अलपत्र प्यूठानका महत्वपूर्ण सडक, विस्तार र विकासमा सरोकारवाला मौन हुँदा सर्वसाधारणलाई सास्ती

जिल्लाको उत्तरी बेल्ट जोड्ने सडकहरु अत्यन्तै दयनीय र जर्जर अवस्थामा छन् । प्यूठानको बाग्दुला– स्याउलिवाङ जोड्ने  ३७ किमि सडक र बाग्दुलाबाट अर्खा जोड्ने करिब ३६ किलोमिटरको सडकको स्तरोन्नति नहुँदा लामो समयदेखि सर्वसाधारणले कष्टकर यात्रा गर्न विवश छन् ।  नौबहिनी र गौमुखी गाउँपालिका अन्तरर्गतका साविकका फोल्ली, लुङ, डामृ, खवाङ, लिघा, स्याउलिवाङ, अर्खा, रजवारा, पुजा, लिवाङ, तुसारा, खुङ, नारिकोट, बाँदीकोट, ओखरकोट, बांगेमरोट आदि गाविसका झन्डै आधा प्यूठान ओगटेको सडक मर्मतसम्भार र विकासमा कसैको ध्यान पुग्न नसक्दा स्थानीयहरुले ठुलो जोखिम र सास्ती खप्नुपरेको हो । २०४५ साल आसपासमा सडक संजालमा जोडिएको वाग्दुला–मच्छि तथा वाग्दुला दम्ति सडकखण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका करिब डेढ दशक पुरा हुनैलाग्दा पनि यी सडकको स्तरउन्नति हुन नसक्नु हदैसम्मको लाजमर्दो बिषय बनेको छ । बाग्दुला– ठुलावेसी रणनीतिक सडक संजाल अन्तरगत परेको र करिब ५ अरब बढी रकम टेन्डर भएको तर जोइन्ट भेन्चर अन्तर्गतको एउटा कम्पनी नेपाल सरकारको कालो सुचीमा परेकोले हाल उक्त टेन्डर अन्यौलग्रस्त हुँदा सडक झनै बेवारिसे भएको ज्ञामुराम न्यौपानेले बताए ।

१ सय बयानब्बे मिटर सडक विस्तार नहुँदा पाँच वर्षदेखि अलपत्र

अझ लाजमर्दो बिषय त के छ भने बाहाने स्याउलिवाङ जोड्ने सडकखण्डको बिचमा हामफालदेखि उत्तरतिर सिर्दि खोला भन्ने ठाउँमा १ सय ९२ मिटर सडक विस्तार नहुँदा बाहाने, खवाङ– स्याउलिवाङको मुख्य सडक संजाल जोडिन सकेको छैन । त्यस्तै ममता जेभि कन्ट्रक्सनको ठेक्का अन्तरगत तापा भन्ने २५ मिटर सडक विस्तार हुन नसक्दा करिब ५ बर्षदेखि सडक अलपत्र परेको त्यहाँका स्थानीयहरुले बताए । ठेकेदारले नियमित काम नगर्ने, स्थानीय अगुवाहरुमा पहलकदमीको अभाव, जटिल भौगोलि अवस्था र सरकारी बेवास्ताको कारण सुन्दर गाउँ स्याउलिवाङ जोड्ने सडक करिब १२ बर्षदेखि अलपत्र परेको स्थानीय भरत गौचनले बताए । उनले भने ‘हालसम्म पनि हामी सहजपूर्ण ढंगले सडक संजालमा जोडिन सकेका छैनौं, सामान ढुवानी, बिरामी बोक्न वा सवारी आवागमनका लागि कि त रजवारा, ठुलाबेसी, मच्छि हुँदै बाग्दुला जानुपर्ने हुन्छ कि त लिघा, डामृ हुँदै घुमाउरो बाटो जानुपर्छ । पछिल्लो सर्भेअनुसार बाहानेबाट २४ किमिको दुरि रहेको उक्त सडकखण्डमा राज्यकोषबाट करिब १० करोड लगानी भइसक्दा पनि सडक नजोडिनु भनेको बजेटको कतै दुरुपयोग भएको त छैन सरोकारवालाले ध्यान खिच्न जरुरी छ ।’ उता आफुखुसी रकम स्थानान्तरणको कारणले पनि सडकले मुर्तता पाएको छैन । गतबर्ष विकास कार्यालयबाट सोहि मोटरबाटोमा परेको १० लाख बजेट रकमान्तर गरेर पिनार खोलामा जालि भरेको तर बर्षे झरिले सबै बगाएर लगेको वडा अध्यक्ष शेरबहादुर सेनले बताए । उनले सराकारवालाहरुको गम्भीर ध्यानाकर्षण नभएसम्म अझै कैयौं बर्षसम्म काम पुरा हुन नसक्ने पनि बताए । त्यस्तै सांसद विकास कोषको ५० लाख बजेटको पनि काम अर्को मोटरबाटोमा लगानी गर्ने गाउँपालिकाको कार्यपालिकाको निर्णयले डामृ– लिघा, स्याउलिवाङ सडक स्तरोन्नतिको लागि खर्च गरिएको उनले बताए । बाहाने स्याउलिवाङ सडकखण्मा हालसम्म २०७०÷ ०७१ मा सांसद विकास कोषबाट ५ करोड पछि थप २ करोड गरि ७ करोड, आव ०७५÷०५६ सांसाद विकासकै ४० लाख, ०७४÷७५ प्रदेशबाट परेको ५० लाख,फेरि प्रदेशबाटै १ करोड आ.व. ७५÷७६, आव ०७६÷७७मा ७० लाख आव ०७८÷०८९ को लागि प्रदेशबाट ७५ प्रक्रियामा रहेको । अब बिचको पहरा फोर्न अझै २ करोड लाग्न सक्ने वडा अध्यक्षले बताए । बाहानेबाट २४ किमि दुरिको यो सडक अझै कहिले सम्पन्न हुने हो, एकिन छैन । राज्यकोषबाट करौडौँ रकम खर्च हुँदापनि समयमै काम नहुनु सरकारी काममा व्याप्त भ्रष्टाचार, मनपरितन्त्र र गैरजिम्मेवार प्रवृत्ति तथा नागरिक स्तरमा राज गरेकोअवसरवादी निरिहपना आदि विकासको मुख्य समस्याको रुपमा रहेको सर्जक महेश थापाको निष्कर्ष छ । टुक्रे योजना अन्तर्गत पूर्वाधार विकास कार्यालयबाट यस आर्थीक बर्षको लागि स्थानीय तहसँग सहकार्य गरेर गर्नेगरी भन्दै पौने करोड विनियोजन छ तर कहाँ खर्च गर्ने भन्ने स्पष्ट खाका छैन । पूर्वाधार विकास कार्यालय प्यूठानका प्रमुख इन्जिनियर नविन श्रेष्ठका अनुसार वाग्दुला– स्याउलिवाङको लागि २५ लाख, बाहाने, खवाङ– स्याउलिवाङ पर्यटन क्षेत्र हुँदै मध्यपहाडी लोकमार्गका लागि २५ लाख र बाग्दुला– स्याउलिवाङ सडक खण्डको लागि पनि २५ लाख विनियोजन भएको छ । तर यत्रो रकमले कहाँ के गर्ने भन्ने कुनै कार्ययोजना नभएकोले स्थानीय तहसँग सहकार्य गरेर जहाँनेर सडक जर्जर छ त्यहीँ काम गरिने उनले जानकारी दिए ।

बाग्दुला– बाहाने सडकखण्डको १३ किमि सडक खण्डको अवस्था पनि विकराल छ । हुन त शूभ श्री अग्नी सिमेन्ट कम्पनीको नौबहिनी ८ लुप्लुङको चुनढुङगा खानिबाट कालाकाटेसम्म दैनिक रुपमा चल्ने लगभग १ सय टिपरहरुले कालाकाटे, भालुवाङ– प्यूठानको सबै मुख्य सडक क्षतविक्षत र जर्जर अवस्थामा पु¥याएको छ । बाग्दुला– दम्ति सडक खण्डको करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको भएपनि हिजोआज कालोपत्रको नामोनिसाना कतै भेटिदैन, भेटिन्छ त केवल ठुलठुला खाल्डाखुल्डी र असरल्ल छरिएका निर्माण सामाग्री । पक्कि सडकको अवशेष नभए पनि खाल्डाखुल्डी पुरेर केही सहज बनाउनेमा सम्बन्धित निकाय बेखबर छ । पछिल्लो समय चुनढुङगा बोक्ने टिपर दम्तिबाट झिमरुक किनार हुँदै वेलुवा निस्कने भएपनि तिनै टिपरले ४ बर्ष अघि पारेका खाल्डाखुल्डी नपुर्दा सर्वसाधारणले ठुलो सास्ती बेहोर्नुपरेको स्थानीय केशवराज शर्माले बताए । प्राणमञ्चसँगको कुराकानीमा उनले भने “कम्पनीले ०७३ बाट लुप्लुङबाट ढुङ्गा बोक्न थालेपछि सुरुमा मुख्य सडकबाट नै आवतजात ग¥यो, त्यसको केहि समयपछि झिमरुक किनार हुँदै बाग्दुला माथिल्लो चोकमा निस्कयो, त्यसपछि खप्रेङखोला निस्कने ग¥यो र अहिले दम्ति निस्कने गरेका छन् तर विगत ५ बर्षदेखि बिग्रेको मुख्य सडकका खाल्डाखुल्डी पनि नपुरिनु निकै लज्जास्पद बिषय हो ।” स्मरण रहोस्, प्यूठान नगरपालिका र नौबहिनी गाउँपालिकाका जनप्रतिनिधि जिम्मेवार ढंगबाट लाग्ने र सहकार्य गर्ने हो भने शुभ श्री अग्नी सिमेन्टले एक हप्तामै बाटाको स्वरुप बदल्न सक्क तर विडम्बना सबै सरोकारवाला त्यहि कम्पनीबाट कमिसन खाँदै तैं चुप मैं चुपको स्थितिमा छन् ।
बाग्दुला– अंधेरी सडकका खाल्डाखुल्डी पुर्छाैः वडाध्यक्ष


प्यूठान नगरपालिका वडा नं ८ का अध्यक्ष लिलापसिंह केसीले आइतबारदेखि (चैत ६) नै बाग्दुला अँधेरी सडक खण्डमा रहेका खाल्डाखुल्डी लगायतका उत्पन्न समस्या समाधानको काम थालिने बताए । उनले अग्नी सिमेन्टसँग सहकार्य गरेरै सडकको मर्मत गरिने बताए । उनले प्राणमञ्चसँगको कुराकानीमा प्रतिबद्धता जनाउँदै भने “यो सडक प्यूठान नगरपालिका सहित सिङ्गो नौबहिनी गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मार्ग हो तर विभिन्न कारणले गर्दा सडकको अवस्था जीर्ण भएको छ । खासगरी हेभिलोडका टिपरहरु गुड्ने हुनाले नै सडकमा धेरै समस्या देखिएको छ, मैले पहिलेदेखिनै यो सडकलाई व्यवस्थित गर्न खोजेको हुँ, तर हाम्रो पहुँचमा नभएकोले सकिएन ।” उनले बाग्दुला बाहाने सडक अन्तर्गतको बाग्दुला–अँधेरी सडक उद्योग विभागको जिम्मामा भएकोले र टेण्डर परेका ठेकेदारहरुले पनि जिम्मेवारीपूर्वक काम नगरिदिएकोले समस्या विकराल बन्दै गइरहेको बताए । यतिबेला अँधेरी– बाहाने सडक खण्डको ३ किलोमिटर ३ सय मिटर सडक पक्कि गर्ने काम भइरहेकोले रु ३ करोडको ठेक्का सहमति बमोजिम महेशकामाक्षी सत्यवति जेभिले काम गरिरहेको पूर्वाधार विकास कार्यालय प्यूठानका सुचना अधिकारी इन्जिनियर विकासचन्द्र भण्डारीले बताए । उनले उक्त सडक विस्तार एवम् पक्की गर्नका लागि सडक पूर्वाधार विकास कार्यालयबाट रु ५ करोड १२ लाख ४७ हजार बयानब्बे रुपैयाँ ५५ पैसाको कुल स्विकृत बजेट मध्य आ. व. ०७८÷०७९ को लागि ३ करोड विनियोजन भएको र अर्को बर्ष बाँकी रकम थपिने भन्दै २०८० असार मसान्तसम्म योजना सकिने जानकारी दिए । अहिले अधेरी– बाहाने सडकमा अधिकांश ठाउँमा कटिङको काम सकिएको र मेसिनरी वाल लगाउने, नाला बनाउने काम पनि तिव्र गतिमा भइरहेको र साँघुरो सडकको दुबैतिर घरहरु भएकोले अँधेरी र बल्लेखोलामा सडङ विस्तारमा समस्या भएको फिल्ड इन्चार्ज भक्तराज गिरीले बताए । हालसम्म करिब ३५ प्रतिशत काम भइसकेको र जम्मा रकमको २० प्रतिशत रकम सकिएको ठेकेदार किसान आचार्यले बताए । ३.३ किलोमिटर लम्बाई रहेको सो सडकको चौडाई ६ मिटरको हुने उनले बताए ।
बाग्दुला–दम्ति सडक विस्तार गरि कालापत्रे गर्ने भनिएको भएपनि लागत स्टिमेट तथा डिपीआर स्विकृत भएको तर बहुवर्षीय योजनामा नपरिसककेकोले अझै प्रक्रिया सुरु नभएको पनि पूर्वाधार विकास कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation