यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो।
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।
नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।
श्रीलंकमा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास रचेको थियो।
कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो।
न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले अन्तिम २ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।
४९ ओभरमा बसन्त रेग्मी ६६ रनमा आउट भएपछि नेपालमाथि दबाब परेको थियो। बसन्त आउट भएपछि नेपाललाई १० बलमा १३ रनको आवश्यकता परेको थियो। त्यसपछि अन्तिम ओभरमा रतन रौनियार र राज श्रेष्ठले नेपाललाई जित दिलाउन सफल भएका थिए। रतनले नटआउट २६ रन र राजले नटआउट ३ रन बनाएका थिए।
बसन्तबाहेक नेपालका लागि ब्याटिङमा प्रेम चौधरीले २५ रन जोड्दा कप्तान कनिष्क चौगाइले १७, विकेटकिपर महेश क्षेत्रीले १६ र शरद भेषावकरले १८ रन बनाए। ज्ञानेन्द्र मल्ल ५ रन, पारस खड्का ४ रन, यश्वन्त सुवेदी १ रन र सशी केसरी २ रनमा आउट भएका थिए।
त्यतिबेला बलिङमा न्युजिल्यान्डका हमिस बेनेटले ३ विकेट लिँदा कोलिन मुनरो, जासोन डोनेली र मार्टिन गुप्टिलले २-२ विकेट लिएका थिए। टिम साउथीले भने विकेट लिन सकेका थिएनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४९.२ ओभरमा २०४ रनामा अलआउट भएको थियो। उसका लगि ओपनर टोड एस्टलले ६६ रन बनाएका थिए। त्यसपछिका तीन ब्याटर मार्टिन गुपटिल ६ रन, एन्ड्रियु बोर्डर ० र कप्तान मार्क एलिसन ६ रनमै आउट भएका थिए।
बलिङमा नेपालका बसन्त रेग्मीले ३ विकेट लिएका थिए। अमृत भट्टराई र शरद भेषावकरले २-२ विकेट लिन सफल भएका थिए। यस्तै पारस खड्का र राज श्रेष्ठले १-१ विकेट हात पारेका थिए।
यसरी २००६ मा नेपालले टेस्ट राष्ट्र न्युजिल्यान्डमाथि जित निकालेर सनसनी मच्चाएको थियो।
त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भयो।
सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्न सफल भयो।
पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २३८ रन जोडेको थियो।
नेपालका लागि ओपनरद्वय सन्दीप सुनारले ३९ रन र सुनील धमलाले १५ रन जोडेका थिए। योगेन्द्रसिंह कार्की ६ रनमा आउट भएपनि कप्तान राजु रिजालले ४८ रनको योगदान दिएका थिए। यस्तै आरिफ शेखेले ३९ रन, राजविर सिंहले २४ रन, दीपेन्द्रसिंह ऐरीले १६ रन बनाएका थिए। कुशल भर्तेलले नटआउट ३५ रन जोड्ने क्रममा २३ बलमा ५ चौका प्रहार गरेका थिए। यस्तै प्रेम तामाङ पनि ४ रनमा नटआउट रहेका थिए।
२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २०६ रनमै अलआउट भएको थियो। न्युजिल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान ग्लेन फिलिप्सले ५२ रन र डेल फिलिप्सले ४१ रन जोडेका थिए। ओपनर रचिन रविन्द्रसहित न्युजिल्यान्डका तीन ब्याटरलाई नेपालले रनटआउटको सिकार बनाएको थियो। रविन्द्रलाई ४ रनमा सन्दीप लामिछानेले रनआउट गर्दा कुशल भुर्तेलले क्रिस्टियन लियोपार्डलाई १ रन तथा दीपेन्द्रसिंह ऐरीले डेल फिलिप्सलाई ४१ रनमा रनआउट गरेका थिए।
बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिन सफल भएका थिए। यस्तै प्रेम तामाङले २ विकेट लिँदा सुनील धमला र सन्दीप लामिछानेले १-१ विकेट आफ्नो नाममा लेखाएका थिए।
आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्याउन सजिलो भने हुनेछैन।
न्युजिल्यान्ड यू-१९ इतिहासमा उपाधिको खडेरी तोड्ने लक्ष्यमा छ। सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्युजिल्यान्ड २०२० मा सेमिफाइनलमा पुगेको थियो।
यसपटक न्युजिल्यान्ड छनोट खेलेर विश्वकपका छानिएको हो। किनभने न्युजिल्यान्डले अघिल्लो संस्करणको विश्वकपमा कोभिड-१९ का कारण नाम फिर्ता लिएको थियो। जसका कारण उसले एशिया-प्यासिफिक क्वालिफायर मार्फत् सन् २०२४ को विश्वकपमा स्थान बनायो। छनोटमा न्युजिल्यान्डले सबै ६ खेल आरामसँग जितेको थियो।
ज्याक कमिङ न्युजिल्यान्डका पूर्व खेलाडी क्रेग कमिङका छोरा हुन्। उनले यसअघि नै न्युजिल्यान्डको घरेलु प्रतियोगितामा उत्कृष्ट खेल देखाइसकेका छन्। गत नोभेम्बरमा १८ वर्षीया कमिङ न्युजिल्यान्ड क्रिकेट ए प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
यस्तै उनले छनोटमा १४ विकेट लिँदा १५२ रन बनाएका थिए। न्युजिल्यान्डले विश्वकपमा उनले ब्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरेको छ। न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनले आफूहरु उपाधि जित्न सक्षम रहेको बताए।
नेपालले पाकिस्तान (२००२), दक्षिण अफ्रिका (२००४, २००६) र न्युजिल्यान्ड (२००६, २०१६) जस्ता टेस्ट राष्ट्रलाई हराएर सनसनी मच्चाएको थियो।
सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा आठौं स्थान हात पार्नु नेपालको युवा विश्वकपमा उत्कृष्ट प्रदर्शन हो।
गत महिना युएईमा भएको यू-१९ एसिया कप खेलेपछि दक्षिण अफ्रिका पुगेको नेपालले यसपटकको विश्वकपमा उत्कृष्ट खेल देखाउने विश्वास गरिएको छ। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रह्यो। नेपालले स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई पराजित गर्यो। मंगलबार वेस्ट इन्डिजविरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो।
टिममा सिनियर टिमको अनुभव भएका देव खनाल र गुल्सन झा हुनु नेपाली टिमको बलियो पक्ष हो।
गुल्सनले नेपालको सिनियर टिमका लागि २४ एकदिवसीय र १४ टी-२० खेल खेलिसकेका छन्। जसमा उनले ३३ अन्तर्राष्ट्रिय विकेट लिएका छन्। टी-२० मा १४६.८७ को स्ट्राइक रेट भएका गुल्सनले टिमलाई चाहिएको बेलामा ब्याटिङ गर्छन्। उनले स्कटल्यान्डविरुद्ध को अभ्यास खेलमा ३ विकेट लिँदा १५ रन खर्चिएका थिए, जुन खेलमा नेपाल विजयी भयो।
नेपालका कप्तान देव खनालले ८ वर्षपछि विश्वकपमा फर्कदा खुसी लागेको बताए, ‘हामी निकै उत्सहित छौं। ८ वर्षको पर्खाइपछि हामी यू–१९ विश्वकप खेल्दैछौँ। विश्वकप हाम्रा लागि सपना हो र सम्पूर्ण देशका लागि विशेष कुरा हो।’
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।
न्युजिल्यान्ड टिम
ओस्कर ज्याक्सन (कप्तान), मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन।