य सम्पादन मूल्यांकनमा कपुरकाेट गाउँपालिकालाई जिल्लामै उत्कृष्ट घाेषणा गरि प्रमाणपत्र वितरण गरिसकेको अध्यक्ष पुनले बताउनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने गरेको छ । सोहि मूल्यांकनका आधारमा स्थानीय तहले बजेट पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation